नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको छातिमा संक्रमण देखा परेको छ। प्रधानमन्त्रीको शरीरमा चिनीको मात्रा पनि असन्तुलित छ।
प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर दिव्या सिंहका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा असन्तुलित भएपछि उपचार गर्न अस्पताल ल्याइएको हो।
सोमबार बिहान साढे ४ बजेदेखि प्रधानमन्त्रीको उपचार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ।
'प्रधानमन्त्रीलाई दसैं सकिएपछि रुघाखोकी लागेको थियो। सामान्य ज्वरो पनि आएको थियो। आइतबार प्रधानमन्त्रीको शरीरमा चिनीको मात्रा (सुगर) बढ्यो। घरमै राखेर सुगर कन्ट्रोल गर्न नसकिने भएकोले सुगर कन्ट्रोल गर्न अस्पताल ल्यायौं', प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा डाक्टर सिंहले भनिन्, 'समय समयमा इन्सुलिन दिन र छातिमा संक्रमण भएकोले एन्टिबायोटिकहरू दिन पनि निवासमा भन्दा अस्पतालमा सजिलो हुन्छ।'
प्रधानमन्त्रीले दसैंमा नेता/कार्यकर्ता, सर्वसाधारणलाई चार दिनसम्म टीका लगाइदिएका थिए। त्यसले धपडी भएको थियो। दसैं सकिएपछि रुघाखोकी देखा परेको थियो भने शुक्रबार साँझदेखि ज्वरो देखिएको थियो। आइतबारदेखि शरीरमा चिनीको मात्रा बढेको उनले बताइन्। प्रधानमन्त्रीलाई सिसियुमा राखेर उपचार गरिएको डाक्टर सिंहले जानकारी दिइन्।
'उहाँ (प्रधानमन्त्री) लाई सिसियुमा राखिएको छ। मुटुको समस्या भएर राखेको भने होइन', उनले भनिन्। प्रधानमन्त्रीको उपचारमा कार्डियोलोजी विभाग प्रमुख प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर सिंह र शिक्षण अस्पतालका पल्मनोलोजिष्ट डाक्टर सन्त दास खटिएका छन्। एक/दुई दिन प्रधानमन्त्रीलाई अस्पतालमा डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिनेछ।
'प्रधानमन्त्रीलाई तत्काल विदेश लैजानुपर्ने अवस्था छैन। उहाँ भोलिसम्म सामान्य अवस्थामा जानुहुन्छ', उनले भनिन्। प्रधानमन्त्रीको मृगौलामा भने अहिले कुनै समस्या नरहेको उनले बताइन्। 'किड्नीमा अहिले कुनै समस्या छैन। रेक्पिरेटरी ट्रयाक इन्फेक्सन भएको हो', उनले भनिन्।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओली एक/दुई दिनभित्रमा स्वास्थ्य लाभ गरेर नियमित काममा फर्कने विश्वास
व्यक्त गरे। प्रधानमन्त्री अस्पताल भर्ना भएपछि स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, मन्त्रीहरु, पार्टीका नेता, कार्यकर्ताको भीड अस्पताल परिसरमा छ।
को/ को पुगे प्रधानमन्त्रीलाई भेट्न, यसबारे तल स्टोरी पढ्नुहोस्:
प्रधानमन्त्रीलाई भेट्न दाहाललगायत नेताहरू शिक्षण अस्पतालमा
सोमबार बिहान अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
केहीबेरअघि दाहालले प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था बुझेको दाहालको सचिवालयले जनाएको छ।
‘दुई अध्यक्षबीच कुराकानी पनि भयो। अध्यक्ष ओलीले सामान्य भाइरल भएको हो भन्नुभयो,’ दाहाललाई उद्धृत गर्दै उनको सचिवालयका बिष्णु सापकोटाले सेतोपाटीसँग भने,‘अहिले हामी पार्टी कार्यालय धुम्बाराही आइपुगेका छौं।’
यसअघि खोकी बढेपछि सोमबार बिहान सवा तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्याइएको थियो।
अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।
नेकपा महासचिव बिष्णु पौडेल र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा अहिले अस्पताल परिसरमै छन्।
अस्पतालले बिहान ९ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी गराउने बताएको छ।
प्रधानमन्त्री ओली केही दिन यता बिरामी परेका थिए। स्वास्थ्यका कारण उनी शनिबार पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन्। उनको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका चिकित्सक दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी र ज्वरो आएको तर छातिमा संक्रमण नभएको आइतबार सेतोपाटीलाई बताएका थिए। चिकित्सकले प्रधानमन्त्री ओलीलाई तीन दिन आराम गर्न सल्लाह दिएका थिए।