काठमाडौ-७ का प्रदेश सभा सांसद प्रकाश श्रेष्ठ शुक्रबार आफ्नो क्षेत्रका प्रतिनिधिसभा सांसद रामवीर मानन्धरलाई भेट्न बालाजुस्थित निवास पुगे। प्रकाशले आफूसँगै केही नेता-कार्यकर्ता आउने रामवीरलाई बिहीबार राति नै जानकारी गराएका थिए।
शुक्रबार नेता-कार्यकर्ता निवास पुग्दा रामवीर निस्किसकेका रहेछन्। प्रकाशसँगै काठमाडौं- १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जन र स्थानीय नेता किरण शर्माले रामवीरलाई भेट्न सकेनन्।
बर्दिया-१ बाट पराजित वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्र खाली गर्ने घोषणा गरेका रामवीर अहिले सम्भवत: आफ्नो राजनीतिक जीवनकै अप्ठेरो राजनीतिक संकट ब्यहोरिहेका छन्।
काठमाडौं-७ मा उपनिर्वाचन गरी चुनाव लड्ने वामदेवको आकांक्षाको पार्टीभित्र र बाहिर व्यापक विरोध भयो। अन्तत: उनले चुनाव नलड्ने निर्णय गरे।
वामदेवको बेमौसमी आकांक्षाको सिकार भने रामवीर बने।
उनले आफूलाई निर्वाचन जिताउने मतदाता र त्यसका लागि दिनरात खट्ने आफ्नै कार्यकर्तालाई ‘फेस’ गर्न सकेका छैनन्। अर्कातिर पार्टीभित्र हिजोसम्म आफूलाई संरक्षण दिने नेताहरूको विश्वास गुमेको छ। यसले उनको राजनीतिक भविष्य नै संकटमा परेको छ।
काठमाडौं- ७ कै प्रदेश सभा सांसद बसन्त मानन्धर राजनीतिक सोचको अभावका कारण रामवीर अप्ठेरोमा परेको बताउँछन्।
‘उहाँ अझै पनि चार वर्षका लागि हाम्रो क्षेत्रको प्रतिनिधि सभा सांसद हुनुहुन्छ’, बसन्तले सेतोपाटीसँग भने, ‘राजनीतिमा कहिलेकाहीँ यस्तो हुन्छ। हामीले अब उहाँलाई सहज तुल्याउनुपर्छ।’
गत निर्वाचनसम्म रामवीर अध्यक्ष केपी शर्मा ओली निकट थिए। काठमाडौंबाट लगातार दोस्रो पटक चुनाव जितेपछि मन्त्रीमा उनको दाबी थियो। त्यो आकांक्षा पूरा भएन। नेकपाको केन्द्रीय समितिमा रामवीरको सट्टा उनकै निर्वाचन क्षेत्रका प्रदेश सभा सांसद बसन्त मानन्धर मनोनित भए। रामवीरको मन चिसियो, सँगै ओलीसँगको सम्बन्ध पनि।
तै उनले प्रधानमन्त्रीसँग आश कायमै राखे।
‘मन्त्री मण्डल र केन्द्रीय समितिमा ठाउँ नपाएपछि संसदीय समितिको सभापतिमा उनको ठूलो आश थियो,’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने, ‘सभापति पनि नपाएपछि भने उनी बिच्किए।’
ओली गुटबाट टाढिएका रामवीर वामदेव नजिक पुगे। वामदेवलाई पनि खोजेको आहारा मुखमै आएजस्तो भयो। उनी लामो समयदेखि आफ्ना लागि निर्वाचन क्षेत्र खाली गरिदिने सांसदको खोजीमा थिए। उनका प्रस्ताव धेरै जनाले लत्याइसकेका थिए।
भौंतारिएका रामवीरलाई गौतमले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साक्षी राखेर राजीनामा दिन मनाए। राष्ट्रिय सभा सदस्य, प्रचण्ड मन्त्रीमण्डलमा मन्त्री र सम्भवत: केही आर्थिक लाभको सर्तमा रामवीर सांसद छोड्न राजी भए।
वामदेव र प्रचण्डसँगको आकस्मिक निकटता नै अन्तत: उनको राजनैतिक संकटको कारण बन्यो। पार्टी सचिवालय बैठकमा प्रचण्डले एक्कासी रामवीरको राजीनामा दिन तयार भएको पत्र पढेर सुनाए। आफू, वामदेव र रामवीरसँगै बसेर सहमति जुटेको प्रचण्डले बताए।
ओली र उनी निकट नेताहरूलाई त्यो बेलासम्म पनि रामवीरको राजीनामाको सुइको पनि थिएन। प्रचण्डको त्यो प्रस्तावसँगै बालुवाटार झस्कियो।ओलीले पछि बस्ने भन्दै सचिवालय बैठक टुंग्याए।
लगत्तै उनले काठमाडौं-७ का प्रदेश सभा सांसदहरूसँग छलफल गरे। आफूनिकट नेताहरूसँग कुरा गरे। प्रचण्ड, माधव नेपालसँग कुरा गरे। आफ्ना विश्वासपात्र महासचिव बिष्णु पौडेललाई वामदेवसँग कुरा गर्न पठाए। पौडेलेले वामदेवलाई स्पष्ट संकेत दिए- तपाईं यो संसद रहेसम्म अब उपनिर्वाचन लड्नु उचित हुन्न।
२४ गतेको नेकपा सचिवालय बैठकले काठमाडौं-७ मा उपनिर्वाचनबारे निर्णय गर्ने अपेक्षा थियो। तर ओलीले बैठक सारेर २७ गतेका लागि पुर्याए।
वामदेवले कुरा बुझे। चुनाव नलड्ने निष्कर्षमा पुगे।
शुक्रबार एउटा कार्यक्रममा बोल्दै प्रचण्डले भने-वामदेव-रामवीरको लफडा अब सकियो।
उनका लागि पो लफडा सकियो, रामवीरका लागि त राजनीतिक ‘करियर’ नै सकिने अवस्थामा पुगेको छ।
‘हामीले स्वीकार्नै पर्छ पार्टीमा यो गुट/ऊ गुट भन्ने छ’, बसन्त भन्छन्, ‘उहाँ प्रधानमन्त्री निकट हुनुहुन्थ्यो। तर राजनीतिक सोच अभावले यो अवस्था सिर्जना भयो।’
सायद रामवीरले ठम्याउनै सकेका थिएनन्, वामदेवलाई संसदमा ल्याउनेमा प्रधानमन्त्री ओलीको खासै रूची छैन।
स्रोतका अनुसार वामदेवलाई डोल्पाबाट प्रतिनिधिसभामा ल्याउने तयारी भएपछि ओलीले सांसद धनबहादुर बुढासँग छलफल गरेका थिए। ओलीले बुढासँग ‘आफैंले छाड्न लागेको कि दबाबमा हो’ भनेर सोधेका थिए। त्यसपछि बुढा पछि हटे।
माथिल्लो तहको राजनीतिक दाउपेच नबुझ्दा यो प्रकरणको सबैभन्दा ठूलो सिकार रामवीर बनेका छन्।
उनी प्राविधिक रूपमा सांसद त छन्, तर आफ्नो निर्वाचन क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने नैतिक तागत गुमाइसकेका छन्। काठमाडौं त्यसै पनि नेकपा, त्यसमा पनि पूर्वएमालेका नेता/कार्यकर्ताले भरिएको ठाउँ हो। हरेक निर्वाचन क्षेत्रमा सांसद टिकटका लागि लायक र दाबेदार दर्जनौं नेता, कार्यकर्ता हुने गर्छन्।
अब आउने चुनावमा रामवीरले पार्टीको टिकट पाउने सम्भावना पनि लगभग सकिएको बालुवाटार नजिक एक नेताले बताए।
‘राजीनामाको घोषणा नगर्दै पनि उहाँलाई अर्को पटक सजिलो थिएन,’ उनले भने ‘अहिले त उहाँले आफ्नै खुट्टामा बन्चरो हान्नुभयो।’
रामवीरको अहिलेको अवस्था भने भोलिको सोच्ने परै जाओस् आजै कार्यकर्ताका सामू कसरी मुख देखाउनु, मतदातालाई के भन्नुजस्तो भएको छ।
उनको मोबाइल लगातार जस्तै ‘स्वीच अफ’ छ। घरको टेलिफोनमा उनी उपलब्ध हुन्नन्।
वडा नं १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले स्थानीय नेताहरू समस्या सुल्झाउन केन्द्रीत भए पनि रामवीरसँग भेटै हुन नपाएको बताए।
‘राजनीतिक समस्या सुल्झाऔं भनेर लागेका छौं’, न्हुच्छेकाजीले सेतोपाटीसँग भने, ‘तर भेटै हुन पाएन।’