सरकारले गठन गरेको राजनीतिक वार्ता समितिले हतियारसहित मुलुकमा चार वटा समूह सक्रिय रहेको जनाएको छ।
नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी, मधेसमा सक्रिय गोइत समूह, ज्वाला समूह र कोब्रा समूह हतियारसहित सक्रिय रहेको जनाएको हो।
वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले विप्लवबाहेकका समूहसँग वार्ताका लागि पत्राचार गरिएको बताए। उनले विप्लव समूहसँग वार्ताका लागि वातावरण तयार गर्ने काम भैरहेको जानकारी दिए।
उनले खड्ग विश्वकर्मा, उमा भुजेल, चन्द्रबहादुर खड्का ‘असल’ लगायतलाई रिहा गरेर वार्ताको वातावरण तयार गरिएको बताए। ‘विप्लव समूहसँग अनौपचारिक छलफल भएको छ। भावना सकारात्मक पाएका छौँ’, पाण्डेले भने, ‘विप्लवप समूह राजनीतिक समूह हो। तर अतिवादी देखिन्छ।’
राजनीतिक वार्ता समितिले सिके राउत समूहलाई भने वार्तामा नडाक्ने भएको छ। सिके राउत समूह राजनीतिक नभएको र पृथकवादी समूह भएकाले वार्ताका लागि पत्र नपठाइने पाण्डेले बताए। ‘सिके राउत समूहलाई हामीले राजनीतिक फ्रेममा पाएनौँ’, पाण्डेले भने, ‘उक्त समूह मुलुक विखण्डन र पृथकतावादी सोचका साथ अगाडि बढेको छ।’
समितिले ३२ वटा समूहलाई वार्ताका लागि पत्र काटेको पाण्डेले बताए।
सरकारले समितिलाई संविधान बाहिर रहेका, सशस्त्र, निशस्त्र, द्वन्द्वरत र असन्तुष्ट समूहसँग वार्ता गर्न जिम्मेवारी दिएको छ। समितिले हालसम्म ३२ वटा समूहलाई पत्र काटेको छ।
उनले संविधान निर्माणका बेला संवैधानिक राजनीतिक समितिले गठन गरेको आनन्द ढुङ्गाना नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनका आधारमा समिति अगाडि बढिरहेको बताए। ढुङ्गाना नेतृत्वको समितिले १७ वटा समूहलाई राजनीतिक समूहको पहिचान गरेको थियो।
उनले तीन महिना समय पाएको समितिले विभिन्न समूहसँग वार्ता गरिरहेको बताए। ‘तीन वटा लिम्बुवान सम्बन्धित समूह छन्,’ पाण्डेले भने, ‘धेरैको माग आफ्ना पक्राउ परेका कार्यकर्ता रिहा गर्नुपर्ने पहिलो माग छ।’
उनले ३२ वटा समूहका ११ सय ८६ जनलाई रिहाईको माग वार्ताका लागि अडानका रुपमा आएको बताए। ‘हामीले उनीहरुको मुद्दाको मिसिल मागेका छौँ’, पाण्डेले भने, ‘विगतमा रिहाईका लागि आफ्नो कार्यकर्ता नभएपनि सूचीमा बुझाउने गरेको पाएकाले यसपटक मुद्दाको मिसिल मागेका हौँ।’
त्यस्तै ४ सय ४६ जनाको वारेण्ट खारेजीको माग यस्ता समूहहरुले राखेको उनले बताए। यसरी वारेण्ट जारी भएकाहरु भारतमा रहेका कारण टेलिफोन र आवात जावतका लागि खर्च दिएर मध्यस्ताका लागि केही व्यक्तिहरु अनौपचारिक रुपमा परिचालन गरिएको समेत उनले बताए।
‘वार्तामा आउनेहरुका लागि हामिले सुक्षाको व्यवस्था गर्ने छौँ’, उनले भने। समितिले लाहान र जनकपुर पुगेर केही समूहसँग कुराकानी गरेको उनले बताए।