रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकप्टर अवतरणपछि बिग्रेको बाराको सिद्धेश्वर क्रिकेट मैदान आइतबार मर्मत गरिएको छ।
रोड रोलर लगाएर पिच मर्मत गरेको आयोजक बारा एनप्याब्सनका अध्यक्ष प्रभुलालप्रसाद कुसवाहले सेतोपाटीलाई जानकारी दिए।
‘आज बिहानै रोलर लगाएर पिच मर्मत गरियो। अहिले खेल भइरहेको छ’, अध्यक्ष कुसवाहले भने।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बारामा शनिबार गरेको चियापानमा सहभागी हुन रक्षामन्त्री पोखरेल सेनाको हेलिकप्टरमा गएका थिए। हेलिकप्टर क्रिकेट मैदानमा अवतरण गरिएको थियो।
मैदानमा खेल चलिरहेकैबेला हेलिकप्टर अवतरण गर्न भनि चाँडै सक्न लगाइएको अध्यक्ष कुसवाहले बताए। यसका साथै मैदानमा तीन घण्टा हेलिकप्टर राखेपछि शनिबार तय भएका दुई खेल स्थगित गरियो। स्थानीय प्रशासन र राजनीतिक दलको दबाबमा २०/२० ओभरमा खेलाउनुपर्ने खेल घटाएर १२ ओभरमै सकिएको थियो।
‘हेलिकप्टर अवतरण गर्न ढिला हुने भयो भन्दै २० ओभरको खेल १५ मा झार्न भनियो। पछि १२ ओभर खेलाउनुपर्यो,' अध्यक्ष कुसवाहले भने, ‘हिजोका लागि तय भएको दोस्रो र तेस्रो खेल स्थगित गर्नुपर्यो।’
राष्ट्रियस्तरका क्रिकेट खेलाडी छान्न आयोजित क्रिकेट प्रतियोगितामा २० विद्यालय सहभागी छन्। २० गते फाइनल खेल खेलाउने कार्यतालिका भए पनि शनिबार निर्धारित दुई खेल खेलाउन नपाएपछि फाइनल प्रभावित हुने देखिएको कुसवाहले बताए।
‘तिहार पनि आइसक्यो। फाइनल तिहारपछि गर्ने कि के गर्ने भन्नेबारे साँझ बैठक बोलाएको छु’, उनले भने, ‘१५ ओभरमा झारेर भए पनि २० गते नै फाइनल गराउने कि भन्ने पनि छ।’
अन्त हेलिकप्टर अवतरण गर्ने ठाउँ हुँदाहुँदै क्रिकेट चलिराखेको मैदानमा गरिएकोमा उनले दुखेसो गरे।
बाराका कायममुकायम प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले आयोजककै सहमतिअनुसार मैदानमा हेलिकप्टर अवतरण गरिएको प्रतिक्रिया दिए।
‘शनिबार बिदाको दिन, दिउँसो घाम हुन्छ। त्यो समयमा हेलिकप्टर राख्ने सहमति भएको हो। हामीले नै सुरक्षा दिएर, हामीले नै सञ्चालन गरेको हो क्रिकेट खेल पनि,’ उनले भने।
क्रिकेटको फाइनल २० गते नै हुने दाबी गर्दै उनले तिहारपछि सार्नुपर्ने कुनै कारण नभएको बताए।
‘हेलिकप्टर त्यहाँ (क्रिकेट मैदानमा) राखेर झन् मैदान राम्रो भएको छ। पानी हाल्यौं, धुलो हट्यो’, उनले भने, ‘कोही मान्छे पनि मैदानमा गएको छैन, पिच कसरी बिग्रन्छ? मैदान बिग्रेको छैन। यहाँ मैदान हेर्ने मान्छे हाँस्छन्।’
सिडिओ भट्टराईले बिहान, बेलुकीमात्रै खेल हुने गरेको बताए पनि अध्यक्ष कुसवाहका अनुसार दिउँसो पनि खेल भइराखेका छन्। रक्षामन्त्री पोखरेलका प्रेस सहयोगी लोकेन्द्र केसीले उक्त मैदानमा क्रिकेट खेल भइराखेको छ भन्ने जानकारी सचिवालयलाई नभएको बताए।
‘अमलेखगञ्जमा सेनाको जंगल वारफेयर शिक्षालयको निरीक्षण गर्ने मुख्य काम थियो। सकेर फर्कनेक्रममा मन्त्रीज्यू चियापान कार्यक्रममा जानुभएको हो’, उनले सेतोपाटीसँग भने, ‘हेलिकप्टर कहाँ राख्ने भन्ने तय त स्थानीय प्रशासनले गर्ने हो। मन्त्रीको सचिवालयलाई मैदानमा क्रिकेट, फुटबल या भलिबल के खेल भइराखेको छ या छैन भन्ने त जानकारी हुने कुरा भएन।’
कात्तिक १० गतेदेखि सुरु भएको खेल २० गते सक्ने तयारी आयोजकले गरेपनि शनिबार दुई खेल स्थगित हुँदा कार्यतालिका प्रभावित भएको हो।