'कञ्चनपुरका विवादास्पद एसपी डिल्लीराज विष्टसहित चार जनाको डिएनए निर्मला पन्तको 'भजाइनल स्वाब'मा भेटिएको डिएनएसँग मिलेन।'
यो निष्कर्ष केन्द्रीय विधिविज्ञान प्रयोगशाला (नास्ट)ले होइन, नेपाल प्रहरी आफैंले निकालेको खुलेको छ।
यो निष्कर्षमा पुग्दा नेपाल प्रहरीले यसअघिका घटनामा जस्तो डिएनए परीक्षणको प्रक्रिया नअपनाएको पनि देखिएको छ।
सामान्यता शंकास्पद व्यक्तिको डिएनए र अपराध भएको ठाँउमा संकलन भएका दुवै डिएनए जाँच र अन्तिम निष्कर्षका लागि नास्ट पठाउने गरिन्छ। नास्टले दुबै डिएनएको परीक्षण गरेर मिले-नमिलेको निष्कर्ष सहितको प्रतिवेदन तयार गर्ने गर्छ।
निर्मला बलात्कार तथा हत्या प्रकरणमा भने नेपाल प्रहरीले विष्ट लगायत चार जनाको डिएइनए मात्र परीक्षणका लागि नास्ट पठायो। तर निर्मलाको भजाइनल स्वाबको नमूना पठाएन। नास्टले चार जनाको डिएनए प्रोफाइल तयार पारेर प्रहरीलाई पठाएपछि उसले दुई डिएनए नमिलेको निष्कर्ष आफैं निकाल्यो।
सेतोपाटीसँगको कुराकानीमा नास्टका प्रमुख दिनेश कुमार यादवले निर्मलाको भजाइनल स्वाबको नमूना प्रहरीले आफूहरुकहाँ नपठाएको पुष्टि गरे।
'चारै जनाको डिएनए परीक्षण गरिदिनु भन्ने पत्र प्रहरीले हामीलाई पठाएको थियो। निर्मलाको भजाइनल स्वाबको नमूना भने हामीकहाँ पठाएको थिएन,’ यादवले सेतोपाटीसँग भने।
एक पक्षको डिएनएको मात्र नमूना नास्टसँग भएपछि अर्कोसँग त्यो मिले-नमिलेको निष्कर्ष आफूहरुले निकाल्ने कुरै नहुने यादवले बताए।
‘चार जनाको डिएनए परीक्षणपछि हामीले त्यसको रिपोर्ट प्रहरीलाई पठायौं। त्यो डिएनए अर्कोसँग मिल्यो-मिलेन हामीले निष्कर्ष निकाल्ने कुरै भएन,’ उनले भने।
अरु घटनामा भने दुवैखाले डिएनएको नमूना परीक्षणका लागि प्रहरीले आफूहरुकहाँ पठाउने गरेको पनि उनले पुष्टि गरे।
‘अघिपछि डिएनए जाँचका लागि अदालत र प्रहरीबाट अनुरोध आउँदा दुवै पक्षको डिएनए नमूना हामीकहाँ आउँथ्यो। परीक्षण गरेर त्यसको विश्लेषण पनि हामीले नै गर्थ्यौं। यसपालि भने एकसरो नमूना परीक्षण मात्र गरेर पठाएका हौं,’ यादवले भने।
प्रहरी प्रवक्ता शैलेश थापाले निर्मलाको स्वाब परीक्षणका लागि नास्ट नपठाएको स्वीकार गरे। त्यो स्वाब सुरुमै प्रहरीले आफ्नै प्रयोगशालामा परीक्षण गरेको र स्वाबको नमूना थोरै भएकाले नास्ट पठाउने नसकेको उनले बताए।
‘प्रहरीको विधिविज्ञान प्रयोगशालाको डिएनए परीक्षणलाई अदालतले पनि मान्यता दिँदै आएको छ,’ उनले भने ‘ निर्मलाको स्वाब निकै थोरै भएकाले दोहोर्याएर अन्त परीक्षण गर्न पठाउन सकेनौं।’
निर्मला प्रकरण यति धेरै विवादित भएर र आमरुपमा प्रहरी माथि नै शंका जन्मिएपछि ति दुवै नमूना नास्टमा पठाउनु पर्ने हैन र भन्ने प्रश्नमा उनले भने, ‘पहिलो पटकको परीक्षण गर्दा स्वाब खर्च भयो। सुरूमै यो विषय यति ठूलो होला र सिंगो प्रहरी प्रशासन माथि नै प्रश्न उठ्ला भन्ने थिएन। नत्र निर्मलाको स्वाब नास्ट पठाउँथ्यौं।’
कतिपयले निर्मलाको भजाइनल स्वाब संकलन गरिएको भन्ने प्रहरीको भनाइ माथि नै प्रश्न उठाएका छन्।
सरकारले सार्वजनिक गरेको छानविन प्रतिवेदनमा गुप्तांगबाट निकालिएको स्वाबमा विर्य रहे-नरहेकोमा शंका व्यक्त गरिएको छ। प्रतिवेदनमा पोष्टमार्टम रिपोर्टबारे भनिएको छ,'स्वाब लिँदा यौनांगमा विर्य नदेखिएको तर निश्चित गर्नका लागि सो स्वाबको नमुना केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाउनुपर्ने उल्लेख गरेको।'
त्यस्तै, निर्मलाको शव घोप्टो अवस्थामा फेला परेको र योनी पूरै पानीमा डुबेको पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख छ।
सो प्रतिवेदनले भन्छ, 'मृतकको योनी भाग पूरै पानीमा रहेको र निर्मलाको शव पल्टाइ हेर्दा योनीको भागबाट पानीसँगै रगत बग्दै गरेको योनीको भित्रीभागमा जमेका रगतजस्ता वस्तुहरू देखिएको भन्ने शवजाँच प्रकृति मुचुल्का र तत्कालीन अवस्थामा खिचिएका फोटो र भिडियोबाट देखिएको।’
प्रतिवेदनको तथ्य विश्लेषण र निष्कर्ष खण्डमा निर्मलाका लुगाहरू पानीमा चोबलेर गुप्तांग पनि पखालिएको बताइएको छ।
निर्मलाको भजाइनल स्वाबमा अपराधीको डिएनए भेटिएको भन्ने प्रहरीको दावीमाथि डाक्टर ल्यामो शेर्पाले सुरुदेखि नै शंका व्यक्त गर्दै आएकी छिन्।
निर्मला प्रकरणमा कञ्चनपुर पुगेर शेर्पाले यसका बिभिन्न पाटा सुरुदेखि नै नजिकबाट हेर्दै आएकी छन्।
'एक त पानीमा लाश डुबेको थियो। त्यसमाथि निर्मलाको गुप्तांग पानीले पखालिएको देखिन्छ। त्यस्तो अवस्थामा भजाइनल स्वाब पनि पखालिएको हुनुपर्ने हो। त्यसको नमूना कसरी लियो शंकास्पद छ,' उनले भनिन्, 'प्रतिवेदनमा योनीभित्र जमेका रगतजस्ता वस्तु देखिएको भन्नेछ। पानीसहित रगत बगेकोसम्म त सबैले देखे होलान्। तर योनीभित्र जमेको वस्तु फोटो र भिडियोमा देखियो कसरी भन्न सकेको होला? त्यसरी देख्नै सम्भव छैन त।'
प्रहरीले भने निर्मलाको भजाइनल स्वाब निकै कम भए पनि लिन सकिएको दावी गरेको छ। प्रहरी प्रवक्ता थापाका अनुसार भित्री वस्त्र र योनी पानीले पखालेको भए पनि योनीको निकै भित्री भागबाट भजाइनल स्वाब निकाल्न सकिएको हो।
‘प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा निर्मलाको भजाइनल स्वाबको नमूना आएको थियो,’ उनले भने ‘ विर्य नभेटिएको भनेर पोष्टमार्टम रिपोर्टमा उल्लेख भए पनि यहाँ परीक्षण गर्दा दुईथरि डिएनए नमूना भेटिएको छ। मैले प्राविधिकलाई यसबारे सोधेको थिएँ। डिएनएका लागि विर्य वा शुक्रकिट नै हुनुपर्छ भन्ने छैन।’
यसरी निर्मलाको स्वाबमा भेटिएको डिएनएको नमूनाका आधारमा आफूहरुले शंकास्पद भनिएका मानिसको डिएनए परीक्षण गरेको दावी थापाले गरे।
स्वाबबाट डिएनए संकलन गर्न सकिएको हो भने पनि प्रहरीमाथि नै यति शंका भैसकेपछि उसले स्वतन्त्र र निस्पक्ष छानविनका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (नास्ट)लाई स्वाव र डिएनए दुवै परीक्षण गर्न दिनुपर्ने डाक्टर शेर्पाले जिकिर गरिन्।