नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पहिलो स्मृति सभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीगण, उच्च नेताहरू तथा नेकपाका नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो।
ललितपुरको खुमलटारस्थित निवासमा सोमबार बिहान आयोजना गरिएको स्मृति सभा कार्यक्रममा बोल्ने क्रममा नेकपा अध्यक्षसमेत रहेका प्रचण्डले छोरा प्रकाश दाहालको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गर्दै भक्कानिएका थिए।
उनले देश, जनता, नेता, कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भन्दा गला अवरुद्ध भएको थियो । त्यतिबेला उनले आँसु थाम्न सकेनन् ।
कार्यक्रमको सुरुदेखि नै प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल देखिन्थिन्। मन्चमा बसेको बेला सीतालाई छोरीहरुले सम्हालिरहेका थिए।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपा संयोजक महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुको उपस्थिति थियो । अधिकांशका आँखा रसाएका थिए।
कार्यक्रममा प्रचण्डले दिवंगत छोरा प्रकाश र छोरी ज्ञानुको नामबाट खोलिएको ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ घोषणा गरेका थिए। कार्यक्रममा प्रकाश दाहालको स्मृतिमा निर्माण गरिएको स्मृति ग्रन्थ पनि सार्वजनिक भएको थियो।
प्रचण्डको छोरा प्रकाशको गत वर्ष आजकै दिन निधन भएको थियो।
हेर्नुहोस् सहभागीको तस्बिर