नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेस अब सामूहिक नेतृत्वबाट चल्ने बताएका छन्।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अहिलेसम्मको नेतृत्व समकालीन भएकाले अब सामूहिक नेतृत्व आवश्यक रहेको स्पष्ट पारे।
‘अब पार्टिभित्र सामूहिक नेतृत्व हुनुपर्छ र संस्थागत विकासको प्रकृयालाई प्राथमिकता दिनुपर्छ, उनले भने ‘पार्टी हाम्रो परम्परागत हुकुमी प्रवृत्ति र हाकिमी शैलीबाट भन्दा सामूहिक नेतृत्वको पद्धतिमा जानुपर्छ।’
पदाधिकारी निर्वाचित हुँदा सभापतिको अधिकार र मर्यादामा कही आँच आउने र कमजोर हुने नभइ पार्टी झनै सशक्त र बलियो बन्ने उनले दाबी गरे।
पार्टी सभापति देउवाको शैली र व्यवहारको विरोध गर्ने नेता केसीले सभापतिको मानमर्दन गर्न नहुने भन्दै बचाउ गरे।
‘पार्टी सभापतिको अधिकारलाई कमजोर बनाउँदा पार्टी नै कमजोर हुने भएकोले सभापतिको अधिकारलाई सशक्त बनाउनु पर्छ।’
पूर्व मन्त्रीसमेत रहेका नेता केसीले पार्टी व्यक्तिमुखी नभई नीति र संस्थामुखि हुनुपर्ने बताए।
कांग्रेस अहिलेसम्म पार्टीभित्रकै अलमलमा अड्किएको स्वीकार गर्दै उनले महासमितिको बैठकपछि नयाँ संरचनाबाट अघि बढ्ने दाबी गरे। उनले सरकारको नेतृत्व अधिनायकवाद र सर्वसत्तावादी सोचबाट अगाडि बढेको आरोप लगाए।
सरकारको नौ महिने कार्यकाल शून्य भएको दाबी गर्दै सरकार संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको विपक्षमा रहेको आरोप लगाए।
‘सरकारको नौ महिनाको परिणामलाई हेर्ने हो भने उपलब्धि शून्य छ,’ उनले भने ।
नेता केसीले लोकतान्त्रिक गणतन्त्रका जुन मौलिक पक्षहरू छन् त्यसलाई कार्यान्वयन गर्ने पक्षमा ढिलासुस्ती मात्र होइन सरकार अनिच्छुक देखिएको आरोप लगाए।
‘संघीयताको जुन मर्म छ त्यो मर्मविपरित एउटै पार्टीका सरकार हुँदाहुँदै पनि केन्द्र र प्रदेशमा द्वन्द्व देखिएको छ यसले स्वयं सरकार नै संघीयताको कार्यान्वयनको पक्षमा छैन भन्ने प्रष्ट भएको छ,’ नेता केसीले भने ।
शान्ति सुरक्षा नहुँदा हत्या हिंसा र बलात्कार जस्ता जघन्य अपराधिक घटना घट्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसकेको उनले बताए ।