मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन हुँदै थियो। एक पत्रकारले सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटालाई प्रश्न सोधिन्, ‘सर, आमजनताको ठूलो गुनासो छ। विवादित संस्थासँग सरकारको के कारणले सहमति…’
प्रश्न सकिएकै थिएन, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले हस्तक्षेप गरे।
‘तपाईं कुन मिडियाबाट?’
पत्रकारले आफ्नो परिचय दिइन्, 'जनता पब्लिकेसन्स अनलाइनबाट, नेहा रौनियार।’
उनी प्रश्न सोध्न थालिन्, ‘यसमा ठूलो विवाद भइरहेको छ नि सर।’
मन्त्रीले सोधे, 'के मा? विवाद के मा? एउटा दृष्टान्त दिनुहोस्।'
रौनियारले अगाडि भनिन्, ‘विवाद तपाईंलाई थाहा छैन?’
बास्कोटाले प्रतिप्रश्न गरे, ‘विषय उठाएपछि विवादको कुरा के त? मैले थाहा पाउनुपर्छ भन्ने छैन। तपाईंले विषय उठाएपछि भन्नुस्, विवादको चुरो कुरो के हो?’
'सरकार, सह-आयोजक छ नि!'
मन्त्रीले ठाडो जवाफ दिए, ‘सरकार सह-आयोजक छ भनेर कसले भन्यो? मैले भनिरहेको छु, सरकार सह-आयोजक छैन।’
रौनियारको प्रश्न एसिया प्यासिफिक समिटबारे थियो। यसको आयोजना युनिभर्सल पिस फाउन्डेसनले गरेको हो। यो विश्वभरि धर्म परिवर्तन गराउने गैरसरकारी संस्थाका रूपमा चिनिएको छ। यही कार्यक्रममा सरकार सह-आयोजक रहेकोबारे उनले प्रश्न सोधेकी थिइन्।
सञ्चारमन्त्री बास्कोटाले भने प्रश्नै पूरा सुनेनन्। बीचैमा हस्तक्षेप गर्दै खनिन थाले। पत्रकारिताको पाठ पनि पढाए। प्रश्न सोध्ने पत्रकारलाई हकार्दै भने, ‘विचित्र विचित्रको कुरा … समाचार भेरिफाई गर्ने कोशिस पनि गर्नुहोस्।’
उनले आफ्नो विषयमा बिहीबार पत्रिकामा आएका समाचार खण्डन गरे। त्यसैमा जोडेर कार्यक्रममा उपस्थित सबै पत्रकारलाई पत्रकारिता सिकाउन थाले। त्यति बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल सँगै थिए।
‘आज एउटा ठूलो अंग्रेजी पत्रिकाले निर्मलाको विषय उठायो, मलाई जोडेर,’ बास्कोटाले भने, ‘कहीँ भेरिफाई गर्नुभएको छ?’
अंग्रेजी दैनिक 'द काठमाडौं पोस्ट' ले बिहीबार निर्मला पन्तको बलात्कार र हत्यापछि सञ्चारमन्त्री बास्कोटाले यो प्रकरणबारे समाचार रोक्न निर्देशन दिएको समाचार प्रकाशित गरेको थियो। बास्कोटा त्यही समाचार खण्डन गर्न थाले।
‘क्रस-भेरिफाई पनि गर्नुपर्छ होला नि,’ उनले भने, ‘अस्ति अर्कोले सम्पादकीयमा फोटो टाँस्यो, कहीँ भेरिफाई गर्नुभएको छ?’
उनले पत्रकारितालाई 'रेस्लिङ' सँग तुलना गरे। भने, ‘हाम्रो पत्रकारिकता रेस्लिङजस्तो छ। रेस्लिङमा वास्तवमा कुस्ती खेलेको हुन्न। मारमुर गरेर ज्यानै जान्छ जस्तो ‘रियल’ बनाएर प्रिजेन्ट गरेको हुन्छ। 'केरफेइब' भन्छ त्यो तरिकालाई। हाम्रोमा पनि 'केरफेइब' पत्रकारिता विकास हुन थालेको छ।'
उनले 'सरकारी निकाय र सार्वजनिक पद धारण गरेको व्यक्ति मात्र जिम्मेवार हुनुपर्ने हो?' भन्दै प्रश्न गरे।
‘पब्लिकले पनि बिहान उठेर १० रुपैयाँ तिरेर कुनै पत्रिका किन्छ। पढ्छ, ज्ञान लिन खोज्छ। सूचना लिन खोज्छ। के ऊप्रति पत्रिकाको जिम्मेवारीबोध हुँदैन? असत्य कुरा कतिञ्जेल टिक्छ?’
मन्त्री बास्कोटा यहीँ रोकिएनन्।
‘कुनै दिन यो उदाङ्गिन्छ। हाम्रो मिडिया एक प्रकारको खतरा …’ बास्कोटाले भने, ‘राइट टू इन्फरमेसनको कुरा हामीले उठाइरहेका छौं भने त्यो नागरिकले पनि पाउनुपर्छ। यस्तो फेक न्युजले फ्रिडम अफ एक्सप्रेसन पनि खतरामा पर्न जान्छ।’
उनले पत्रकारले सल्लाह गरेर समाचार पकाउने गरेको आरोप लगाए।
‘एउटा सल्लाह गर्यो। यस्तो ठोक्दिम्,’ बास्कोटाले पत्रकारिताबारे टिप्पणी गर्दै भने, ‘कुकिङ र मेकिङ गर्ने।’
मिडिया पूर्वाग्रही भएको आरोप लगाउँदै उनले भने, ‘पूर्वाग्रहको पनि सीमा हुन्छ। तथ्यपरकताको नाङ्गो उल्लंघन भइरहेको छ। कुनै स्रोत छैन। स्रोतले बतायो पनि छैन। हार्वड पढेर आएको हो कि कहाँ कहाँ पढेर आएको हो, अब अंग्रेजीमा लेखेको कुरा त झन्। यस खालको कुरा नगरौँ।’
पत्रकारलाई पाठ पढाएपछि मन्त्री बास्कोटा पुन: पत्रकार रौनियारको प्रश्नमा फर्किए, ‘तपाईंले व्यापक विवाद छ भन्नुभयो। सरकार आयोजक, सह-आयोजक केही हैन।’
पत्रकारिता सिकाइरहेका बास्कोटाले यहाँ हाकाहाकी झुट बोले। एसिया प्यासिफिक समिट रिपोर्टिङ गर्ने पत्रकारलाई वितरण गरिएको पासमै सरकारको ‘लोगो’ प्रयोग गरिएको छ।
मन्त्री बास्कोटाले उक्त कार्यक्रममा एसियाली राजनीतिक दलहरू सहभागी संस्था 'आइक्याप' समेत आयोजक रहेको भन्दै सरकारको बचाउ पनि गरे।
त्यसपछि निर्मला प्रकरणको समाचार रोक्न आफूले कसैलाई निर्देशन नदिएको दाबी गर्दै भने, ‘एक जना छोरी मान्छे, त्यो पनि भर्खरको एउटा नागरिक मारिँदा सरकारको के दुश्मनी छ र त्यस विषयका न्युज रोक्नुपर्ने?’
‘त्यस प्रकारको गैरजिम्मेवार कुरा गर्न के सरकारका प्रवक्तालाई रेबिज लागेको छ भन्ठान्नुभएको छ,’ उनले आक्रोशित हुँदै भने, ‘त्यस्तो त होइन होला नि। यो खालको कुरा नगरौं।’
उनले नेपाली मिडियामा यस्तै फेक न्युज आए आफैं धराशयी हुने बताए।
‘हाम्रो मिडिया जसरी विकसित भइरहेको छ, यसले समाजमा जुन खाले प्रभाव पारेको छ, सधैं फेक भयो भने एकदिन यो आफैं धराशयी हुन्छ,’ बास्कोटाले भने, ‘कसैले केही गर्न पर्दैन। त्यसैले आफैंविरुद्धको यो अभियान किन चालेको हो, म बुझ्न सक्दिनँ। म खेद व्यक्त गर्न चाहन्छु।’
बास्कोटाले चुनौती दिँदै थपे, ‘यदि पुष्टि हुन्छ भने, म व्यक्तिगत रूपमा एक मिनेट पनि पदमा बस्दिनँ।’
उनले मिडिया भीरबाट लड्न खोजेको तर्क गर्दै भने, ‘राम राम भन्ने हो। कसले काँध थाप्ने?’
मिडियालाई झन्डै बीस मिनेट लामो पाठ पठाएपछि भने बास्कोटा सचेत भएछन्। आफ्नो अभिव्यक्तिलाई धम्कीका रूपमा नलिन उनले आग्रह गरे।
‘भन्न त धम्की दियो भन्नुहोला। तर धम्की, घुर्की केही होइन। इच्छा लागेको डेमोक्रेसीमा गर्नुस्। तर डेमोक्रेसी अनार्किजम् होइन,’ उनले भने, ‘एकदिन मान्छे आफैं मिडियाबाट यति आजित हुन्छन्, यो सबै भ्रम हो भन्ने थाहा हुन्छ। त्यसपछि त्यहाँ काम गर्नेको के हुन्छ? लगानी गर्नेको के हुन्छ? सरकार पनि डेमोक्रेसीमा न्युजको सोर्स हो। विज्ञापनको पनि सोर्स हो।’
उनले सरकारको भनाइलाई पनि आधिकारिक नमानिएको भन्दै आधिकारिकता मापन गर्ने निकाय कुन छ भन्दै प्रतिप्रश्न गरे।
सामाजिक सुरक्षा कार्यक्रमको प्रचारमा सरकारले करोडौं खर्च गर्यो भनेर आलोचना भएकोमा पनि उनले आपत्ति जनाए। ‘त्यसमा ६६ लाख सरकारी कोषबाट खर्च गरेको हो,’ बास्कोटाले भने, ‘ब्रान्डिङ त हुन्छ नयाँ चिजको। स्पष्ट कुरा छ।’
उनले सरकारको विज्ञापनलाई पेयपदार्थ कोकाकोलासँग तुलना गरे। ’कोकले पनि फागुन लागेपछि ज्याकेट विज्ञापन गर्छ। ज्याकेट विज्ञापन आउँछ कि आउँदैन? आयो भने छाप्नुहुन्छ कि हुन्न? फुटबल आएपछि पनि आउँछ,’ उनले भने।
उनले प्रधानमन्त्रीको फोटो छापिएकोमा बचाउ गर्दै भने, ‘पोस्टर पनि छाप्न नहुने होइन होला प्रधानमन्त्रीको? नयाँ विषय आरम्भ कसले गरेको छ? दक्षिण एसियामा नेपालमा पहिलो हो। कलम त्यस दिशाबाट पनि चलाउनुहोस्।’
उनले विगतमा वृद्धभत्ता दिँदा पनि आलोचना भएको र अहिले बढाएर नदिँदा पनि आलोचना भएको बताए।
नेकपाले आफ्नो निर्वाचन घोषणापत्रमा वृद्धभत्ता बढाउने घोषणा गरेको थियो। बजेटले नबढाएपछि नेकपा आलोचित बनेको थियो। नेकपाकै नेताहरूले संसदमा बजेटको छलफलमा वृद्धभत्ता नबढाएकोमा असन्तुष्टि पोखेका थिए।
बास्कोटाले विगतका सरकारले किन सामाजिक सुरक्षा कार्यक्रम नल्याएको भन्दै प्रश्न गरे। ‘यति ठूलो फ्री मार्केट इकोनोमीमा विश्वास गर्ने साथीहरूले पहिल्यै (सामाजिक सुरक्षा कार्यक्रम) ल्याएको भए हुन्थ्यो।’
उनले नेपाली मिडिया 'फेक न्युज प्रोड्युसर' बनेको आरोप लगाउँदै पत्रकारहरुलाई सुझाव दिए, ‘राम्रोलाई राम्रो लेख्नुस्।’
एसिया प्यासिफिक समिटमा सरकारले करौडौं खर्च गर्न लागेको खबर खण्डन गर्दै उनले भने, ‘करोडौं खर्च हुन लागेको होइन। कतिपय मिडिया खोइ किन हो, मास कम्युनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीका रूपमा विकास हुन थालेको हो कि जस्तो लाग्छ।’
‘काल्पनिक, अत्यन्त भ्रामक, गैरजिम्मेवार तरिकाले काम गर्छन्’, बास्कोटाले भने।
सरकारले केही समययता पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै आएको छ। पत्रकार सम्मेलनमा सबै मन्त्रालयका प्रवक्ता उपस्थित हुन्छन्। बैठक बसेको एक सातापछि बल्ल निर्णयबारे जनतलाई जानकारी दिइन्छ। कतिपय निर्णय कार्यान्वयन भैसकेपछि मात्र बाहिर आउँछ।
कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलरको नेपाल भ्रमण सरकारले गत मंसिर १० गते स्वीकृत गरेको थियो। त्यसको जानकारी भने बिहीबार मात्र दिइयो। राष्ट्रपतिको पोल्याण्ड भ्रमणको सूचना परराष्ट्र मन्त्रालयको विज्ञप्ति आइसकेपछि मन्त्रिपरिषद निर्णय सार्वजनिक गरियो।