विनियोजित बजेट कार्यान्वयनको लागि चाहिने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको मन्त्रालयगत चौमासिक प्रगति समीक्षापछि बोल्दै मुख्यमन्त्री पोखरेलले अहिलेसम्म देखिएका समस्या समाधान गरी बजेट कार्यान्वयनका लागि आधारभूत संरचना तयार गरेर अघि बढ्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका हुन्।
बजेट कार्यान्वयनका लागि चाहिने डिभिजन, निर्देशनालय, कार्यविधि, निर्देशिका र कर्मचारीको व्यवस्थापन तोकिएको समयसीमाभित्र व्यवस्थापन गर्न मुख्यमन्त्रीले निर्देशन दिएका हुन्।
डिभिजन र निर्देशनालय स्थापना गर्न बाँकी रहेकालाई तत्काल स्थापना गर्न र त्यहाँ आवश्यक कर्मचारीको व्यवस्थापन पूर्णरूपमा हुन नसके पनि कार्यालय सञ्चालनको लागि व्यवस्थापनको उपाय अवलम्बन गर्न, कार्यविधि र निर्देशिका बनाउन बाँकी रहेका जति सबै बनाउन मुख्यमन्त्रीले निर्देशन दिए।
समीक्षा बैठकमा मन्त्रालयहरूले जनशक्ति र संगठन संरचना व्यवस्थापन नहुँदा बजेट कार्यान्वयनका लागि समस्या परेको प्रतिवेदन प्रस्तुत गरेका थिए। मुख्यमन्त्री पोखरेलले जुनसुकै समस्याको समाधानको लागि वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि बजेट कार्यान्वयनको लागि आधारभूत आधार तयार गर्न निर्देशन दिएका हुन्।
‘अबको चार महिना बजेट कार्यान्वयनको निर्णायक समय हो, बजेट कार्यान्वयनका लागि चाहिने आधारभूत कुरामा अल्झिने हो भने प्रभावकारी काम देखाउन सकिँदैन, समस्या समाधानको लागि सबै उपाय अवलम्बन गरौं,’ मुख्यमन्त्री पोखरेलले भने ।
मुख्यमन्त्री पोखरेलले मन्त्रालयबीच समन्वय बढाउन पनि निर्देशन दिए।
‘कुनै योजना, आयोजना अघि बढाउँदा समस्या आएर अन्यौल भए सचिव, मन्त्री नै पुगेर समस्या समाधान गर्न र समाधानको लागि आवश्यक परे मुख्यमन्त्री कार्यालयलाई तत्काल जानकारी दिने गरौं,’ उनले भने।
त्यसैगरी बहुवर्षीय ठेक्का दिनुअघि आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिएर मात्रै अघि बढाउन पनि मुख्यमन्त्री पाखेरेलले निर्देशन दिए।
‘यसो गर्दा बजेटमा समस्या नपर्ने र आयोजना तोकिएको समयमा पूरा नहुने समस्या हट्छ,’ उनले भने।
‘समस्या देखाएर पन्छिने छुट हामीलाई छैन, ‘जनअपेक्षा पूरा गर्न बजेट कार्यान्वयन पूर्णतः हुनैपर्छ।’