चालु आर्थिक वर्षको प्रथम चौमासिक सकिन लाग्दा प्रदेश ५ ले करिब ८ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
खर्च भएको बजेट पनि प्रदेश ५ का १२ जिल्लामध्ये रुपन्देही जिल्लाले मात्र खर्च गरेको हो।
प्रदेश सरकारका बिभिन्न मन्त्रालयहरुले गर्ने खर्च मध्येको खुद बजेटको ११ प्रतिशत नाघिसक्दा पूँजिगत खर्च भने ८ प्रतिशतमा सिमीत छ।
प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ५ का अनुसार प्रथम चौमासिकको यो अवधिसम्म रूपन्देही, बाँके र प्यूठानले मात्र बजेट परिचालनका लागि अख्तियारी लगेका छन्। अख्तियारी लगेका मध्ये पनि रुपन्देहीले मात्र खर्च गरेको हो।
प्रदेश ५ सरकारले बिनियोजन गरेको बजेट मध्ये ४२ करोड ७५ लाख ५० हजार बजेट खर्चको अख्तियारी लगेको रुपन्देही जिल्लाले ३ करोड ६१ लाख ४९ हजार ९ सय ४६ रूपैया मात्र खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले खर्च गरेका कार्यालयहरुले सवारी साधन र मेसिनरी सामानमा मात्र खर्च गरेको जानकारी दिए। प्रदेश ५ अन्तरगत सबैभन्दा बढी बजेट भौतिक पुर्वाधार बिकास मन्त्रालयमा रहेको छ। १३ अर्वभन्दा बढी बजेट रहेको उक्त मन्त्रालयले अहिलेसम्म बजेट परिचालन नगरेको लेखा नियन्त्रक ज्ञवालीले जानकारी दिए।
कृषि, सामाजिक विकास, उद्योग बन तथा पर्यटन मन्त्रालयको बजेट परिचालनको अवस्था पनि उस्तै रहेको छ। बजेट परिचालन गर्ने कार्यालयहरू टुंगो नलाग्नु, बजेट आए पनि कार्यालय स्थापना नहुनु र स्थापना भएका कार्यालयमा समेत कार्यालय प्रमुख नआईपुग्नु जस्ता कारणले मन्त्रालय अन्तरगत पूँजिगत खर्च परिचालनको अवस्था कमजोर भएको लेखा नियन्त्रक ज्ञवालीले बताए।
बजेट परिचालन गर्ने कार्यालय स्थापनामा देखिएको अन्यौलता र कतिपय कार्यालयहरुको बजेट आईसके पनि प्रदेशमा स्थापना हुनुपर्ने कार्यालयहरु संघीय सरकार मातहत गएका कारण पनि पूँजिगत खर्चको अवस्था कमजोर देखिएको कार्यालयले जनाएको छ।