कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तापक्षका नेता कार्यकर्ताले सरकारको विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
देश विकासका लागि जहाँ पनि विरोध गरेर सम्भव नहुने भन्दै उनले आफ्नै सत्तारुढ दलबाट नै विना अर्थ विरोधका नाममा विरोध हुने गरेको टिप्पणी गरे ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतदेखि अहिलेसम्मका हरेक सरकारको काम, योजनालगायतका विषयमा प्रतिपक्षभन्दा पनि सत्तारुढ दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्ने गरेको बताए ।
‘देश बनाउने जिम्मा सरकारको, वा केही मन्त्रीहरुको मात्रै होइन, सबैको सहकार्य र सहमति आवश्यक छ,’ उनले भने। सबै दलको सहकार्य, सहमतिका कारण संविधान आएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सबै नेता, कार्यकर्ता, दलहरुसँग नीति निर्माण, योजना छनोट तथा कार्यान्वयनमा सम्झौता हुन सकेमा विकास गर्न सकिने बताए ।
‘सबै सरकारहरुबीच सहमति, सहकार्य र विश्वासको वातावरण हुन आवश्यक छ, छलफलका माधयमबाट समस्या पत्ता लगाउन सकेमा विकास र परिवर्तन सम्भव छ’ मुख्यमन्त्री शाहीले भने, ‘संविधानले प्रदान गरेका सबै अधिकारहरु प्रयोग गरेर आपसी समझदारीका साथ अघि बढौँ।’
उनले संघीय सरकारको व्यवहारका कारण कतिपय कामहरु गर्न नसकिएको पनि बताएका छन् । ‘देशका तिनै तहका सरकारहरु नेपाल सरकार नै हुन, सबै नेपालकै अंग हुन्,’ उनले भने, ‘तर संघीय सरकारका केही मन्त्रीहरुले नेपाल सरकार आफू मात्रै हौँ भन्ने जस्तो व्यवहार देखाइरहेका छन्, उनीहरुले त्यो व्यवहार हटाउन जरूरि छ।’