प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमा राखिने भएको छ।
प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहका अनुसार उनको छातिमा संक्रमण देखिएको छ। रुघा खोकीसँगै ज्वरो बढेपछि गए राति प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल पुर्याइएको थियो।
उनको हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सिसियुमा राखेर उपचार भइरहेको छ। ‘थप एक दुई दिन अस्पतालमै निगरानीमा राख्ने छौँ’, सिंहले भनिन्, ‘थप उपचारका लागि विदेश लैजानेबारे सोचेका छैनौँ।’
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम श्रेष्ठद्वारा जारी विज्ञप्तीमा ओलीको छातीमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्रा असन्तुलित देखिएको उल्लेख छ।
प्रधानमन्त्री ओलीलाई बिहान साढे ४ बजे अस्पतालमा भर्ना गरिएको हो। विज्ञप्ति अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ।
प्रधानमन्त्री ओलीलाई नेकपाका बरिष्ठ नेता र मन्त्रीहरुले अस्पताल पुगेर भेट गरेका छन्।
अस्वस्थ भएपछि प्रधानमन्त्री ओली गत शनिबार पार्टीको चियापानमा सहभागि भएका थिएनन्। आइतबार वीर अस्पतालका डाक्टर दिलिप सिंहको टोलीले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेको थियो। उनलाई चिकित्सकहरुले तीन दिन आराम गर्न सल्लाह दिएका थिए। तर ओलीले बालुवाटारमा आइतबार मन्त्रिपरिषद् बैठक गरेका थिए। यद्यपी उनी दश मिनेट मात्र बैठकमा सहभागिभ एका थिए।