संघीय संसद सचिवालयले संसदीय समितिका सभापतिहरूलाई दुई जना चालक बराबरको तलब खातामा हालिदिने गरेको छ। सभापतिहरूले भने यो सुविधा दुरूपयोग गरी एक जना मात्र चालक राखेर अर्कोको तलब आफैंले लिने गरेको पाइएको छ।
संघीय संसदका पदाधिकारीको सुविधासम्बन्धी ऐनले प्रथम स्तरका दुई सवारी चालकको सुविधा दिने व्यवस्था गरेको छ। प्रथम स्तरका सवारी चालकको तलब स्केल १८ हजार ३ सय रुपैयाँ छ। यसअनुसार सचिवालयले दुई चालक बराबर ३६ हजार ६ सय रुपैयाँ सभापतिको खातामा हालिदिने गरेको छ।
संघीय संसदमा १६ जना समिति सभापति छन्। संघीय संसदको सवारी शाखाअनुसार राज्य व्यवस्था समितिकी सभापति शशि श्रेष्ठबाहेक अन्य कोही सभापतिले दुई जना चालक राखेका छैनन्।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दुई चालक बराबरको तलब समिति सभापतिहरूको खातामा हालिदिने गरेको बताए।
‘हामी दुई जना चालकको तलब हालिदिन्छौं, सभापतिहरू भने एउटै चालकबाट काम चलाउनु हुन्छ,’ पाण्डेले भने, ‘उहाँहरूले ड्राइभरलाई कति दिनुहुन्छ थाहा छैन।’
सवारी शाखाका प्राविधिक अधिकृत नरेश श्रेष्ठले समिति सभापतिहरूको चालक अत्यधिक परिवर्तन हुने गरेको बताए। ‘कसैले एक महिना नपुग्दै छाड्छन्। धेरैजसोको तीन/चार महिनामै परिवर्तन हुन्छन्,’ श्रेष्ठले भने, ‘खै किन हो थाहा छैन।’
समिति सभापतिहरूले बढी काम लगाउने र तलब थोरै दिने गरेको गुनासो चालकहरूबाटै आउने गरेको सचिवालयका अर्का एक कर्मचारीले जानकारी दिए।
‘बिहानदेखि रातिसम्म काम लगाउनुहुन्छ। जिल्ला जिल्ला दौडाउनुहुन्छ, फिल्ड अनुगमनमा लैजानुहुन्छ,’ ती अधिकारीले भने, ‘दुई जनाको काम लगाएर एक जनाको तलब दिने गरेको थाहा पाएपछि छाड्नुहुन्छ।’
समिति सभापतिका चालकलाई सवारी शाखाले पास उपलब्ध गराउँछ। श्रेष्ठले मात्र दुई चालकको पास बनाएको सवारी शाखाले जनाएको छ। श्रेष्ठको गाडी चालकद्वय सरोज तामाङ र पासाङ लामाले आलोपालो चलाउने गरेका छन्। ‘म विदेशमा थिएँ। फर्किएपछि दुई महिना भयो काम गर्न थालेको,’ तामाङले भने, ‘हामी आलोपालो सवारी चलाउँछौं।’
सवारी हाँकेबापत् अहिलेसम्म तलब नलिएको उनले बताए। आफूले सभापति श्रेष्ठसँग तलबबारे कुराकानी नै नगरेको उनले जानकारी दिए।
श्रेष्ठबाहेक अरू समिति सभापतिहरूले भने दुई जना चालकको तलब सुविधा पाउँदै आए पनि एक जना चालकबाटै काम चलाउने गरेका छन्।
विकास समिति सभापति कल्याणी खड्काले रोशन भण्डारीलाई चालक राखेकी छन्। उनको गाडी चलाउन भनेर भण्डारीले मात्र सवारी शाखाबाट पास लिएका छन्। शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले पनि एक जना सवारी चालक राखेकी छन्। उनको चालकका रूपमा ललित रोकाले पास लिएका छन्।
राज्य निर्देशक समितिकी सभापति निरादेवी जैरुले पनि कुमार साँवालाई मात्र चालकका रूपमा राखेकी छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति सभापति पवित्रा निरौलाले पनि विक्रम भट्टराई एक जनालाई मात्र चालक राखेकी छन्। संसदमा श्रमिकको हकअधिकारको वकालत गर्ने श्रम समितिले हो।
हामीले यस विषयमा सभापति निरौलासँग कुरा गर्दा उनले आफ्नो दुई जना चालक रहेको बताइन्। 'मैले विक्रम भट्टराई र सरोज अधिकारीलाई चालक राखेको छु। नेपाल सरकारले तोकेको तलब दिन्छु,' उनले भनिन्, 'सवारी शाखाबाट दुई जनाको पास लिन भने भ्याएको छैन।'
उनका चालक भट्टराईले भने अहिलेसम्म आफू एक्लैले गाडी चलाइरहेको बताए। 'असोज २५ यता म झापामै छु,' भट्टराईले भने, 'मेरो परिवार काठमाडौंमै छ। कहिले फर्कने ठेगान छैन, गाडी पनि कन्डिसनमा छैन।'
यसरी एउटै चालक लामो समय घरबाट टाढा रहेर खटिनुपर्ने हुँदा दुई चालकको सुविधा दिइएको हो। दुई चालक भइदिएका भए भट्टराईले लामो समय झापामा बस्नुपर्ने थिएन। उनीहरूले आलोपालो गरेर चलाउँथे।
त्यस्तै, अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले पनि एक जनालाई मात्र चालक राखेका छन्। उनका चालक उद्धव घिमिरे हुन्। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णाकुमारी सुवेदीले दिवराज घिमिरेलाई चालक राखेकी छन्। राष्ट्रिय सभाको सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले सौगात अधिकारीलाई चालक राखेका छन्।
‘म नयाँ चालक हुँ,’ अधिकारीले भने, ‘दुई महिनादेखि काम गरिरहेको छु।’ उनले बिडारीले आफूलाई खानबस्न पुग्ने तलब दिएको बताए। तलब भने खुलाएनन्।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्टले पनि एक जना मात्र चालक राखेकी छन्। भट्टका चालक अनिल माली हुन्। राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलले पनि एक जना मात्रै चालक प्रयोग गर्ने गरेकी छन्। सवारी शाखाका अनुसार सुजन निरौला उनका चालक हुन्।
सरकारको सार्वजनिक लेखा हेर्ने अधिकार पाएको लेखा समितिका सभापति भरतकुमार शाहले बकु थारुलाई मात्र चालक राखेका छन्।
शाखाले अन्य सभापतिको चालक विवरण संकलन भैरहेको जनाएको छ।
समिति सभापतिसँगै राष्ट्रियसभा र प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई पनि सचिवालयले दुई चालकको सुविधा दिने गरेको छ। सबैजसोले एक जना मात्र चालक प्रयोग गर्ने गरेको सचिवालय स्रोत बताउँछ।
‘देव गुरुङका दुई चालक छन्’, सचिवालय स्रोतले भन्यो, ‘बाँकी नेताहरू भने एक जना मात्र चालक राखेर अर्कोको तलब आफैँ खान्छन्।’