स्वास्थ्य मन्त्रालयकी सचिव पुष्पा चौधरी ११ दिनदेखि मन्त्रालयमा हाजिरमात्र गरेर घर फर्किरहेकी छन्।
मन्त्रालयले उनलाई कुनै जिम्मेवारी दिएको छैन। ‘म सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य मन्त्रालयमा हाजिर गरिराखेको छु,’ सचिव चौधरीले सेतोपाटीसँग भनिन्, ‘मन्त्रालयले मलाई केही जिम्मेवारी दिएको छैन। सुशीलनाथ प्याकुर्याललाई निमित्त सचिवको जिम्मेवारी दिइएको भन्ने सुनेको छु।’
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक ७ गते सचिव चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय तानेका थिए। चौधरीलाई मन्त्रिपरिषद् कार्यालयमा तानिएको पत्र कात्तिक ९ मा मन्त्रालय पुगेको थियो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वास्थ्य सचिवको दरबन्दी नभएको भन्दै चौधरीले रमना बुझ्न मानिनन्। सचिव सरूवा गर्दा मन्त्रिपरिषदबाट निर्णय गर्नु पर्ने भए पनि प्रक्रिया नपुर्याई सरूवा गरेको भन्दै चौधरी सर्वोच्च अदालत गइन्। उनले कात्तिक १५ गते सरकारको कदमविरुद्ध सर्वोच्चमा रिट दिइन्। भोलिपल्ट रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ‘यथावत् काम गर्नू’ भन्ने आदेश दियो।
कात्तिक १८ गते आइतबार स्वास्थ्य सचिवको हैसियतमा चौधरी मन्त्रालय पुगेकी थिइन्। तर मन्त्रालयले प्याकुर्याललाई निमित्त सचिवको जिम्मेवारी दिइसकेको थियो।
‘प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य सचिवको दरबन्दी छैन। दरबन्दी नै नभएको ठाउँमा हाजिर गर्न मिल्दैन, त्यसैले गइनँ,’ चौधरीले भनिन्, ‘म त अदालतको आदेश छिटो कार्यान्वयन हुनुपर्छ भनेर पर्खेर बसेको छु।’
सरकारको निर्णयले मन्त्रालयमा दुई जना सचिव रहेकोजस्तो भएको उनले बताइन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर कुँवरले सरकारले आफ्ना सचिवलाई जहाँ पनि काम लगाउन सक्ने बताए। ‘सरकारले सचिवलाई कहाँ काम दिने, के जिम्मेवारी दिने तोक्न पाउँछ,’ कुँवरले सेतोपाटीसँग भने।
चौधरीले एक वर्षदेखि स्वास्थ्य मन्त्रालयको सचिव सम्हालेकी थिइन्। चौधरीलाई जिम्मेवारीबाट हटाएर १२ औं तहका चिकित्सक प्याकुर्याललाई प्रशासनिक अधिकारसमेत दिएर निमित्त सचिव बनाइएको हो। चौधरीको नाम र फोटो मन्त्रालयको वेवसाइटबाट पनि हटाइएको छ।