प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तीको संरक्षण गर्दा प्रयोग गरिने क्रियाकलापले नेपालमा अपराधिक (डन) प्रवृत्ति मौलाएको बताएका छन्।
कतिपय व्यक्तिले गैरकानुनी रूपमा कमाएको पैसा जोगाउन गलत प्रवृत्तिका व्यक्तिको सहयोग लिने गरेको र पछि तिनै बाट समाजमा अपराधका घटना बढ्ने गरेको बताए।
लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सेमिनारको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले अपराधिक प्रवृत्तिका व्यक्तिसँग सहारा लिएर अकुत सम्पत्ति आर्जन गर्नेहरुकै कारण मुलुकमा अपराधका श्रृंखला बढेको दावी गरे ।
मुख्यमन्त्री पोखरेलले उद्योगिले व्यापारमा लगानी गर्ने तर उत्पादनमा लगानी नगर्ने प्रवृत्ती र व्यवसायमा संस्थागत संस्कृतिको विकास हुन नसकेको उल्लेख गरे। ‘उद्योगी व्यवसायीले ठूला लगानीको क्षेत्रमा लगानी नगर्ने तर गैर उद्योगीले लगानी गरेर नाफा कमाउन थालेपछि चिन्ता गर्ने प्रवृत्ति छ यस्तो प्रवृत्तिले मुलुक समृद्ध हुन सक्दैन,’ मुख्य मन्त्री पोखरेलले भने।
मुख्यमन्त्री पोखरेलले कर छल्ने प्रवृत्ति मुलुकको अर्थतन्त्र भित्रको मुख्य समस्या भएको बताए। उनले सरकारलाई कर तिरेर आफूले आर्जन गरेको सम्पत्तिलाई वैधानिकता दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।
पोखरेलले नेपालको उद्योग व्यवसाय र कार्यालय सञ्चालनमा मात्र होईन राजनीतिमासमेत यथोचित व्यवस्थापनको लागि दक्षता आवश्यक रहेको बताए।
‘संर्घष गर्न तत्पर भईहाल्ने तर संर्घषको परिणामलाई संस्थागत गर्न नसक्नु नेपाली राजनीतिको कमजोरी हो, उनले भने ‘यस्तै अवस्था रहिरहे प्राप्त उपलब्धि गुम्न सक्छ।’
सेमिनारमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका डिन डिल्लिराज शर्माले शिक्षालाई पुनर्परिभाषित गर्ने समय आएको बताए। उनले परिवर्तित समयमा व्यवस्थापन विषय सबैभन्दा बढी माग भएको विषय भएको दावी गरे।
‘त्रिभुवन विश्व विद्यालयमा उच्च शिक्षा हाशिल गर्ने ४ लाख विद्यार्थीमध्ये २ लाख बढीले ब्यवस्थापन विषय अध्ययन गरिरहेका छन्, यसले पनि व्यवस्थापन विषय धेरैको रोजाईमा पर्ने गरेको पुष्टि हुन्छ,’ उनले भने ।
सेमिनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक तथा अनुसन्धानकर्ता तथा व्यवस्थापन विषयसँग सरोकार राख्ने विद्यार्थीको सहभागिता रहेको छ।
समयको माग र बजारको आवश्यकता अनुसार व्यवस्थापकीय जनशक्ति तयार गर्न अहिलेको पाठ्यक्रम शिक्षण पद्धती तथा मूल्यांकन विधिलाई समेत समेटेर व्यवस्थापन प्रणालीको पूनर्पिरभाषित गर्ने उद्धेश्यले सेमिनारको आयोजना गरिएको लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्यायले जानकारी दिए।
सनिबारसम्म चल्ने सेमिनारमा विभिन्न देशका विषयविज्ञहरुका २१ वटा कार्यपत्र प्रस्तुत हुने क्याम्पसले जनाएको छ।