सामाजिक सञ्जालमा हिजोदेखि एउटा हस्तलिखित राजीनामा पत्रको चर्चा छ।
वीर अस्पतालका न्यूरो सर्जरी युनिट प्रमुख प्राध्यापक डाक्टर ध्रुवराज अधिकारीले स्वास्थ्य मन्त्रालयमा बुझाएको उक्त राजीनामा पत्रमा लेखेका छन्- वीर अस्पतालले बारम्बार पत्र लेख्दा तथा मैले अथक प्रयास गर्दा पनि पद खाली भएको र अन्य उम्मेदवारसमेत नहुँदा पनि मेरो पोस्टिङ वीरमा नगरी पूर्वाग्रहसाथ दु:ख दिएकाले चाकडी र घुससमेत डिमान्डअनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छु।
गत मंसिरमा नवौं तहमा बढुवा भए पनि अधिकारीले आठौं तहकै सेवा सुविधा लिइआएका छन्।
‘मलाई नवौं तहमा बढुवा गरे पनि पोस्टिङ गरिदिएनन्। बढुवा भए पनि पोस्टिङ नहुँदा पूरानै सेवा सुविधा खाइआएको छु,’ डाक्टर अधिकारीले सेतोपाटीसँग भने, ‘वीर अस्पतालमै दरबन्दी रिक्त छ, यहीँ पोस्टिङ गरिदिनुपर्यो भनेर एक वर्षदेखि मन्त्रालय धाएको धायै गरें।’
३० वर्षदेखि स्वास्थ्य सेवामा रहेका डाक्टर अधिकारी चार महिनापछि सेवा निवृत्त हुँदैछन्। ‘मलाई पोखराका अस्पतालमा पोस्टिङ गर्न खोजिएको छ। जागिर छाड्ने बेला म किन बाहिर जाने?,’ उनले भने, ‘नवौं तहमा बढुवा भएदेखि नै मैले वीरमै बस्ने प्रयास गरें। म यहाँ पढाउँछु पनि। नेपाली/विदेशी विद्यार्थी छन्, बिरामी हेर्नु पर्ने छ। विद्यार्थीको थेसिस गाइड पनि छु, म हिँडेपछि विद्यार्थी अलपत्र पर्छन्।’
आफू नवौं तहमा बढुवा भएपछि देशमा दुई सरकार बने पनि पोस्टिङ गर्न आलटाल गरेको उनले बताए। ‘मन्त्रालयका पदाधिकारीले मुख खोलेर घुस मागेका होइनन्,’ राजीनामा पत्रमा उल्लेख गरेको घुसको सन्दर्भमा सेतोपाटीको जिज्ञासामा उनले भने, ‘मन्त्रालय बाहिर घाम तापेर बस्ने धुपौरेहरु हुन्छन् नि, हो तिनीहरुले डाक्टरसाप अलिकति लचिलो हुनुपर्यो भने।’
घुस माग्नेहरू को हुन् त?
अधिकारीले मुखै खोलेर घुस माग्नेको नाम थाहा नभएको र मोबाइल नम्बर पनि नलिएको बताए।
‘एउटा बूढी मरी भन्नेमा पीर होइन, पीर त काल पल्कियो भन्नेमा हो,’ उनले भने, ‘सही कुरा मैले भन्न सक्नुपर्छ। बाहिर ल्याउन सक्नुपर्छ। होइन भने यस्तो घुस माग्ने र चाकडी खोज्ने प्रवृत्ति दोहोरिन्छ।’ आफूलाई वीर अस्पतालमै पोस्टिङ गर्न स्वास्थ्य मन्त्रालयको पहिलेकी सचिव पुष्पा चौधरी र अहिलेका निमित्त सचिव सुशीलनाथ प्याकुर्यालले पनि सहयोग नगरेको उनले आरोप लगाए।
‘वीरमै रिक्त रहेको दरबन्दीमा पोस्टिङ गरिदिनुस् भनेर धेरै पटक मन्त्रीजीलाई भेटेर जानकारी गराएँ। सचिवहरुलाई भने तै पनि कसैले पहल गरेन,’ उनले भने।
आफूलाई २०६७/०६८ सालमा उत्कृष्ट चिकित्सकको रूपमा सम्मानित गरेको प्रसंग निकाल्दै डाक्टर अधिकारीले वीर अस्पतालमा न्यूरो सर्जरीको कार्यक्रम (एनसीएस) सञ्चालनलाई निरन्तरता दिन, सेवा विस्तार गर्न सघाउनुको सट्टा घोक्रेठ्याक लगाएर उपत्यकाबाहिर पठाउन खोजिएको बताए।
‘वीरको सेवा वृद्धि गर्नुपर्ने, डाक्टरलाई पुरस्कृत गरेर राख्नुपर्नेमा तँ जाँ भनेर घोक्रेठ्याक लगाइन्छ भने यो कति युक्तिसंगत हो?,’ उनले प्रश्न गरे।
मेडिकल अफिसर हुँदा जिल्ला जिल्लामा पुगेर सेवा गरेको उनको भनाइ छ।
‘सेवा निवृत्त हुने बेलामा वीरमै बस्छु भन्दा के यो अपराध हो?,’ उनले भने।
जागिरे जीवनको उत्तरार्धमा मन्त्रालयले पोस्टिङ नगरेकोप्रति रुष्ट अधिकारीले गरुँगो मन लिएर राजीनामा दिन मन्त्रालय जानु पर्ने अवस्था आउनु दु:खद भएको बताए।
‘म वीर अस्पतालमा बिरामीसँग, विद्यार्थीसँग नै खुसी हुन्छु। यस्तो खुसी त प्रशासन क्षेत्रमा कहिल्यै मिल्दैन,’ उनले भने।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको सचिवालयले भने स्वास्थ्य ऐनअनुसार डाक्टर अधिकारीलाई वीर अस्पतालमा पोस्टिङ गर्न नमिल्ने जनाएको छ।
‘स्वास्थ्य ऐनमा बढुवासँगै सरूवा हुनुपर्ने उल्लेख छ। सरूवा भएको ठाउँमा गएर हाजिर नगरेसम्म बढुवाको सेवा सुविधा दिन मिल्दैन,’ यादवका प्रेस सल्लाहकार महेश चौरासियाले सेतोपाटीसँग भने, ‘खटाएको ठाउँमा एक दिन भए पनि गएर हाजिर गर्नुस् अनि वीर अस्पतालमा ल्याउँला भने पनि डाक्टरसापले मान्नुभएन। वीरबाट अन्त जान्न भन्नुहुन्छ।’
ऐन मिचिने गरी डाक्टर अधिकारीलाई वीरमा पोस्टिङ गर्न नसकिने मन्त्रालयले जनाएको छ।
‘मन्त्री र सचिवले एक दिन भए पनि पोस्टिङ भएको ठाउँमा हाजिर गर्नुस् भन्नुभएको हो, उहाँले वीर अस्पताल छोड्न मान्नुभएन,’ उनले भने, ‘हामी पूर्वाग्रही भएका छैनौं, घुसको आरोप लगाउनु पनि शोभनीय हुन्न।’