सरकारले उपराष्ट्रपति कार्यालय र निवास लौनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सार्ने भएको छ।
मन्त्रिपरिषद्को भदौ २१ को बैठकले परिषद्को भवनमा उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको थियो।
निर्णयको विरोधमा परिषद्का कर्मचारी आन्दोलित छन्। सरकारले भने मंसिर महिनाभित्र परिषद् भवन खाली गर्ने निर्णय गरेको छ।
‘सरकारको निर्णय कार्यान्वयन हुन्छ। उपराष्ट्रपति कार्यालय परिषदको भवनमा सार्न परिषद्लाई ललितपुरस्थित केन्द्रीय बाल कल्याण समितिको भवनमा सार्ने सहमति भइसक्यो,’ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सेतोपाटीसँग भने।
परिषद्को रेखदेख महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गर्दै आएको छ। परिषद्को अध्यक्ष मन्त्री रहने व्यवस्था छ। मन्त्री थममाया थापा मगरसहित विभिन्न मन्त्रालयका सहसचिव सहभागी शुक्रबारको बैठकले हरिहरभवनस्थित बालकल्याणको नयाँ/पूरानो भवनमा परिषद् सार्ने निर्णय गरेको हो।
‘तत्कालका लागि परिषद् बालकल्याण समितिको भवनमा सार्ने, बाल कल्याणलाई पुल्चोकस्थित महिला विभागमा सार्ने सहमति भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘१५ दिनभित्र बालकल्याणको नयाँ भवन निर्माण गरी सक्न सहरी विकासलाई आग्रह गरेका छौं।’
महिला विभाग भने यसअघि नै खारेज भइसकेको छ।
‘परिषदलाई बालकल्याणको भवन र बालकल्याणलाई महिला विभागको भवनमा सार्ने निर्णयलाई प्रधानमन्त्री कार्यालयले पनि समर्थन गरिसकेको छ,’ उनले भने।
परिषद्का कर्मचारीले गर्दै आएको आन्दोलन अब अन्त्य हुने उनले बताए।
विकल्प नै नदिई सरकारले परिषद्को भवनमा उपराष्ट्रपति कार्यालय राख्ने निर्णय गरेपछि कर्मचारी आन्दोलित थिए। जनताले चन्दा उठाएर बनाएको भवनमा उपराष्ट्रपतिको कार्यालय र निवास राख्ने सरकारको निर्णयको विरोधमा हस्ताक्षर अभियान, कालो पट्टी बाँधेर काम गर्ने तथा परिषद् परिसरमा कालो तुलब्यानर राखेर कर्मचारीले विरोध जनाएका थिए।
‘कर्मचारीको माग परिषद्लाई उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हो। माग सम्बोधन भइसक्यो,’ उनले भने।
दश हजारभन्दा बढी जनताबाट तीन करोडभन्दा धेरै चन्दा उठाएर चार तले ४५ कोठे भवन बनाइएको थियो। भवनको २०४५ सालमा राजा वीरेन्द्र शाहले उद्घाटन गरेका थिए। परिषद्का उपाध्यक्ष निलमणि बरालले लिखित परिषद्लाई अहिले बालकल्याणको भवनमा सार्ने र पछि परिषद्कै नाममा भवन बनाउने सहमति भएको छ।
‘परिषद् मंसिरभित्रमा बालकल्याणमा सर्ने निर्णय भयो,’ उनले भने, ‘मन्त्रालयमा मौखिक सहमति भएको हो। आज लिखित आउँछ होला।’
मंसिरमा परिषद् सरेपछि उपराष्ट्रपति कार्यालय अहिले परिषद् रहेको लौनचौरमा सर्ने बाटो खुला हुन्छ।
२८ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको परिषद् परिसरमै दुई मन्दिर छन्। परिषद्को भवन अगाडि खुला चौर छ। २०७२ को भूकम्पपछि चौरमा तीन महिनासम्म स्थानीय छाप्रो बनाएर बसेका थिए।
यो पनि पढ्नुस् :