प्रधानमन्त्री केपी शर्मा ओलीले मोबाइल एप मार्फत् मन्त्रीहरूको कामको अनुगमन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले तयार गरेको पोर्टलमा हरेक मन्त्रालयले आफूले गरेको कामको विवरण नियमित रुपमा भर्नुपर्नेछ।
‘ती विवरण प्रधानमन्त्रीको मोबाइलमा रहेको एपमा देखिनेछ। त्यहीबाट प्रधानमन्त्रीले मन्त्री र मन्त्रालयका कामको अनुगमन गर्नुहुनेछ,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले सेतोपाटीसँग भने।
मन्त्रालयमा यस्तो विवरण कामको जिम्मेवारी पाएका सहसचिवले पोर्टलमा राख्नेछन्। उक्त प्रगति विवरणको मन्त्रालयका सचिवले मुल्याङ्कन गर्नेछन् भने मन्त्रीले उक्त मुल्याङ्कनबारे टिप्पणी लेख्नेछन्।
प्रधानमन्त्रीको सचिवालयले तयार पारेको उक्त पोर्टलमा नीति तथा कार्यक्रम र बजेटमा परेका कार्यक्रमको कार्यनन्वयनको व्यहोरा राखिनेछ।
मन्त्रीहरुले बजेट लगत्तै प्रधानमन्त्रीलाई आ-आफ्नो मन्त्रालयले गर्ने काम र योजनाबारे ब्रिफिङ गरेका थिए।
‘त्यस्ता कार्यक्रममा हरेक साता कति प्रगति भयो भनेर विवरण भर्ने व्यवस्था मिलाइएको हो,' प्रमुख सल्लाहकार विष्णु रिमालले भने।
‘मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीले आफ्नो मोबाइलमा हेर्नुहुन्छ', रिमालले भने, ‘मन्त्रीहरुले गरेको टिप्पणी प्रधानमन्त्रीले फलो गर्नुहुन्छ।’
एप निर्माणले मन्त्रीहरुले प्रधानमन्त्रीसँग लगातार भेट्नुपर्ने अवस्थामा कमी आउने र समय बचत हुने रिमालले बताए।
एपमा विबरण हेरेपछि मन्त्रालयको कार्य प्रगतिबारे प्रधानमन्त्रीले सामुहिक रुपमा छलफल गर्ने उनले बताए।
‘मन्त्रालयको चार क्याटेगोरी गरेर राखेका छौँ', रिमालले भने, 'सुशासनसँग सम्बन्धीत मन्त्रालयहरु - गृह, कानुन, रक्षा, सामान्य प्रशासन, परराष्ट्र र सञ्चार मन्त्रीसँग प्रधानमन्त्रीले एकदिन छलफल गर्नुहुनेछ।
त्यसैगरी प्रधानमन्त्रीले सामाजिक विकाससँग सम्बन्धित मन्त्रालय - शिक्षा, स्वास्थ्य, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयसँग एकैपटक छलफल गर्ने उनले बताए।
‘आर्थिक विकासमा - उद्योग, कृषि, पर्यटन, श्रम, वन र भूमीसुधार मन्त्रालय छन्’, रिमाले भने, ‘भौतिक पूर्वाधारमा - भौतिक पूर्वाधार, सहरी विकास, खानेपानी र उर्जा मन्त्रालय रहन्छन्।’
अर्थ मन्त्रलय भने सबै मन्त्रालयसँग जोडिने हुनाले सबै समूहमा पर्नेछ।
सामुहिक छलफल पछि प्रधानमन्त्रीले चित्त नबुझे वा निर्देशन दिनुपरे कुनै मन्त्रीसँग छुट्टै छलफल गर्ने पनि रिमालले बताए।