गत असोज ४ गते सुनसरीको हरिनगरा-२ का खुर्सिद आलमको हत्यामा संलग्न व्यक्तिहरूको पहिचान नहुँदै सुनसरीमा बुधबार अर्का व्यक्तिको हत्या भएको छ। दुहबी नगरपालिका वडा नम्बर ९ का ५४ वर्षीय फिदा हुसेनको बुधबार बिहान गोली हानी हत्या भएको हो।
उनी कांग्रेसबाट सो वडामा निर्वाचित वडाध्यक्ष मेहेदी हुसेनका भाइ हुन्। मर्निङ वाकका क्रममा बिहान साढे ६ बजे उनको हत्या भएको थियो। मोटरसाइकलमा आएका दुई हतियारधारीले दुहबी बजारको केही पर नरहको डिलमा हुसेनलाई गोली हानेका थिए।
मुस्लिम बाहुल्य यी दुबै क्षेत्रमा दुई महिनाभित्र दुई मुस्लिम समुदायका व्यक्ति हत्यामा संलग्नहरूबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।
हुसेन दुहबी-९ कै जयबाबा इँटा उद्योगमा कार्यरत थिए। एकपछि अर्को हत्या भएको भन्दै मुस्लिम समुदाय त्रस्त छ। दुहबीमा आफन्त तथा स्थानीयले प्रदर्शन गरिरहेका छन्।
हुसेनको हत्या हुने अघिल्लो दिन प्रहरीले मोरङ र सुनसरीका विभिन्न स्थानमा छापा मारेको थियो। भारतबाट हतियार भित्रिने गरेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरीको विशेष टोली र सुनसरी प्रहरीको टोलीले केही समययता मोरङ-सुनसरीमा संयुक्त अनुसन्धान गरिरहेको छ।
हुसेन हत्याको अघिल्लो दिन मंगलबार विराटनगरबाट हतियार बरामद भएको प्रहरीले जनाएको छ। सुनसरी-मोरङमा हतियारधारीहरू सक्रिय रहेको पाइएपछि प्रहरीको विभिन्न टोलीहरू परिचालित छ।
सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले भने, ‘मंगलबार विराटनगरबाट हतियार बरामद भएको हो, दुई चार दिनको फरकमा सुनसरी-मोरङबाट चार वटा हतियार बरामद भएको छ।’ तर, प्रहरीले हतियारसहित पक्राउ परेका व्यक्तिहरूबारे खुलाएको छैन।
ती हतियारधारीहरूको ‘कनेक्सन’ हुसेन हत्यामा जोडिएको आशंकामा प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ। नेपाल-भारत दुई देशको खुल्ला सिमाका कारण पनि आपराधिक गतिविधि बढेको आशंका गरिएको छ।
मंगलबार हतियार भित्रिएको सूचना आएपछि खनारको एक घरमा प्रहरीले छापा मारेको थियो। तर, केही पत्ता नलाग्दै बुधबार बिहान हुसेनको हत्या भयो।
खनारमा छापा मार्दा एक जनालाई पक्राउ गरिएको सुनसरी प्रहरी स्रोतले बतायो। ती व्यक्तिमाथि अनुसन्धान भइरहेको छ।
भारतबाट हतियारधारीहरू भित्रिएकोबारे खोजी र अनुसन्धान हुँदाहुँदै दुहबीमा मुस्लिम व्यक्तिको हत्या हुन पुगेको प्रहरी स्रोत बताउँछ। घटनापछि प्रहरीले चारैतिर खोजी तीब्र पारेको छ।
फिदालाई गोली हान्नुमा उद्योगमा चन्दा मागेको विषय हो या व्यक्तिगत ‘इबी’ हो अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले बताए।
मुस्लिम समुदायका व्यक्तिको शृंखलाबद्ध हत्या हुनुमा ‘रहस्य’को आशंका गरिएको छ। तर, हत्यारा खोजी र प्रदर्शनकारीहरूको व्यवस्थापनमा जुटेको प्रहरीले विस्तृतमा बताएको छैन।
रिजालले सेतोपाटीसँग भने, ‘हामीले सबै नाकाहरूमा प्रहरी परिचालन गरेका छौं, अहिले पीडित पक्ष र प्रदर्शनकारीको व्यवस्थापनमा बढी केन्द्रित भएकाले मैले विस्तारमा भन्न सक्ने अवस्था रहेन।’
हुसेनलाई गोली हानिएको क्षेत्र दुहबी पश्चिम नेपाल प्रहरीको सशस्त्र प्रहरी दंगा नियन्त्रण गणको उत्तर-पश्चिम हो। दुहबी-इनरुवा सडक खण्ड नजिकै हो। दुहबी र इनरुवाबीच विभिन्न ठाउँमा प्रहरीका बिट छन्।
विराटनगरबाट हतियार आएको हो भने राजमार्ग छोडेर हतियारधारीले भित्री सडक प्रयोग गर्न सक्ने प्रशस्तै सम्भावना छन्। तर, विराटनगर र दुहबी खण्डको कोसी राजमार्गमै प्रहरी बिटहरू र इलाका प्रहरी कार्यालय छन्। तिनीहरूले राजमार्ग क्षेत्र तथा भित्र-बाहिर गस्ती गर्छन्। दुहबी र मोरङ जोड्ने बुढीखोलाको नजिकै नेमुवामा इलाका प्रहरी कार्यालय छ।
त्यसले राजमार्ग तथा भित्री सडकहरूको निगरानी गर्न सक्छ। विराटनगरकै बरगाछी, कञ्चनबारी, आयल निगम, टंकसिनवरीमा प्रहरीका बिट छन्।
बुढी खोला तरेपछि दुहबीमा इलाका प्रहरी कार्यालय छ। दुहबी पश्चिम राजमार्ग प्रहरीको चहलपहल भइरहने क्षेत्र हो।
दुहबीउत्तर खनार र इटहरीमा प्रहरीको पहरा दर्बिलो छ। यहाँ नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल २४ घन्टै खटिरहेको हुन्छ।