कपिलवस्तुको सुद्धोधन गाउँपालिका ५ का राजाबाबु भन्ने दिपेन्द्र कुमार कुर्मीको हत्या विरोधमा कपिलवस्तु दिनभर तनावग्रस्त बन्यो।
स्थानीय युवाको हत्या भएको भन्दै आक्रोशित एक समूहले सुद्धोधन ४ मोतीभारीका अजित पाण्डेको घरमा आगजनी गरेको छ।
हत्या गरिएका दिपेन्द्रका भाइसँग स्थानीय अजित पाण्डेको विवाद र कुटपिट भएको र सोही कारण अजितले दिपेन्द्रको हत्या गरेको स्थानीयले दाबी गरेका छन्।
पाण्डे फरार छन् भने उनका दुई दाजुभाइलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
मृतकका परिवार तथा आफन्तले फरार अजितलाई प्रहरीले पक्राउ नगर्दासम्म कुर्मीको शव नबुझ्ने जनाएका छन्। हत्यापछि शनिबार दिनभर प्रदर्शनमा उत्रिएको आक्रोशित भीडले आरोपित पाण्डेको घर, ट्याक्टर र धान काट्ने कम्पाईन मेशिनमा आगजनी गरेका छन्।
आक्रोशित समूह तोडफोड र आगजनीमा उत्रिएपछि अवस्थालाई नियन्त्रलण गर्न प्रहरीले दर्जन बढी हवाई फायर, अश्रु ग्याँस र गोली प्रहार गरेको छ।
प्रहरी र प्रदर्शनकार बिचमा झडप हुँदा दुवैतर्फका दर्जन बढी घाइते भएका छन्।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्यूतम् प्रसाद पुडासैनीले दुई जनालाई पक्राउ गरी हत्याका बारे थप अनुसन्धान शुरू गरिएको बताए।
आक्रोशित भीडले आरोपी पाण्डेको सुद्धोधन गाउँपालिका लवनी चोकमा रहेको आयल सेन्टरमा आगजनी गर्नसक्ने भन्दै त्यसको सुक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी, शशस्त्र प्रहरी परिचालन गरेको छ।
३० वर्षिय कुर्मी गत प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए।
शुक्रबार राति करिब साढे आठ बजेको समयमा घरतर्फ जाँदै गरेका कुर्मीलाई मोटरसाईकलमा आएको समूहले लवनी चौराहामा गोली प्रहार गरी भागेको थियो। प्रहरीका अनुसार कुर्मीको टाउकोमा ४ राउण्ड गोली प्रहार गरिएको थियो।