वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सबैको सहकार्यबाट कर्णालीको समृद्धि र विकास हुने बताएका छन्। कर्णाली समृद्ध बनाउन संभावनाका मात्रै कुरा गरेर नहुने भन्दै मन्त्री बस्नेतले सम्भावनालाई अब उजागर गर्नतर्फ लाग्नुपर्नेमा जोड् दिएका छन् ।
‘हामीले अहिलेसम्म कर्णाली समृद्ध बनाउन संभावनाका मात्रै कुरा गर्यौं, ती सम्भावनालाई उजागर गर्न सकेनौं, ’ वीरेन्द्रनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘अब कर्णालीको समृद्धि र विकासका लागि सबै एकजुट हुनुपर्छ ।’ समृद्ध कर्णाली प्रदेशका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच सहकार्य हुनुपर्ने उनले औँल्याए ।
मन्त्री बस्नेतले तीनवटै तहले कर्णालीका जनताले अनुभूति गर्ने गरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘गाउँ–शहरमै सिंहदरबार आएको छ, जनताको विकास र समृद्धिप्रतिको चाहना पूरा गर्नका लागि यसले महत्वपूर्ण काम गर्नुपर्छ’ उनले भने, ‘संघीय र प्रदेश सरकारले यसमा सहयोग पु¥याउनु आवश्यक छ ।’
सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लाग्ने पनि मन्त्री बस्नेतले बताए । ‘संरचना नयाँ र परिस्थिति अनुसार काम गर्दा जनताले अपेक्षा गरेअनुसार परिणाम देखिन सकेको छैन्’ उनले भने, ‘अबका कामहरु जनताले प्रत्यक्ष अनुभूति गर्नेखालका हुन्छन् ।’
मन्त्री बस्नेतले कानुनहरुका मस्यौदा, प्रशासनिक पुनःसंरचनाको काम अन्तिम चरणमा पुगेकाले प्रदेश सरकारले अब हात फुकाएर काम गर्न पाउने अवस्था आउन लागेको बताएका छन् । केन्द्रले प्रदेशलाई अधिकार प्रत्योजन गर्न नचाहेको आरोप गलत भएको भन्दै उनले सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेको र केहीका कानुनी जटिलताका कारण बाँकी रहेको बताए ।