कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पत्रकारविरूद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्न प्रदेश सरकार सक्रिय रूपमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
‘पत्रकारविरूद्ध हुने अपराधको दण्डहीनतासम्बन्धी अन्तर्राष्ट्रिय दिवस’को अवसरमा फ्रिडम फोरमले बुधबार सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रुपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ त्यति जोखिम छ’ मन्त्री भण्डारीले भने, ‘कर्णाली प्रदेशमा हामी सक्रिय रूपमा लाग्छौं पत्रकारविरूद्ध हुने अपराधको दण्डहीनता अन्त्यका लागि।’
उनले पत्रकारहरूको सुरक्षाका लागि कानुन मन्त्रालयले ‘पत्रकार स्वास्थ्य बीमा’को व्यवस्था गर्न लागेको जानकारी दिए।
‘हामी पत्रकारहरूको स्वास्थ्य बीमाको व्यवस्था गर्दैछौं, करिब-करिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ,’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य बीमामा सामेल हुन तपाईंहरूलाई अपिल गर्छौं।’
स्वास्थ्य बीमा कार्यक्रमले पत्रकारहरूलाई केही हदसम्म भए पनि सुरक्षाको प्रत्याभुति हुने उनले बताए ।
पत्रकारहरूलाई खोजमुलक रिपोर्टिङतर्फ प्रदेश सरकारले आकर्षित गर्ने व्यवस्था मिलाउने मन्त्री भण्डारीले बताए।
अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्था द्वन्द्वकालमा थुप्रै पत्रकारहरूले ज्यान गुमाउनुको प्रतिफल भएको बताउँदै मन्त्री भण्डारीले राज्य व्यवस्था परिवर्तनदेखि विभिन्न कुरिति, भ्रष्टाचार अन्त्य गर्नुमा पत्रकाहरूको ठूलो भूमिका रहेको उल्लेख गरे ।