युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा अनियमितता र भष्टाचार नभएको दाबी गरेको छ।
राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको प्रतिवेदनमा कोषले कर्मचारी भर्ना, रकम छनोट, वितरण, अनुगमनलगायतमा अनियमितता भएको देखाएको थियो।
‘कोषका जिम्मेवार पदाधिकारीसँग छलफल नै नगरी सतर्कताले प्रतिवेदन बनाएको हो’, कोषकी सूचना अधिकारी सम्झना वाग्लेले शुक्रबार पत्रकार सम्मेलनमा भनिन्, ‘वास्तविक व्यवसायीकोमा स्थलगत नपुगी केन्द्रले सहकारीका कर्जाग्राहीको विवरण उतारेर प्रतिवेदन बनाएछ।’
सतर्कता केन्द्रले अनुगमनको नाममा व्यवसायीलाई नभेटी सहकारीका पदाधिकारीलाई होटलमा बोलाएर प्रतिवेदन बनाएको कोषले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ। ‘सतर्कताको प्रतिवेदनले व्यवसायीको यथार्थ अवस्था चित्रण गर्न सकेको देखिँदैन’, विज्ञप्तिमा भनिएको छ।
कोषका तालिम शाखा प्रमुख अधिकृत नरबहादुर साउदका अनुसार धनुषा र सुनसरीलगायत ठाउँमा सतर्कताले गरेको अनुगमन प्रभावकारी थिएन। सतर्कताका तीन जना, कोषका साउद, युवा तथा खेलकूद मन्त्रालयका एक जना केही महिना अघि अनुगमनमा गएका थिए।
कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले सतर्कताले औंल्याएजस्तो राज्यबाट दोहोरो सुविधा नलिएको दावी गरे। ‘दोहोरो सुविधा लियो भन्ने विषय सर्वोच्चबाट टुंगिसकेको छ’, उनले भने, ‘नेपाल राष्ट्र वैंकमा ३० वर्ष मैले सेवा गरेको थिएँ। मैले पेन्सन फिर्ता गर्नुपर्दैन।’ गौतमले पेन्सन र कोषबाट गरी राज्यबाट दोहोरो सुविधा लिँदै आएको सतर्कताले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
कोषले अहिलेसम्म ५५ हजारलाई स्वरोजगार बनाएको तथ्यांकमाथि पनि सतर्कताले प्रश्न उठाएको छ। ‘हामीले २०६५ देखि अहिलेसम्म ५८ हजार तीन सय ४३ लाई स्वरोजगार बनायौं’, उनले भने, ‘शिक्षित युवालाई ऋण दिन र स्वरोजगार बनाउन पाइन्छ। हामीलाई निर्देशिकाले छेक्दैन।’
कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले कोषका कर्मचारीहरु गैरसरकारी संस्थामा आवद्ध रहेको पाइएमा कारबाही हुने बताए। ‘शैक्षिक योग्यतामा छलछाम गरेको भेटिएमा र एनजीओमा आवद्धता रहेको पाइए कारबाही गरिन्छ’, उनले भने।
सतर्कताले प्रतिवेदनमा ५१ करोड भाखा नाघेको देखाएकोमा त्यस सत्यता नभएको उनले दावी गरे। ‘सतर्कताको प्रतिवेदन सत्यको नजिक छैन। यथार्थता त्यसमा छैन’, उनले भने, ‘२७ करोड भाखा नाघेको रकम हो। सतर्कताको प्रतिवेदनमा ५१ करोड छ अनि कसरी पत्याउने?’
लगानी निर्देशिका मिचेर कुनै लगानी नगरेको उनले दावी गरे। ‘मापदण्ड नै मिचेर कसलाई लगानी गरियो देखाउनुहोस्’, उनले भने, ‘हामीलाई दिनु भन्दा अघि नै किन सञ्चारमाध्यमलाई प्रतिवेदन दिइयो?’