नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी आज नुवाकोटको ककनीमा छन्। नुवाकोट कांग्रेसले देशभरका पार्टी सभापतिलाई ककनी डाकेको छ। सभापतिहरू बुधबार र बिहिबार पार्टीको संघीय विधान र मंसिर अन्तिम साता हुने महासमिति बैठकबारे सामूहिक धारणा बनाउन छलफलमा जुट्नेछन्।
भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेले दुवै पक्षका सभापति सहभागी छन्।
‘पार्टीको संशोधित विधान मस्यौदाको प्रतिवेदन दुई खालको छ। फरक मतलाई पनि समावेश गरिएको छ। सकेसम्म एउटै धारणा बनाएर सभापतिहरू अघि बढ्नुपर्छ भन्ने हो,’ केसीले सेतोपाटीसँग भने, ‘पार्टीलाई मात्रै सुधारेर पुग्दैन। कांग्रेसको काँधमा देश बनाउने दायित्व त छँदैछ। सशक्त प्रतिपक्षीका लागि सदन र सडकमा उठाउने एजेन्डाबारे पनि हामी छलफल गर्छौं।’
भेलामा सहभागी हुन अधिकांश जिल्ला सभापति ककनी आएको उनले बताए।
‘यो भेला कुनै गुट या उपगुटलाई फाइदा पुग्ने गरी आयोजना गरिएको होइन,’ उनले भने, ‘हामी गुटविहीन कांग्रेस बनाउन चाहन्छौं। यदि गुट भयो भने एउटै हुन्छ, जनताको पार्टी कांग्रेस।’
तनहुँ कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले असारमा हेटौंडामा सम्पन्न कांग्रेस सभापति भेलाका निर्णय पार्टीको संघीय विधानमा समेटिएका छन् या छैनन् भन्नेबारे ककनीमा समीक्षा हुने बताए।
हेटौंडा भेलाले पार्टीमा मनोनित संख्या घटाएर निर्वाचित राख्न जोड दिएको थियो।
‘हेटौंडा भेलाको सुझाव विधानमा समेट्नुपर्छ। चुनावमा अनपेक्षित हार भोगेपछि पार्टीको संगठन सशक्त हुन सकेन। कारण खोज्छौं,’ आलेले सेतोपाटीसँग भने, ‘केन्द्र सरकार, प्रदेश र स्थानीय तहमा सशक्त प्रतिपक्षको भूमिकामा पार्टी चुकेको भन्ने छ। सबैको कुरा सुनेर सुधारका लागि सामूहिक धारणा बनाउँछौं।’
उनले क्रियाशील सदस्यता खारेज गर्ने बहसमा तुक नभएको बताए।
‘कांग्रेस मास बेस पार्टी हो। तर यसका क्रियाशील सदस्य पनि छन्। अप्ठेरोमा पर्दा क्रियाशील सदस्यले नै पार्टी बचाएको कुरा बिर्सनहुन्न,’ उनले भने, ‘चार प्रकृतिको सदस्यता वा साधारण सदस्यता भन्ने बहसभन्दा अहिलेकै दुई प्रकृतिको सदस्यता ठीक छ। क्रियाशीलमा विवाद भयो भनेर यसलाई हटाउने हो र? नेतृत्वले त विवाद मिलाउन सक्नुपर्यो नि।’
भेलामा पार्टीको विधान लोकतान्त्रिक छ/छैन भन्नेबारे गम्भीर बहस हुने उनले बताए।
‘नेता व्यवस्थापन गर्ने गरी विधान बनाउने होइन। कुन नेतालाई कहाँ राख्ने भनेर बहुपद बनाउने कुरा ठीक होइन,’ कांग्रेस विधानमा तीन/तीन जना उपसभापति, महामन्त्री, सहमहामन्त्री राख्ने फरक मतबारे उनले भने, ‘संगठनलाई विधिसम्मत चलाउनुपर्यो। पार्टी विधिअनुसार चल्नुपर्छ, व्यक्तिले चलाउने होइन।’
कांग्रेस कैलालीका सभापति नरनारायण शाहका अनुसार पार्टीको विधान अध्ययनका लागि जिल्ला सभापतिलाई दिइएको छैन।
‘पार्टीको विधान बनाउन दिनदिनै नेताहरू बैठक बसेको सुन्छु,’ उनले भने, ‘विधान कस्तो बनाएका छन्, हामीलाई थाहा छैन। तर हामीले मनोनितलाई प्राथमिकता दिन हुन्न भनेर प्रदेश भेलामा सुझाव दिएका थियौं।’
शाहका अनुसार केन्द्र पार्टीले प्रभावकारी प्रतिपक्षीको भूमिका खेल्न सकेको छैन। अलमलिएको छ। स्थानीय तहमा संगठन विस्तारदेखि जनअपेक्षाअनुसारका काममा आफूहरू सक्रिय भएर लागेको उनले बताए।
‘क्रियाशील सदस्यतालाई व्यवस्थित गर्नुपर्छ।विवाद भयो भनेर यसलाई फ्याँक्ने होइन,’ उनले भने, ‘जिल्ला सभापतिको कुरा सुनेर पार्टीलाई थप सशक्त बनाउनुपर्छ। पार्टी कहाँ कमजोर भयो र के गर्दा सुधार हुन्छ भन्ने सभापतिलाई जानकारी हुन्छ।’
धादिङ कांग्रेस सभापति रमेश धमलाका अनुसार पार्टीलाई अझै लोकतान्त्रिक बनाउन जिल्ला सभापतिहरूले सामूहिक धारणा तय गर्नेछन्।
‘सहमतिकै आधारमा पार्टीलाई कसरी अघि बढाउन सकिन्छ भन्ने तय गर्न हामी एकजुट भएका छौं,’ धमलाले भने, ‘धेरै विषय महासमितिमा छलफल हुन्छ। अहिले विधान कस्तो बन्दैछ भन्नेमा हाम्रो छलफल केन्द्रीत हुन्छ।’
आयोजक नुवाकोट कांग्रेस सभापति जगदीशश्वरनरसिंह केसीले पार्टी विधानबारे जिल्ला सभापतिको समान धारणा बनाइन्छ।
‘केन्द्रीय सदस्यले विधानबारे दुई थरी कुरा गरिराख्नुभएको छ। हामी उहाँहरूलाई एकै ठाउँमा उभिनुस् भन्ने सन्देश ककनी भेलाबाट दिन्छौं,’ केसीले सेतोपाटीसँग भने, ‘फरक मतलाई पनि स्थान दिएर सहमतिमै विधान तयार गरी महासमिति बैठकमा लैजानुपर्छ।’
उनले प्रत्यक्ष निर्वाचित पदाधिकारीले मात्र कांग्रेस हाँक्नु पर्नेमा जिल्ला सभापतिहरू रहेको बताए। ‘पार्टीका हरेक निकायमा मनोनित गर्ने विधान हामीले फेर्नुपर्छ, प्रत्यक्ष निर्वाचित विधान राखियो भने संगठन थप बलियो हुन्छ,’ उनले भने, ‘महासमिति बैठकमा कसरी पेश हुने भन्नेबारे पनि साझा धारणा तय गर्छौं।’
पार्टी विधान उल्लंघन गर्नेलाई कारबाही गर्न अनुशासन समिति र टिकट वितरण गर्ने संसदीय बोर्ड स्थायी प्रकृतिको बनाउन सकिने एजेन्डामा पनि छलफल हुने उनले बताए।
‘विधानविपरीत काम गरे सभापतिलाई पनि कारबाही गर्न सक्ने अनुशासन समिति बनाउनुपर्छ भन्नेमा हामी छौं,’ केसीले भने, ‘अनुशासन समितिका साथीहरूले पार्टीमा अरू जिम्मेवारी लिन हुन्न।’
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान मस्यौदा समितिमा रहेका रोल्पा कांग्रेसका सभापति अमरसिंह पुन र ललितपुरका मदन अमात्यले ककनी भेलामा विधानमा समेटिएका र छलफलमा आएका विषय राखेपछि सहभागीले आफ्ना धारणा राख्ने कार्यक्रम छ।