२०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा वामपन्थी नेता पद्मरत्न तुलाधर उठ्ने भए।
चुनावमा उठ्नुअघि उनी कांग्रेस नेता गणेशमान सिंहलाई भेट्न गएका थिए। गणेशमानले सुझाए, 'उठ्न त उठ तर रूपचन्द्र विष्टजस्तै हुनुपर्छ।'
रूपचन्द्र विष्ट 'थाहा' आन्दोलनका नेता थिए। उनको विद्रोही भाषण जनतामाझ लोकप्रिय थियो। राष्ट्रिय पञ्चायतमा जाने उनी यस्ता व्यक्ति थिए, जसले पञ्चायतसँग सम्झौता गरेनन्। जनताका आवाज खरो शैलीमा राष्ट्रिय पञ्चायतमा राखे।
पाँच वर्षअघि २०३८ सालको चुनावमा पद्मरत्नले गणेशमानकै कुरा मानेर राष्ट्रिय पञ्चायतको उम्मेदवारी फिर्ता लिएका थिए।
त्यो जनमत संग्रहलगत्तै भएको चुनाव थियो। भूमिगत राजनीतिक दलहरूले बहिष्कार गरेका थिए। पद्मरत्नको कुनै दल थिएन। उनी पञ्चायतविरोधी सबै जुलुसमा जान्थे। यो चुनावबाट राष्ट्रिय पञ्चायतमा जाने उनको आफ्नै निर्णय थियो।
गणेशमानले भने उनलाई पनि बहिष्कार गर्न सुझाए।
पाँच वर्षपछि परिस्थिति फेरिएको थियो। कांग्रेसहरू सत्याग्रहमा लागेका थिए। कम्युनिष्ट पार्टी मालेले २०४३ सालको चुनाव उपयोग गर्ने भनिसकेको थियो। यस्तोमा कांग्रेस नेता गणेशमानबाट चुनाव लड्न 'ग्रिन सिग्नल' पाएर पद्मरत्न उत्साहित भए।
२०४३ वैशाख २९ गते चुनाव थियो। त्यसको केही दिनअघि उनले काठमाडौंको वसन्तपुर डबलीमा हजारौं जनतासामु उभिएर आफू चुनाव लड्नुको कारण यसरी बताएका थिए:
'पाँच वर्षअघि हामीले चुनाव बहिष्कार गरेका थियौं। उनीहरूले हाम्रा नाउँमा भोट खसाले। हामीले नचाहेका मान्छेले जितेर गए। उनीहरूले पाँच वर्षसम्म भ्रष्टाचार गरे। पाँच वर्षसम्म जनतामाथि अन्याय गरे, शोषण गरे। हामी यो चुनाव रोक्न सक्दैनौं भने यसलाई जनताको पक्षमा उपयोग गरौं भन्ने मेरो व्यक्तिगत धारणा छ। गाउँगाउँ गएर बुझ्दा यो चुनावमा जनताका शत्रुलाई हराउँ भन्ने जनताको चाहना रहेछ। त्यसैले म चुनावमा भाग लिइरहेको छु। म यो चुनावमा नेता बन्न हैन, जनताको केही सेवा गर्न सकिन्छ कि भन्ने आशाले उम्मेदवार बनेको छु। मैले पद्मरत्न तुलाधरलाई भोट मागेको छैन। हामीलाई भोट दिनुस् भनेको छु। जनताका शत्रुलाई हराउन भोट मागेको छु।'
झन्डै ४० मिनेट लामो उनको भाषण वसन्तपुरमा भेला आएका स्रोताले मात्र सुनेनन्, त्यसको क्यासेट गाउँ-गाउँ पुग्यो।
पद्मरत्न पञ्चायतकालीन अँध्यारोबाट जनतालाई उज्यालो दिलाउनुपर्छ भन्ने सोच्थे। त्यसैले, सूर्यलाई आफ्नो चुनाव चिह्न बनाए। २०४६ पछि त्यही चुनाव चिह्न एमालेले लियो।
काठमाडौंमा उनी यस्तो क्षेत्रमा चुनाव लडे, जहाँ पञ्चायतका शक्तिशाली गृहमन्त्रीले उम्मेदवारी दिएका थिए। उनका प्रतिद्वन्द्वी जोगमेहर श्रेष्ठसँग राज्यको तागत थियो। पद्मरत्न सिर्फ जनताको आवाज लिएर उठेका थिए। उनी आफ्ना लागि त भोक लाग्योसम्म भन्दैनथे।
लेखक राजेन्द्र महर्जनले केहीअघि उनका बारेमा लेखेका छन्, 'निर्वाचन प्रचारप्रसार क्रममा काठमाडौंका गल्लीदेखि कीर्तिपुर वरपरका गाउँघरसम्म डुल्नुपर्ने, एकपछि अर्को सभा सम्बोधन गर्नुपर्ने, भेटघाट र भलाकुसारी तीव्र पार्नुपर्ने। जन–जनको स्तरबाट भएको प्रचारप्रसार क्रममा सबेरै उठेर रातको १२ बजेसम्म कुद्दा पनि पद्म दाइ धेरैजसो भोकै रहने। कसैले पनि खाना र खाजाबारे नसोध्ने। उनका सहकर्मीले पनि वास्ता गर्न बिर्सने। दाइ पनि मलाई ‘भोक लाग्यो, अब केही खानुपर्ला’ सम्म भन्न नसक्ने। यही लाज र संकोचले कयौंपटक उहाँ भोकै बस्नुपरेको थियो। यस्तो भोको अवस्थामा पनि उहाँको बोलाइ कमजोर भएन। सिंहको जस्तो गर्जन हुन्थ्यो उहाँको भाषणमा।'
उनको त्यही गर्जनयुक्त भाषणले काठमाडौंका जनताको मन छोयो। पद्मरत्नले ८२ हजार मत पाएर चुनाव जिते।
उनले राष्ट्रिय पञ्चायतमा रहँदा जनताले दिएका मतको मान राखे। उनी यस्ता जनप्रतिनिधि थिए, जसले पहिलोपटक पञ्चायतको छाती भनिने राष्ट्रिय पञ्चायतमा उभिएर बहुदल माग गरे।
त्यतिबेला राष्ट्रिय पञ्चायतमा बहुदलपक्षीय १५ जना सदस्य थिए। तिनैमध्ये एक हुन्, केशवकुमार बुढाथोकी।
उनलाई आज पनि चुनावपछिको पहिलो बैठक याद छ। बुढाथोकीभन्दा अघि बोल्ने पालो पद्मरत्नको थियो। जसै उनी बोल्न थाले, रोस्ट्रमअगाडि बस्ने पञ्चहरू उठेर टेबुल ठटाउँदै भन्न थाले– नियमापत्ति।
अघिल्लो रोस्ट्रममा भएका १५ जना पञ्चले नियमापत्ति भन्दै उनलाई बोल्नै दिएनन्। धेरै बेर बोल्न नदिएपछि पद्मरत्न रोए। सिंगो सदन एकैछिन शान्त भयो। उनी रूँदै बसे।
'त्यति खरा भाषण गर्ने पद्मरत्नजी रोएको देखेर म छक्क परेँ। त्यति कमलो मान्छेले त्यस्तो जब्बर भाषण गर्न सकेको सम्झेर चकित भएँ,' बुढाथोकीले भने, 'उहाँ अन्तरमुखी स्वभावको हुनुहुन्थ्यो। बाहिर धेरै नबोल्ने तर मञ्चमा पुगेपछि चर्को भाषण दिने।'
उनै पद्मरत्न जनआन्दोलन २०४६ पछिको पहिलो आमचुनावमा सांसदमा उठे, स्वतन्त्र उम्मेदवारका रूपमा। त्यति बेला उनले सबभन्दा ठूलो दल नेपाली कांग्रेसकी प्रभावशाली नेतृ मंगलादेवी सिंहलाई हराइदिए। जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी महिला संघकी संस्थापकसमेत थिइन्। तै पद्मरत्नले मंगलादेवीको भन्दा ६ हजार भोट बढी ल्याए।
उनले त्यो चुनाव सूर्य चिह्न लिएरै लडेका थिए। त्यति बेला सूर्य चिह्न एमालेको थियो। पद्मरत्न उठेपछि एमालेले त्यो क्षेत्रबाट अर्को उम्मेदवार उठाएन।
उनले २०५१ सालको चुनाव पनि जिते। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पद्मरत्न स्वास्थ्यमन्त्री थिए। त्यो बेला उनी गाईको मासुलाई लिएर विवादित बने। उनले बारामा भएको एउटा कार्यक्रममा आफ्नो आस्थाअनुसार 'गाई काटेर खान पाउनुपर्ने' भाषण गरे। कतिपय जनजाति र मुस्लिमले गाईको मासु खाने उदाहरण दिँदै उनीहरूलाई अधिकारबाट वञ्चित गर्न नहुने उनको धारणा थियो।
राष्ट्रिय जनावर गाई काटे अहिले पनि जेल सजाय हुन्छ। त्यो बेलाको समाज झन् कट्टर थियो। देशैभरि उनको विरोध भयो।
महाकाली सन्धिका कारण आन्तरिक विवाद बढेर एमाले फुटको संघारमा पुग्दा पद्मरत्नले वामदेव गौतमको साथ दिएका थिए। त्यही बेला माओवादीले सशस्त्र द्वन्द्व सुरू गर्यो। पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग उनको निरन्तर सम्पर्क थियो। पद्मरत्न माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन चाहन्थे।
यसबीच उनी चौथोपटक चुनाव लड्दा पराजित भए। त्यसपछि उनले मूलधारको राजनीति गरेनन्। मानवअधिकार क्षेत्रमा काम गरे। जातीय आन्दोलनका पक्षमा उभिए। माओवादीले जातीय आन्दोलन उठान गरेको थियो। उनले त्यसको समर्थन गरे।
यसैबीच उनको र पूर्वसभामुख दमननाथ ढुंगानाको भेट भयो। दमननाथले माओवादी नेताहरूसँग भेटाइदिन अनुरोध गरेका थिए।
उनीहरू दुवैले दाहाल र भट्टराईलाई भेटे। वार्ताका लागि सहजीकरण गरे। शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पहिलो वार्ता भयो। त्यसको केही महिनामा उनलाई प्रहरीले पक्राउ गर्यो। दमननाथले उनलाई छुटाउन मद्दत गरे।
'उहाँ माओवादीसँग नजिक हुनुहुँदो रहेछ। उनीहरू मूलधारको राजनीतिमा आऊन् भन्ने उहाँको चाहना थियो। त्यही सिलसिलामा हाम्रो भेट भयो। हामीले शान्तिका लागि निकै प्रयास गर्यौं,' ढुंगानाले सेतोपाटीसँग भने, 'उहाँको र मेरो विचारधारा अलग भए पनि काम उस्तै थियो। जनताको शासनका लागि लड्नु र मानवअधिकारको रक्षा गर्नु।'
राजाको शासनकालमा अर्को वार्ता भयो। सफल भने हुन सकेन। २०६२/६३ मा माओवादी र राजनीतिक दलहरू मिलेर जनआन्दोलन गर्दा नागरिक समाजका अगुवाका रूपमा पद्मरत्न अग्रपंक्तिमा थिए।
दोस्रो जनआन्दोलनको बलमा राजतन्त्र ढल्यो। त्यसपछि पनि पद्मरत्न सडकमै बसे। कहिले जनजाति आन्दोलनमा गए। कहिले महिला आन्दोलन त कहिले दलित आन्दोलनमा उनले आवाज दिए।
उनी कुनै पार्टीका थिएनन्, जनताका नेता थिए। जतिखेर जनता अप्ठ्यारोमा पर्थे, जनताका प्रतिनिधि निरूपाय हुन्थे, उनी अघि आउँथे। जब जनताका प्रतिनिधि सत्तामा पुग्थे, उनी फेरि जनताका आवाज लिएर कहिले सदन उक्लिन्थे त कहिले सडकमा झर्थे।
ढुंगानाका अनुसार, उनी कट्टर सिद्धान्तवादी थिए। कमलो हृदयका थिए। संवेदनशील र मानवअधिकारप्रति प्रतिबद्ध थिए।
गएको असोज २५ गते उनीहरूको एउटा कार्यक्रममा भेट भएको थियो। त्यहाँ पनि ढुंगानासँग पद्मरत्नले चिन्ता व्यक्त गरेछन्, 'शान्ति प्रक्रिया कहिले टुंगो लाग्ने हो भनेर।'
'हाम्रो अन्तिम कुराकानी त्यहीँ भएको हो। त्यो दिन पनि उहाँले द्वन्द्वकालका पीडितले न्याय पाउने, परिपूरण पाउने कहिले होला भन्ने कुरा गर्नुभयो,' ढुंगानाले सम्झे।
माओवादीलाई शान्तिको बाटोमा ल्याउने प्रथम परिकल्पनाकार भएकाले हुनसक्छ, द्वन्द्वपीडितलाई न्याय दिलाएर शान्ति प्रक्रिया टुंगोमा पुर्याउने हुटहुटी पद्मरत्नको मनमा अन्तिम समयसम्म कायम रह्यो।
उनी राजनीतिमा आउनुअघि पत्रकारिता गर्थे। नेपाल भाषामा रेडियो कार्यक्रम चलाउनेदेखि पत्रिकासम्म निकाले। निबन्ध पनि लेख्थे। नेवारी भाषा साहित्य जगेर्ना गर्नुपर्छ भन्नेमा उनको विशेष चासो थियो।
यसरी ७८ वर्षको जीवनमा व्यक्तिगतभन्दा बढी समाज र देशका लागि काम गरेर उनी आइतबार विदा भए।