जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का बलबहादुर नेपालीले असोज ३० गते सुर्खेत बसपार्कबाट घर जाने टिकट काटे। काउन्टरवालाले दैलेखको सीमासँग जोडिएको उनको गाउँ सुयडासम्मै बस जाने बताएर टिकट बेचे। ७ सय रूपैयाँ भाडा लिए।
अर्को दिन वीरेन्द्रनगरबाट हिँडेको बसले टिकट काटेको ठाउँभन्दा २१ किलोमिटर वरै यात्रु झारिदियो। ड्राइभरले बाटोमा पहिरो झरेकाले बस अगाडि नजाने बताए। बर्षामा नचल्ने यो बाटोमा बेलाबेलामा पहिरो गइरहन्छ। यात्रुहरू बसबाट झरे। बसवालालाई भने- टिकटको बाँकी पैसा फिर्ता गर्नुस्।
गाडी मालिकले सुयाडासम्मको पूरा भाडा लिएर टिकट काट्नु काउण्टरको गल्ती भएको भन्दै फिर्ता दिन मानेनन्। केही समय बलबहादुर, अन्य केही यात्रु र गाडी मालिकको भनाभन पर्यो। गाडी मालिकले पैसा दिने छाँट देखाएनन्। आफूहरू ठगिएको थाहा पाउँदापाउँदै यात्रुहरू हिँडेर गन्तव्यतिर लागे।
यो क्रम अहिले पनि जारी छ। दैलेखको सिमानामा पर्ने जाजरकोटका विभिन्न क्षेत्रमा जाने यात्रुहरू पूरा भाडा तिरेर पनि आधा यात्रा गर्न बाध्य भएका छन्। मध्यपहाडी लोकमार्गको दैलेख खण्डअन्तर्गत मनघरमा पर्ने सडकमा माथिबाट हिलो बग्ने गरेकाले गाडी अगाडि जान सक्दैनन्। तर बसपार्कमा भने सुयाडासम्मको नै टिकट काटेर पूरा भाडा लिइन्छ।
मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्ने क्रममा खनिएको फाउण्डेसनका कारण मनघरनजिक पहिरो आएको हो। यो पहिरोले जाजरकोटको दशेरा, साल्म, मजकोट, कोर्ताङ, दह, गर्खाकोटलगायत क्षेत्रका नागरिकले एकातिर सास्ती व्यहोर्नु परेको छ भने अर्कातिर ठगिनु परेको छ।
बसवालाको दादागिरी यति छ कि मनघरसम्मको टिकटमात्र काटिदेऊ भन्दा पनि जबरजस्ती सुयडासम्मको टिकट काट्छन्।
सुयाडासम्म बस नजाने थाहा पाएपछि गाडी पुग्ने ठाउँसम्मको मात्र पैसा लिएर टिकट काट्न भने पनि काउण्टरवालाले जबर्जस्ती सुयाडासम्मको टिकट काटिदिएको जुनिचाँदे गाउँपालिका–२ मजकोटका महेन्द्र शाहीले बताए।
‘सुयडासम्म गाडी जाँदैन भन्ने सुनेपछि मैंले मनघरसम्मको मात्र टिकट काट्न भनें,’ उनले भने, ‘काउण्टरवालाले बस जान्छ, नगए पैसा फिर्ता हुन्छ भनेर टिकट दिए तर गाडी मनघरमा पुगेर रोकियो। बाँकी पैसा फिर्ता माग्दा बसवाला उल्टै झोक्किए।’
मनघरदेखि छोटो गोरेटो बाटो हिँडेर सुयाडासम्म पुग्न कम्तिमा २ घन्टा लाग्छ।
मध्यपश्चिम बस व्यवसायी समिति सुर्खेतका सचिव नारायण चपाइँले यस्तो ठगीबारे आफूलाई जानकारी नभएको बताए ।
‘वर्खा सकिएपछि एक/दुई पटक सुयाडासम्म गाडी पुगेको थियो, रोकिएको थाहा भएन,’ उनले भने, ‘अहिले गाडी त्यहाँसम्म नपुग्ने भए त काउण्टरबाट नै टिकट गाडी पुग्ने ठाउँसम्मको मात्र काट्नुपर्ने हो।’
अबदेखि गाडी पुग्ने ठाउँसम्म मात्र टिकट काट्न काउण्टरमा बस्ने कर्मचारीलाई भन्ने उनले बताए।