राष्ट्रिय जनता पार्टीको गत मंसिर ४ गते बसेको बैठकले एकाएक अध्यक्ष मण्डलको संयोजक परिवर्तन गर्यो। राजेन्द्र महतो बहुमतबाट अध्यक्ष मण्डलको संयोजक चयन भए। संयोजक महन्थ ठाकुर ‘कू’ मा परे। जबकी राजपा अध्यक्षमण्डलको हरेक निर्णय सर्वसम्मतमा गर्ने व्यवस्था विधानमा छ।
राजपाको विवाद यतिबेला व्यक्तिगत आरोप प्रत्यारोपको तहसम्म पुगेको छ। राजपा नेताहरु एक अर्का विरुद्ध लाञ्छनामा उत्रिएका छन्। महन्थ ठाकुर पक्षले संयोजकमा ‘कु’ गरिएको तर्क अगाडि सारेको छ। महतो पक्षले भने सहमतिमै नेतृत्व परिवर्तन भएको जनाएको छ।
सेतोपाटीसँगको कुराकानीमा राजपा नेता सुरेन्द्र झाले किर्ते गरेर ठाकुरलाई हटाउने काम भएको आरोप लगाए।
‘चार गतेको बैठक संयोजकको हैसियतमा ठाकुरले नै डाक्नुभएको हो’, झाले भने, ‘बैठकमा महिन्द्र राय यादवले चक्रिय प्रणाली अनुसार संयोजक परिवर्तनको प्रस्ताव ल्याउनुभयो। शरतसिंह भण्डारीले समर्थन गर्नुभयो।’
चक्रिय प्रणाली ब्यूताउनुपर्ने यादवको प्रस्तावमा राजकिशोर यादव र राजेन्द्र महतोले सहमति जनाएका थिए। लगत्तै ठाकुर असन्तुष्टी जनाउँदै बैठक कक्षबाट बाहिरिएका थिए। राजपा अध्यक्ष मण्डलका अर्का नेता अनिल झाले संयोजक परिवर्तनमा नोट अफ डिसेन्ट लेखेका छन्। उनी यतिबेला ठाकुरको पक्षमा उभिएका छन्।
तर, राजपा अध्यक्ष मण्डलका नेता महिन्द्रराय यादवले ‘सहमतिमै नेतृत्व परिवर्तन भएको’ सेतोपाटीसँग जिकिर गरे। ‘राजपामा कुनै समस्या छैन’, यादवले भने, ‘महन्थ ठाकुरले डाकेको र उहाँ सहभागि भएको बैठकले नेतृत्व चक्रिय प्रणालीमा लैजाने निर्णय गरेको हो।’
राजपाको विधानमा चक्रिय प्रणालीमा पार्टीको नेतृत्व गर्ने उल्लेख छ। पार्टी एकता गर्दा प्रत्येक दुई महिनामा राजपाको नेतृत्व परिवर्तन गर्ने सहमति भएको थियो। तर ठाकुर पार्टी एकता यता १ वर्ष ८ महिना राजपाको अध्यक्ष मण्डलको संयोजक रहेका थिए।
‘विधानमा चक्रिय प्रणालीको विषय थियो’, ठाकुर निकट नेता झाले सेतोपाटीसँग भने, ‘प्रभावकारी भएन भन्ने निष्कर्ष निकालेर गत असारमा बसेको राजनीतिक समिति बैठकले एकल अध्यक्षात्मक प्रणालीमा जाने निर्णय गरिसकेको छ। राजनीतिक समितिमा अध्यक्ष मण्डलका सबै नेता हुनुहुन्छ। उक्त निर्णयमा उहाँहरुको समेत हस्ताक्षर छ।’
झाले राजपाको विधानमा हरेक निर्णय सर्वसम्मतले गर्नुपर्ने व्यवस्था रहेको बताए। तर अध्यक्ष मण्डलको संयोजक परिवर्तन बहुमत भन्दा पनि किर्तेमार्फत् गरिएको आरोप झाले लगाए।
‘एउटा खाली कागजमा चार बुदेँ प्रस्ताव लेखेर ल्याइएको थियो। जसमा ठाकुरमाथि अभियोग समेत लगाइएको थियो’, झाले भने, ‘अनिल झाले नोट अफ डिसेन्ट लेख्नु भएको छ। त्यो सादा कागजलाई पछि काटेर पार्टीको लेटरप्याडसँग टाँस्ने काम भयो।’
उनले चार बुँदेको पहिलो बुँदामा पार्टीमा सामुहिक निर्णयको भावनालाई ठाउँ दिने र अनुशासन कायम राख्ने भनेर उल्लेख गरेर ठाकुरको लोकतान्त्रिक छविमाथि प्रहार भएको बताए। त्यस्तै पार्टी संगठनमा भएका नियुक्ती खारेजी गर्ने पद्दती गैर लोकतान्त्रिक भएको झाले बताए। ‘संयोजक परिवर्तन भए लगत्तै अघिल्लो निर्णय खारेज गर्ने पद्दती गलत हो’, झाले भने, ‘यस्तो पार्टीमा अब कोही भविष्य देखे किन आउँछ।’
ठाकुरले महाधिवेशन केन्द्रीत भएर आफू निकट र तमलोपा पृष्ठभूमी भएका नेताहरुलाई अगाडि बढाएको आरोप महतो निकट नेताहरुको छ।
तर ठाकुर निकट झा ले एकता अघिको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मात्र राजपा बन्न सकेको बताए। ‘नेताहरुले पार्टीमा गुट कायम राखेका कारण ‘मोर्चाकै स्वरुप’ मा पार्टी रहँदा समस्या उत्पन्न भयो’, उनले भने, ‘सबैलाई थाहा छ उहाहरुको पार्टीमा सालो, सम्धी मात्र छन्।’
उनले विगतमा आन्दोलनमा सहभागि भएकाहरुलाई ठाकुरले भूमिका दिएको बताए। झाले भने, ‘लोकतान्त्रिक नेता माथि अहिले आक्षेप र लाञ्छना लगाउने काम भएको छ।’
उनले राजपा संयोजक परिवर्तन सरकारमा सहभागिताका लागि भएको आशंका गरे। ‘मधेस आन्दोलनको माग सम्बोधन नभएसम्म सरकारमा नजाने चट्टानी अडानमा ठाकुर हुनुहुन्थ्यो’, झाले सेतोपाटीसँग भने, ‘सत्ता आरोहणको नियत देखिन्छ।’
राजपा अध्यक्ष मण्डलका नेता महिन्द्रराय यादवले भने सरकारमा जान लागेको भनाईको खण्डन गरे। ‘राजपा सरकारमा जाँदैन’, यादवले भने, ‘संविधान संशोधन नभएसम्म सरकारमा जाने अडानमा हामी यथावत् छौँ।’
यादवले महाधिवेशनको मिति तय भए पनि तयारी नगरिएपछि संयोजक परिवर्तनको अवस्था आएको बताए। ‘महाधिवेशन नै नहुने देखियो’, यादवले भने, ‘कामको गति सुस्त भयो।’
राजेन्द्र महतोलगायतका नेताहरु नियुक्तीमा ठाकुरले एकलौटी गरेको भन्दै पछिल्लो समय असन्तुष्ट थिए। प्रदेश २ को संसदीय दलमा ठाकुरले आफू निकट नेता जितेन्द्र सोनललाई दलको नेता तोकेका थिए। त्यस्तै प्रमुख सचेतक परमेश्वर झालाई बनाएका थिए। राष्ट्रिय सभामा पनि आफूनिकट वृशेषचन्द्र लाललाई पठाएका थिए। त्यस्तै आफ्नो सम्धी उमाकान्त झालाई प्रदेश ५ को प्रमुख बनाएका थिए।
ठाकुर निकट नेता झाले भने महाधिवेशन केन्द्रीत भएरै ठाकुरलाई संयोजकबाट हटाइएको दावी गरे। ‘अन्य नेताहरुलाई अध्यक्ष मण्डलमा पर्दैमा आफू ठाकुर बराबर भएको भ्रम परेको छ’, झाले भने, ‘महिन्द्र राय यादवले टेलिभिजनमा अन्तर्वार्ता दिएर ठाकुरमाथि लाञ्छना लगाउनुभयो।’
उनले पार्टी कब्जा गर्न चार नेताले निर्णय गरेको बताए। ‘बर्दिबासको होटल पावन मिथिलामा बसेर राजकिशोर यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी र महिन्द्रराय यादवले सहमति गरेको थिए’, झाले भने, ‘जीवनभर मूल्य मान्यताका लागि लडेका ठाकुरको तेजोबध गर्ने काम भएको छ।’
उनले महिन्द्रराय यादवले माफि नमागेसम्म राजपाको बैठकमा ठाकुर सहभागि नहुने दावी गरे। उनले ठाकुरबारे यादवले राखेको धारणाबारे राजेन्द्र महतोले पनि स्पष्ट पार्नुपर्ने तर्क गरे।
अध्यक्ष मण्डलका नेता यादवले भने ठाकुरको सम्मानमा पार्टीमा कुनै कमि नहुने दावी गरे। ‘उहाँलाई हामी सम्मान नै गर्छौँ’, यादवले सेतोपाटीसँग भने, ‘विधान अनुसारको च्रक्रिय प्रणालीलाई उहाँले सहज स्वीकार्नुपर्छ।’
उनले छिट्टै राजपाको बैठक समेत बस्ने दावी गरे। सोमबारका लागि डाकिएको राजपा बैठक अध्यक्ष मण्डलका नेता राजकिशोर यादव काठमाडौँ आइपुग्न ढिला भएका कारण सरेको यादवले बताए।