‘मेरो पार्टी सरकारमा छ। जनता सोध्छन्, वाइड बडी जहाज कसले खायो भन्नु?’
संसदको सार्वजनिक लेखा समितिको आइतबार बैठकमा नेकपा सांसद प्रेम आलेले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारवाही सिफारिस गर्न माग गरे।
आले जस्तै अर्का नेकपा सांसद अमनलाल मोदीले पनि कंसाकारलाई कारवाही गर्न सिफारिस गर्नुपर्नेमा जोड दिए।
एयरबस कम्पनीका दुइटा वाइड बडी जहाज खरिदबारे छलफल गर्न समितिले आइतबार कंसाकारसहित वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र पर्यटन सचिव कृष्ण देवकोटालाई डाकेको थियो।
तर कंसाकारप्रति सांसदहरू आक्रामक शैलीमा प्रस्तुत भए।
बैठक सुरूआतमै सभापति भरतकुमार शाहले विचौलिया मार्फत खरिद गरिएको, सरकारले नयाँ खरिद गर्न अनुमति दिए पनि ठीक विपरित हजार घन्टा उडेको पुरानो जहाज किन्ने प्रक्रिया अगाडि बढाएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा भएको टिप्पणी प्रस्तुत गरे।
उनले समितिमा लिखित धारणा राख्दै वाइड बडी खरिदमा अनियमितता भएको बताए। एयरबसको जहाज र इन्जिन समेत तोकेर खरिद प्रक्रिया अगाडि बढाउनु सार्वजनिक खरिद ऐन विपरित भएको धारणा उनले राखे। पुरानो जहाज खरिद गर्दा ‘टेक्निकल सपोर्ट र मेन्टिनेन्स' गुमेको भन्ने महालेखाको प्रतिवेदनमा उल्लेख रहेको पनि बैठकमा जानकारी गराए।
‘दुई जहाज खरिद गर्दा प्रति जहाज ५ मिलियन डलर गरी १० मिलियन डलर किन बढाइयो’, समितिमा शाहले भने, ‘कमिशन, अधिकतम उडान भार कटौती र मुल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ। त्यसमा निगमको भनाइ के छ?’
पर्यटन सचिव कृष्ण देवकोटाले भने जहाज खरिदमा अपनाइएको प्रक्रिया मात्र ब्रिफिङ गरे।
देवकोटाले भने, ‘जहाज खरिद क्रममा ४/५ वटा सचिव र ४/५ जना मन्त्री भएका छन्। मैले जहाज छिटो ल्याउन ताकेता गरेको हो।’
कार्यकारी अध्यक्ष खरेलले भने खरिद प्रक्रियाबारे कुनै टिप्पणी गरेनन्। उनले वाइडबडी जहाज फ्रेबुअरी पहिलो सातादेखि जापानको ओसाका उड्ने र मार्च पहिलो सातादेखि चीनको ग्वान्जाओ उड्ने दावी मात्र गरे।
‘खरिद क्रममा संलग्न हुनु भएका महाप्रबन्धक हुनुहुन्छ’ भन्दै कंसाकार तर्फ देखाएर उनी उम्किए।
कंसाकारले जहाज खरिद माथि ब्रिफिङ गरे।
‘निर्माता कम्पनी एयरबसले टेन्डर भरेन’, समितिमा उनले भने, ‘त्रिभुवन विमानस्थलमा उत्रने विमानमा साठी प्रतिशत एयरबस छन्। हामीले बोइङ भन्दा एयरबसै किन्न बोलपत्र गरेका हौं। कम्पनीबाट सिधै नपाएपछि बोलपत्र गरेका हौं।’
कंसाकारले आफू वाइड बडी खरिद विषयमा ६ महिना बयानका लागि अख्तियार धाउनु परेको, जेल बस्नुपरेको बताए। साथै सर्वोच्च अदालतले आफूलाई सफाइ दिएको र व्यवसायिक काम गरेको भन्दै फैसलामै आफ्नो तारिफ भएको समितिलाई सगर्व सुनाए।
उनले वाइड बडी खरिद क्रममा शुक्ला नामका एक व्यक्ति १ सय १० पटकसम्म नेपाल आएर छलफल भएको बताए। साथै प्रक्रिया झन्झटिलो भएको उल्लेख गरे।
अहिलेको समयमा बोइङ किनेको भए आफू असफल सिइओका रुपमा विश्वभर चित्रित हुने अवस्था भएको भन्दै उनले वाइडबडी खरिद उचित निर्णय भएको दावी गरे।
हजार घन्टा उडेको विमान किन्न प्रक्रिया अगाडि बढाएपछि नयाँ ‘जिरो घन्टा’ उडेको पाएकोमा खुसी पनि व्यक्त गरे।
तर आफूलाई सफल र सर्वोच्चबाट तारिफ पाएको बताइरहेका कंसाकारप्रति सांसदहरू सकारात्मक बनेनन्।
कांग्रेस सांसद मिनेन्द्र रिजालले व्यङ्ग्य कस्दै भने, ‘सर्वोच्चले ‘क्रिमिनल लाइबलिटी’ होइन भन्नुको अर्थ तारिफ होइन।’
रिजालले सरकारी संस्थानको प्रक्रिया झन्झटिलो मानेर निगमको ‘एमडी’ बनिरहन नैतिकताले दिन्छ? भन्दै प्रश्न गरे। जहाज किन्न ऋण दिने संचयकोष र नागरिक लगानी कोषको रकम समेत जोखिममा पारिएको भन्दै उनले निगमको आलोचना गरे।
नेकपा सांसद अमनलाल मोदीले पनि कथा सुनाउँदै कंसाकारप्रति व्यङ्ग्य गरे।
‘श्रीमतीले श्रीमानलाई मासु किन्न भनेर एक हजार दिइछन्। तर श्रीमानले मासु ३ पाउ मात्र लिएर गएछन्। प्रश्न उठ्यो, कि श्रीमानले पैसा खाए। कि पसलेले पैसा खायो,’ मोदीले भने, ‘महालेखा प्रतिवेदनले खरिदमा अनियमितता भयो भनेको छ। कि बेच्नेले खायो कि किन्नेले खायो।’
उनले विमान खरिदमा भ्रष्टाचार भएको दावी गरे।
‘अदालतले सफाइ दियो होला’, मोदीले भने, ‘जनताले दिन्न।’
उनले कंसाकारलाई लक्षित गर्दै व्यापार योजना नबनाएकोमा असन्तुष्टि पनि जनाए।
‘तपाईं कसरी सफल सिइओ,’ मोदीले भने, ‘व्यापारमा घाटा भनेपछि फेलियर हुनु भएन?’
सांसद प्रेम आलेले एयरबसबाट सिधै नकिनी दलाल खडा गरेर दलाली भएको बताए।
‘दुईतिहाइ सरकार छ। सुशासनको कुरा गरेका छौं,’ आलेले भने, ‘देशलाई दलदलमा फसाएर पुरानो जहाज ल्याएर आँखामा छारो हाल्न लाज लाग्दैन? अझ सफल सिइओ रे।’
आलेले विमानको कार्गो क्षमता घटाइएको बताए। २४२ मेट्रिक टन भार क्षमताको जहाज किन्ने भने पनि पछि घटाएर २३० मेट्रिक टन क्षमताको जहाज भित्र्याइएको भन्दै उनले अनियमितता भएको बताए।
सांसद विरोध खतिवडाले मितको घोडा किन्न भने जसरी बोलपत्र गरेर जहाज किनेको आरोप लगाए।
सांसद धर्मशिला चापागाईंले विमान किनिएकोमा आशंका व्यक्त गरिन्।
‘भाडामा ल्याइयो भन्ने छ। कुरा के हो?’
बैठकमा सांसदहरूले प्रश्न गरेपछि पनि निगमका अध्यक्ष समेत रहेका पर्यटन सचिव देवकोटाले खासै जवाफ फर्काएनन्। उनले समितिलाई छानविनका लागि सुझाव मात्र दिए।
कार्यकारी अध्यक्ष खरेलले पनि कंसाकारले खरिद प्रक्रियाबारे जवाफ दिने बताए। निगमले सरकारसँग २० अर्ब माग गरेको र त्यो रकममध्ये १८ अर्ब ऋण तिर्न प्रयोग हुने उनले बताए।
‘अहिले मासिक ३२ करोड तिरिरहेका छौं,’ खरेलले भने, ‘सरकारले पैसा दिए ऋण र ब्याज तिर्ने योजना हो।‘
खरेलपछि सांसदको प्रश्नमा कंसाकार जवाफ दिन थाले। उनले हाइ फ्लाइ एक्स कम्पनी विमान खरिदका लागि श्रृजना भएको जवाफ दिए।
सांसदहरूले उक्त कम्पनीलाई विचौलिया भन्दै कमिसनका लागि प्रयोग गरिएको बताएका थिए।
निगमले सुरूआतमा एएआर कम्पनीसँग जहाज किन्ने सम्झौता गरेर पछि हाइ फ्लाइ कम्पनीसँग जहाज किनेको थियो।
कंसाकारले एयरबसले विमान दिन नसक्ने भएकाले स्लट किनेर बेच्नेहरूसँग किन्नुपर्ने बाध्यता भएको दोहोर्याए।
कति भार बोक्ने विमान आवश्यक रहेको भनेर नतोकिएको पनि दावी गरे।
‘हामीले २४२ मेट्रिक टन भनेर तोकेका थिएनौं,’ कंसाकारले भने, ‘उताको कम्पनीले दुई ठाउँमा फरक-फरक उल्लेख गरेको पाएपछि इमेलमा हामीले २४२ मेट्रिक टन क्षमताको माग गर्यौं। तर एयरबसले नै इमेलमा २३० मेट्रिक टन क्षमताकै उचित हुने जवाफ दिएको उनले बताए।
न्यारोबडी जहाज मात्र नेपालले उडाउँदा ‘इन्फेरियोरिटी’ महशुस भएको भन्दै उनले वाइड बडीमा गएको पनि बताए।
कंसाकारले जवाफ दिइरहे पनि सांसदहरूले फेरि प्रश्न सोध्न थाले।
सांसद धर्मशिला चापागाईंले भ्रष्टाचार भएको छ कि छैन भनेर सोधिन्।
जवाफमा कंसाकारले खरिद प्रक्रियामा निगमको बोर्ड बैठक र उपसमितिसहित १८ जना सामेल रहेको र भ्रष्टाचार नभएको दावी गरे।
सांसद अमनलाल मोदीले आफूलाई केन्द्रमा राखेर कंसाकारले जवाफ दिएको भन्दै महालेखाको प्रतिवेदनमा जवाफ दिन भने।
अर्का सांसद सूर्य पाठकले महालेखाको प्रतिवेदन गलत कि तपाईंको धारणा? भन्दै थप प्रश्न सोधे।
जवाफमा कंसाकारले भने, ‘महालेखालाई म कसरी गलत भन्न सक्छु?’
लगत्तै आले र मोदीले कंसाकारलाई कारवाही गर्नुपर्ने तर्क गरे। जवाफ दिन तम्सिएका कंसाकारलाई पर्यटन सचिव कृष्ण देवकोटाले रोके। बहस चर्किएपछि सभापति शाहले हचुवाको भरमा समितिले निर्णय नगर्ने भन्दै सांसदहरूलाई चुप लाग्न निर्देशन दिए।
शाहले आमन्त्रिततलाई बिदाइ गरे। समितिले कुनै निर्णय गरेन।
लेखा समितिले आगामी बैठकमा वाइड बडी जहाज खरिदकै विषयमा छलफल गर्ने भएको छ।
‘अर्को बैठकमा सार्वजनिक खरिदका सचिवलाई डाक्छौं,’ शाहले भने, ’११ गते १२ बजे अर्को बैठक बस्छ।‘