प्रदेश पाँचका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले दुई चार जनालाई ठेगान नलगाएसम्म अपराधिको मनोबल नगिर्ने बताएका छन्।
भारतीय सीमासँग जोडिएका तराईका जिल्लामा विभिन्न प्रकृतिका अपराधिक गतिविधि हुने गरेको भन्दै उनले अपराध नियन्त्रणको लागि दुई चार जनालाई ठेगान लगाउनुपर्ने बताएका हुन्।
प्रदेश पाँचको समग्र सुरक्षा अवस्था, प्रहरीको अहिलेसम्मको गतिविधि र भावी योजनाबारे बुटवलमा पत्रकारलाई जानकारी गराउँदै प्रहरी नायब महानिरीक्षक अधिकारीले कुनै पनि बहानामा कानुन उलंघन गर्ने छुट कसैलाई नभएको बताए।
उनले पछिल्लो समय अपराधिक गतिविधिमा प्रविधिको प्रयोग हुने गरेको भन्दै प्रहरीले पनि अपराध न्यूनिकरण र अनुसन्धानका कार्यमा प्रविधीको प्रयोगलाई बढाउन थालेको जानकारी गराए।
प्रहरी प्रमुख अधिकारीले प्रहरीलाई प्रविधिमैत्री बनाउन विभिन्न योजनाहरू अघि सारेको जानकारी दिदै नेपालगञ्जमा प्रदेश स्तरीय वैज्ञानिक प्रयोगशालाको निर्माण अन्तिम चरणमा पुगेको बताए। ‘प्रहरीलाई टेक्नोफ्रेण्ड बनाउन विभिन्न योजना अगाडि सारेका छौ, चेकपोष्टहरुमा सिसिटिभी जडानसँगै सूचना प्रवाह गर्दा कागजको सट्टा ईन्टरनेटको प्रयोगलाई बढाएका छौं,’ उनले भने ।
उनले प्रहरीको सही टिम सही क्षमताका साथमा परिचालन गर्नेतर्फ आफूहरू केन्द्रित रहेको भन्दै प्रहरीले दिने सेवाको गुणस्तर अनुगमनको लागि समेत छुट्टै टिम बनाएको दावी गरे ।
उनले तिव्र गति र बढी भार बोकेर सडकमा गुड्ने गाडीहरुका कारण दिनप्रतिदिन दुर्घटना बढिरहेकोले सवारी नियमका विषयमा आक्रामक ढंगले काम गर्नुपर्ने खाँचो औंल्याए।
खानी क्षेत्रबाट वस्तु बोकेर गुड्ने गाडीलाई निर्वाध रुपमा बजार क्षेत्रमा गुड्न दिँदा दुर्घटनाको जोखिम बढेको भन्दै टाईम कार्ड बनाएर विद्यार्थीहरु विद्यालय जाने आउने समयमा बजारमा प्रवेश निषेध गर्नुपर्ने बताए।
प्रहरी नायब महानिरीक्षक अधिकारीले भारतीय सीमा जोडिएका जिल्लामा लागूऔषधका दुर्व्यसनी बढिरहेकोले यसको नियन्त्रणको लागि औषधीजन्य लागूऔषध आयात र प्रकृत्तिजन्य लागुऔषधको उत्पादनलाई पूर्ण रुपमा नष्ट गर्न जरूरी रहेको बताए ।
कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले जिल्लाका विभिन्न स्थानबाट नदिजन्य वस्तुहरुको अवैध उत्खनन् गर्ने गिरोह सल्बलाएको स्वीकार गर्दै त्यसको नियन्त्रणतर्फ आफूहरूको ध्यान केन्द्रित भएको बताए।
सो अवसरमा पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विरेन्द्र श्रेष्ठ, कपिलवस्तुका प्रहरी उपरीक्षक अच्यूतम् पुडासैनी, नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले प्रहरीले जिल्लामा गरेका काम कारवाहीबारे जानकारी गराएका थिए।
एक महिनामा १० जनाको हत्या
पछिल्लो एक महिनाको अवधिमा प्रदेश ५ मा १० जनाको हत्या भएको छ। गत कात्तिक १२ गतेदेखि मंसिर १३ गतेसम्म कुटपिट तथा गोली प्रहारबाट १० जनाको ज्यान गएको प्रहरी तथ्यांकले देखाएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले १० वटा हत्याका घटनामध्ये ८ वटा घटनामा संलग्न २३ जनालाई पक्राउ गरी कारवाही प्रकृया अघि बढाईएको जानकारी दिए। एउटा घटनाका मृतकको समेत पहिचान नभएको र अर्को घटनामा संलग्नहरु पक्राउ पर्न नसकेको उनले बताए।
प्रहरी तथ्यांक अनुसार कात्तिक १९ गते बर्दिया बढैयाताल गाउँपालिका ३ का मोहन खटिक र मंसिर ७ गते कपिलवस्तु शुद्धोधन गाउँपालिका ४ का दिपेन्द्र कुमार चौधरीको गोली प्रहारबाट हत्या भएको छ।
त्यसैगरी एक महिनाको अवधिमा कपिलवस्तु, गुल्मी र रोल्पामा आफ्नै श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
कात्तिक ११ गते कपिलवस्तुको महाराजगन्ज नगरपालिका १ की सुमित्रा परियार, कात्तिक १५ गते गुल्मी मदाने गाउँपालिका ६ की सिता नेपाली र मंसिर ५ गते रोल्पा सुनिल स्मृति गाउँपालिका ५ की त्रिमता घर्तिमगरको श्रीमानको बञ्चरो प्रहारबाट ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले श्रीमतीलाई बञ्चरो प्रहार गर्ने तिनैजनालाई पक्राउ गरी आवश्यक कारवाही प्रकृया अघि बढाएको जनाएको छ।
यता दाङ तुल्सिपुर उमहानगरपालिका ६ का सुकलाल भण्डारी, रुपन्देहीको तिलोत्तमा ४ का जगत बहादुर गाहा, नवलपरासीको पश्चिम सुनवल १० का गंगा बहादुर कुमाल र बांके राप्ती सोनारी १ का हरी बहादुर बुढामगरको पनि कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
कात्तिक १३ गते कुटपिटबाटै ज्यान गएका बांके कोहलपुरका एकजनाको भने हालसम्म पहिचान खुल्न सकेको छैन । प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अधिकारीले यो अवधिमा ५० वटा यौनजन्य अपराधका घटना भएको बताएका छन्। जसमा जबरजस्ती करणी ३१, जवरजस्ती करणी उद्योग १४ र बाल यौन दुरुपयोगका ५ वटा घटना घटेका छन् ।
खुल्ला रुपमा रहेको भारतीय सिमावर्ती क्षेत्रबाट भित्रिने हतियार र लागूऔषधका कारण तराईका जिल्लाहरुमा अपराधिक गतिविधि धेरै हुने गरेको उनले बताए। प्रहरीले यो अवधिमा ५७ नाल भरुवा वन्दुक र एक/एक थान एयरगन र कटुवा पेस्तोल बरामद गरेको छ ।
सीमाक्षेत्रबाट भित्रिने औषधीजन्य लागूऔषध र पहाडी क्षेत्रमा लगाईने गाँजा, अफिम जस्ता प्राकृतिक जन्य लागूऔषधलाई पूर्ण रुपमा नष्ट नगरेसम्म दुव्र्यसनी र अपराधका घटनामा कमि ल्याउन नसकिने उनले बताए ।