‘दसैंअघि राजधानीमा मेलम्चीको पानी झर्छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक भन्दै आएका थिए।
पाँच वर्षे स्थायी सरकारका प्रधानमन्त्रीले यसो भन्दा राजधानीबासीमा खुसीको सन्देश सम्प्रेषण भएको थियो। खानेपानी मन्त्रालयलेनै दसैंसम्ममा पानी झार्ने बारम्बार प्रतिबद्धता गरेको आधारमा प्रधानमन्त्रीले त्यसो भनेका थिए।
हुन त अघिल्ला सरकारहरूले पनि मेलम्ची साकारको सपना राजधानीबासीलाई देखाउने गरेकै थिए।
यसपालि प्रधानमन्त्री ओलीले भनेजसरी दसैंअघि मेलम्ची खानेपानी राजधानीबासीका धारामा झरेन।
आफ्नो प्रतिबद्धता पूरा नभएपछि असन्तुष्ट प्रधानमन्त्रीले मेलम्चीको पानी कहिलसम्म आउँछ भनेर आफ्नो टिममा धेरै चासो देखाए। प्रधानमन्त्रीको चासो मुख्यसचिव लोकदर्शन रेग्मीले तिहारअघि खानेपानी मन्त्रालयका सचिवसामू राखे। सचिव बैठकमा उनले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सोधे, ‘तपाईं भन्नुहोस्, मेलम्चीको पानी अब कति दिनमा काठमाडौंमा झर्छ? ओली झोक्किएपछि सचिव ठाकुरले ‘४५ दिनभित्र मेलम्चीको पानी झार्छु’ भनी प्रतिबद्धता जनाए।
त्यो प्रतिबद्धता जनाएको झण्डै १५ दिन बितिसकेको छ।
ठाकुरका लागि भने त्यो प्रतिबद्दता निकै ‘गह्रौं’ साबित भएको छ। अबको ३० दिनमा मेलम्चीको पानी काठमाडौंमा झर्ने छैन। त्यसका लागि काम नै सकिएको छैन। परीक्षण बाँकी नै छ।
ठाकुरले सेतोपाटीसँगको कुराकानीमा धारामा मेलम्चीको पानी ल्याउनेबारे ‘समय तोक्न’ नसकिने स्पष्ट पारेका छन्। तपाईँले त प्रधानमन्त्रीलाई नै प्रतिवद्धता दिनु भएको छ रे भन्ने प्रश्नमा उनले भने-
‘हेर्नुहोस्, प्रधानमन्त्रीसँग सरकारका सचिवहरूको कुराकानी हुन्छ, समय तोक्ने कुरा नगर्नुहोस्,’ उनले प्रश्न गरे, ‘अरूलाई ३० वर्ष समय दिने, मलाई ३० दिन पनि नदिने?’
उनले भने, ‘काम भइरहेको छ, ४५ दिनपछि वा त्यसभन्दा अघि पनि हुनसक्छ।’
मेलम्चीको मुख्य बाँकी काम भनेको चार किमि सुरूङको ढलान हो। यो ढलान सकिएर सुक्न २८ दिन लाग्ने सचिव ठाकुरले बताए।
‘हतारमा काम गर्दा अप्ठेरो पर्छ,’ उनले भने, ‘ढलान गर्नेवित्तिकै पानी हाल्न सकिन्छ? ढलान सुक्न समय चाहिन्छ नि,’ उनले भने, ‘अहिले हतार गरेर पानी हाल्दा अर्को समस्या निम्तिँदैन? त्यसैले मैले समय तोक्न नसकेको हो।’
यसले देखाउँछ, मेलम्ची खानेपानी चाढै राजधानी आउने गतिलो आधार तयार भने भइसकेको छैन।
मेलम्ची विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि मेलम्चीको साढे चार किलोमिटर सुरुङ ढलानको काम बाँकी नै रहेको जानकारी दिए। सुरूङको भित्री सतहको काम पनि सकिएको छैन।
तर, सुरूङको काम सकिने बित्तिकै काठमाडौंका धारामा मेलम्चीको पानी झर्ने होइन।
ठाउँ–ठाउँमा पानी बन्द गर्ने/खोल्ने ढोका राख्ने तथा सफा गर्ने उपकरण जोड्न बाँकी छ। यस्तै, सुरूङको अनुगमन गर्ने संयन्त्र जडान गर्न बाँकी नै छ।
यी सबै काम सक्न दुई महिना लाग्ने उनले बताए। ‘अहिलेकै रफ्तारमा काम भए दुई महिनासम्ममा सकिन सक्छ,’ उनले भने, ‘तर, मिति तोक्न सकिँदैन, काम गर्दागर्दै बीचमा समस्या आउन सक्छ, काम रोकिन सक्छ।’
मेलम्ची सुरूङका यी सबै काम पूरा भएपछि विज्ञ समूहले अध्ययन गर्छ। विज्ञहरूले सुरुङमा पानी हाल्दा हुने रिपोर्ट दिए मात्र सुरूङ सुचारू हुने उनले बताए।
‘विज्ञ टोलीले पनि निकै समय लगाउन सक्छ, पानी हाल्न उचित हुने नहुने प्रमाणित गरेपछि मात्र सुरूङ सुचारू गर्न सकिन्छ, नत्र उपकरणहरू बिग्रिएर अर्को समस्या निम्तिन सक्छ,’ कँडेलले भने।
पानीको मुहान सुन्दरीजलबाट सुरूङमा पानी ‘डाइभर्ट गर्ने’ पूर्वाधार तयार भइसकेको उनले बताए। ‘तर, पानी हाल्न त सुरूङ सकिनुपर्यो,’ उनले भने, ‘प्राविधिक काम हो, बिहेको लगन जुराएको जस्तो मिति तोक्न त सकिँदैन, भोलि एउटा कामले अर्को समस्या आउन सक्छ।’
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार अहिले मेलम्चीको पानी सुरूङमा झरे पनि नयाँ पाइपलाइनमार्फत पानी जाने संयन्त्र पूरा भएको छैन।
काठमाडौं रिङरोडभित्र एक हजार किलोमिटर खानेपानी पाइपलाइन बिछ्याइसकिएको छ। तर, पाइपलाइन परीक्षण भएको छैन।
त्यसैले मेलम्चीको पानी आए पनि त्यो नयाँ पाइपलाइनबाट झर्ने छैन। थोत्रा पाइपबाटै झर्नेछ।
केयुकेएलका महाप्रबन्धक डा. महेशप्रसाद भट्टराईका अनुसार सुरूङमा पानी झरे अहिले पुरानै पाइपलाइनमार्फत खानेपानी वितरण गर्ने हो।
‘नयाँ पाइपलाइन विस्तार पूरा भए पनि परीक्षण भएको छैन, ट्यांकी निर्माण सकिएको छैन,’ उनले सेतोपाटीसँग भने। भट्टराईले नयाँ पाइपलाइनको परीक्षण अवधिमात्र तीनदेखि ६ महिनाको हुने जानकारी दिए।
मेलम्चीको खानेपानी वितरणका लागि निर्माण सुरू गरिएका ९ वटा ट्याङकीमध्ये ८ वटा मात्र बनेका छन्। भक्तपुरको कटुञ्जेमा ट्यांकी निर्माण सुरू भएकै छैन, तयारी मात्र हुँदैछ।
यसबाहेक महांकालमा २ र बाँसबारी, पानीपोखरी, बालाजु, कीर्तिपुर, ठिमी र ढोलाहिटीमा ट्यांकी बनिसकेका छन्।
‘हाम्रो जिम्मेवारीभित्र यी काम पर्दैनन्, पानी सुरूङमा झरिहाल्यो भने वितरण गर्ने मात्र हो, नयाँ पाइपलाइन तयार नभएको अवस्थामा हामीले पुरानै पाइपलाइनमार्फत पानी वितरण गर्छौं,’ भट्टराईले भने।
भट्टराईका अनुसार महांकाल, पानीपोखरी, बाँसबारी र बालाजुमा चार वटा ट्यांकीमार्फत वितरण हुने पाइपलाइन तयार छ। ती ट्यांकीबाट १ लाख २० हजार घरधुरीमा पानी पुर्याउन सकिने उनले बताए।
उपत्यकाभर पुरानो पाइपलाइनमा २ लाख २० हजार घुरधुरी जडान छन्।
ढोलाहिटीको ट्यांकी नबनाइकन ललितपुरका कुनै पनि धारामा पानी पुग्दैन। ढोलाहिटीको ट्यांकी बनेको छैन। ठिमीमा ट्यांकी निर्माणाधीन छ।
‘जहाँ–जहाँ ट्यांकी बनेका छन्, तिनीहरूलाई नयाँ पाइपलाइनमा कनेक्सन गर्ने व्यवस्था मिलाएका छौं, नयाँ पाइपलाइन तयार नहुञ्जेल ती ट्यांकीबाट पुरानै पाइपलाइनमा पानी जान्छ,’ उनले भने।
तर, पुरानो पाइपलाइन भरपर्दो छैन। पुरानो पाइपलाइनले १२० वर्ष नाघिसकेको छ।। ठाउँ–ठाउँमा चुहावट समस्या छ। ‘सडकको काम गर्दा पाइपलाइन टुटफुट भएको छ, त्यसैले पुरानो पाइपलाइनबाट भरपर्दो तरिकाले पानी वितरण हुँदैन,’ उनले भने।
एक हजार मिटर जडित नयाँ पाइपलाइन सुरू नै भए पनि राजधानीबासीलाई यो ‘झिनो’ जस्तो हुन्छ। यो पाइपलाइनले ८५ हजार घरधुरीको माग सम्बोधन गर्न सक्छ। ‘पहिलो चरणमा यति निर्माण लक्ष्य हो,’ केयुकेएलका महाप्रबन्धक भट्टराईले भने, ‘त्यसपछि दोस्रोचरणको काम थाल्छौं, कति जनसंख्या लक्ष्य राखेर काम गरिन्छ, अहिले भन्ने अवस्था छैन।’
मेलम्ची खानेपानी आयोजना सन् २००१ बाटै सुरू भएको हो। सन् २००८ सम्ममा सुरूङ निर्माण क्षेत्रमा बाटो पुर्याइएको थियो। सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको थियो। चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सिएमसीलाई जिम्मा लगाएको थियो।
इटालियन कम्पनीले तीव्र गतिमा काम गरेको भनिए पनि समय–समयमा व्यवधान देखाउँदै आएको छ।