नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन्।
अध्यक्ष प्रचण्डले परियोजनाहरु समयमा सम्पन्न नगर्ने, गुणस्तरीय नगर्ने तथा कचिंगल गर्ने प्रवृति रहेको बताउँदै समयमा काम सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कृत गरिने बताएका हुन्।
‘समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत गर्ने र जिम्मेवारी लिएर तोकिएको समयमा गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने तयारी भइरहेको छ’, अध्यक्ष प्रचण्डले भने ।
बुटवलमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्न शनिबार बिहान गौतमबुद्ध विमानस्थलमा आएका अध्यक्ष दाहालले पछिल्लो समय विमानस्थलको निर्माण प्रगति तथा गुणस्तरबारे निर्माण आयोजना प्रमुखसँग जानकारी लिने क्रममा सो कुरा बताएका हुन्।
उनले विमानस्थललाई समयमा निर्माण गर्न र गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे।
अध्यक्ष प्रचण्डले गौतमबुद्ध विमानस्थलको महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उत्तिकै रहेको बताए ।
नेपालका परियोजनाहरू समयमा सम्पन्न नगर्ने परिपाटीले समस्या उत्पन्न भएको भन्दै अध्यक्ष प्रचण्डले विमानस्थललाई थपिएको समयमा जसरी पनि पूरा गर्नुपर्ने बताए ।
‘अन्तर्राष्ट्रिय भएको र लुम्बिनी आउने लाखौं पर्यटक आउने भएकोले पनि यो विमानस्थल महत्वपूर्ण रूपमा रहेको छ, ढिलाइ त यसैपनि भयो अब ढिलो नहोस्’, उनले भने ।
कतिपय आन्तरिक कचिंगललाई र विवादलाई पार गरिसकेकोले अब रचनात्मक र गुणात्मक काम गर्न आग्रह गरे। यसले लुम्बिनीको मात्र नभइ सिंगो राष्ट्रकै पर्यटन विकास र आर्थिक समृद्धिमा कोशेढुंगा सावित हुने र सबैले गौरवको अनुभूति गर्न पाइने बताए ।
निजगढ विमानस्थलको काम पनि अब केही दिनमा अघि बढ्ने उनले बताए । प्रचण्डले धनगढी र नेपालगञ्जको विमानस्थलको केही प्राविधिक विषयमा कुरा उठेको र त्यो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले विमानस्थलको निर्माणको प्रगति र अवस्थाबारे जानकारी गराएका थिए ।