संघीय संसद सचिवालयले चलिरहेका गाडी हुँदाहुँदै संसदका पदाधिकारी र संसदीय समितिका सभापतिहरूको रहर पूरा गर्न नयाँ गाडी खरिद प्रक्रिया अघि बढाएको छ।
सचिवालयले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, दलका नेता, सचेतक र १६ वटा संसदीय समितिका सभापतिका लागि २३ वटा नयाँ गाडी किन्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको हो।
समिति सभापतिहरूले सभामुख कृष्णबहादुर महरासँग आफूहरूले चढेको गाडी पुरानो भएको गुनासो गरेका थिए। सभापति भएलगत्तैको बैठकमा उनीहरूले ‘गाडी बारम्बार बिग्रने गरेको र पुरानो भएको' भन्दै सभामुख महरालाई नयाँ उपलब्ध गराउन माग गरेका थिए। त्यसपछि संघीय संसद व्यवस्थापन समितिको बैठकले गाडी माग गर्दै अर्थमा पत्राचार गरेको हो।
‘सभापतिहरूका लागि २० वटा स्कर्पिओ र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक-एक वटा गाडी किन्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘पत्र पठाएको दुई साता भए पनि प्रतिक्रिया पाएका छैनौं।’
खरिद प्रक्रिया अघि बढाएको संघीय संसद सचिवालयसँग गाडी हुँदै नभएको होइन। सचिवालयसँग हाल ९३ गाडी छन्। तीमध्ये चारवटा बस छन्। तीनवटा सञ्चालनमा छन् भने एउटा मर्मतमा। बिहान कर्मचारी ओसार्न र दिउँसो सिंहदरबारबाट बानेश्वरस्थित संसद भवनमा कर्मचारी लैजान सचिवालयले बस प्रयोग गर्दै आएको छ।
संघीय संसदमा गाडी व्यवस्थापन गर्न छुट्टै सवारी शाखा छ। सवारी शाखाका अनुसार हाल सचिवालयमा ४२ वटा स्कर्पिओ छन्। तीमध्ये ९ वटा मर्मतमा छन् भने ३३ वटा सञ्चालनमा छन्। यी गाडी सभापतिहरूले प्रयोग गर्ने गरेका छन्।
पछिल्लोपटक २०७४ जेठमा संघीय संसद सचिवालयले १८ वटा गाडी भित्र्याएको थियो। त्यसमा १२ वटा स्कर्पिओ थियो भने ६ वटा टाटा इन्डिका कार थियो। त्यस्तै, दुई वर्षअघि मात्र चीनले संघीय संसद सचिवालयलाई नौवटा किया कार उपलब्ध गराएको थियो।
२०६४ सालमा अनमिन फर्किएपछि उसले प्रयोग गरेको ३० वटा स्कर्पिओ संघीय संसद सचिवालयले पाएको थियो। संघीय संसदका कर्मचारीले ११ वटा साना गाडी प्रयोग गर्ने गरेका छन्। अधिकांक हुण्डाई कम्पनीका स्यान्ट्रो छन्। सचिवालयसँग केही पुराना इसिजु जीप पनि छन्।
गाडी पर्याप्त भएकाले कुनै बिग्रिए प्रयोगका लागि भन्दै केही गाडी स्ट्याण्डबाइ राख्ने गरेको सवारी शाखाका एक उच्च अधिकारीले जानकारी दिए। ‘सभापतिहरूको गाडीमा समस्या आए प्रयोगमा ल्याउन दुईवटा गाडी छन्,’ एक कर्मचारीले भने, ‘सभापतिहरूले भने नयाँ गाडी चढ्ने सोख पूरा गर्न चाहेका देखिन्छन्।’
सचिवालयका एक अर्का कर्मचारीले भने खरिद गर्दा कमिसन आउने भएकाले यो प्रक्रिया अघि बढेको बताए।
‘साथीहरू दोहोरो फाइदा हेर्छन्,’ ती कर्मचारीले भने, ‘नयाँ किन्दा कमिसन आउँछ। पुराना गाडी लिलामीमा लैजाँदा पनि तिनीहरूका पार्टपूर्जा निकाल्छन्। सिंहदरबारबाट गाडीको टायर हराएको त्यसै होइन।’
सचिवालय प्रवक्ता पाण्डेले भने केही गाडी पुराना भएकाले नयाँ आवश्यक भएको बताए। उनले मर्मतमा ठूलो खर्च हुने गरेको सेतोपाटीलाई जानकारी दिए। सवारी शाखाका कर्मचारीले भने दुई लाख खर्च गरेर मर्मत गर्दा सञ्चालन गर्न सकिने गाडी सचिवालयसँग रहेको बताए।
‘केही सभापतिले गाडी रोल्पादेखि झापासम्म दौडाउनुहुन्छ,’ सवारी शखाका ती कर्मचारीले भने, ‘बर्दिबासबाट आउजाउ गर्दा कुनै गाडी धेरै बिग्रिएका छन्।’
सभामुख महरा अहिले ल्याण्डक्रुजर गाडी चढिरहेका छन्। सुवास नेम्वाङ सभामुख भएका बेला उक्त गाडी किनिएको हो। त्यस्तै राष्ट्रियसभा अध्यक्ष पनि ल्याण्डक्रुजर नै चढ्दै आएका छन्।