नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ स्वत: विघटनको संघारमा पुगेको छ।
नेविसंघ सभापति नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि आज सकिँदैछ। दुई वर्षभित्र महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भए पनि ३२ वर्षे उमेरहदलगायत विवादले नेविसंघले महाधिवेशन गर्न सकेन।
कात्तिक १६ देखि काठमाडौंमा तय गरेको १२ औं महाधिवेशन पार्टीले संघीय विधान नदिएको भन्दै स्थगित भएको थियो। नेविसंघले क्याम्पसका इकाइहरूमा पनि अधिवेशन गर्न सकेको छैन।
नेविसंघको कार्यकाल सकिने भएपछि नेपाली कांग्रेसले त्यसबारे छलफल गर्न आज (शनिबार) दिउँसो २ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। बैठकमा नेविसंघबारे तीन विकल्पमा छलफल हुनेछ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सर्वसम्मतिकै वातावरणबाट केही निर्णयमा पुगिन्छ।
‘तीन वटा विकल्कमाथि छलफल हुन्छ,’ शर्माले सेतोपाटीसँग भने, ‘महर नेतृत्वको यही समितिको म्याद थप गर्ने, समिति भंग गरेर अहिलेकै सभापतिको नेतृत्वमा निश्चित समयलाई तदर्थ समिति बनाउने र सभापति तथा समिति दुवैलाई विदाई गरेर नयाँ गठन गर्ने।’
यी तीन वटा विकल्प कांग्रेस केन्द्रीय समितिमा छलफलका लागि प्रस्तुत गरिन्छ। जुन विकल्पमा कम विवाद हुन्छ त्यहीअनुसार नेविसंघलाई अघि बढाइने कांग्रेसले जनाएको छ।
‘फागुन १४ मा स्ववियु निर्वाचन हुन्छ। त्यसलाई मध्यनजर राखेर पार्टीका सबै नेताहरूसँग छलफल गरेर उपयुक्त निर्णयमा पुग्छौं,’ प्रवक्ता शर्माले भने।
कार्यकाल सकिनेबेला सभापति महरले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमबाट आएका १५ जना विद्यार्थीलाई कार्यसमितिमा समावेश गराएका थिए।
नेविसंघको महाधिवेशनलाई मध्यनजर राख्दै पार्टीका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको निर्देशन समितिले तीन महिना कार्यकाल थप गरे पनि सो अवधिमा नेविसंघले महाधिवेशन गर्न नसकेको हो।
नेविसंघ सभापति महरले स्ववियु निर्वाचनलाई नविथोल्ने गरी त्यसैको आसपासमा १२ औं महाधिबेवेशन गर्न सकिने यसअघि नै बताइसकेका छन्। तर महामन्त्री कुन्दनराज काफ्लेले महाधिवेशन नगरी तदर्थ समिति बनाए आफूहरूलाई स्वीकार्य नहुने बताउँदै आएका छन्।