नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले अहिलेको सरकार कम्युनिस्टको नभएको बताएका छन्।
सरकारले कम्युनिस्टको नाममा जनतामा भ्रम सिर्जना गरेर वितृष्णा फैलाउने काम गरेको आरोप उनले लगाए।
बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता गजुरेलले अहिलेको सरकार कम्युनिस्ट नभई प्रतिक्रियावादीको भएको दाबी गरे।
उनले यो सरकारले कम्युनिस्टको नाममा भ्रम सिर्जना गरेको र कम्युनिस्ट सिद्धान्त र आचरणविपरित काम गरेको आरोप लगाए।
‘हामीले यो सरकारलाई कम्युनिस्टहरूको भनेर मानेकै छैनौं, यसले कम्युनिस्टहरूप्रति उपहास र भ्रम सिर्जना गरेको छ,’ उनले भने।
देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले सरकारले गरेका गल्ती देखेर जनतामा कम्युनिस्टहरूले यस्तो गल्ती गर्छन् भनेर वितृष्णा पैदा भएको बताए।
उनले सरकारले कम्युनिस्टको नाम बेचेर समृद्धिको नारा दिएर जनतालाई करको मारमा पारेको आरोप लगाए। जताततै असुरक्षा बढ्दै गएको उल्लेख गर्दै नेता गजुरेलले नेपालको शान्ति सुरक्षामा विदेशी दातृ निकायले चासो देखाउन थालेको दाबी गरे ।
शिक्षा र स्वास्थ्यमा निजीकरण र माफियाकरण भएको दाबी गर्दै उनले माफियाहरूको दबाबमा विद्यार्थीहरूले मेडिकल कलेजहरूमा सरकारले तोकेकोभन्दा बढी शुल्क तिरेर पढ्न बाध्य भएको बताए।
नेता गजुरेलले यो सरकारलाई ६० महिना पर्खिन नसक्ने भन्दै अब नयाँ जनआन्दोलन नगरी यो अवस्थाबाट पार पाउन नसकिने बताए। ‘अब ६० महिना पर्खिन हामीले सक्दैनौं, ६० महिनापछि त नेपाल कहाँ पुगिसकेको हुन्छ ।’
अब नयाँ जनआन्दोलनको विकल्प नभएको बताउँदै नेता गजुरेलले पार्टीको बुटवलमा सञ्चालित केन्द्रीय समितिको बैठकले जनआन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताए।
‘जनताले विकल्प खोज्दै छन्, अहिलेको सरकारमा रहेकाहरूलाई जिताएर गल्ती गरिएछ भन्ने जनतालाई पश्चाताप भएको छ,’ उनले भने ।
विप्लव नेतृत्व नेकपासँग पार्टी एकताका लागि प्रयास गरिएको र अहिले विप्लवको पार्टीसँग एजेण्डा र लाइन नमिल्ने भएकाले एकताको प्रयास टरेको बताए।
उनले धर्मको नाममा नेपाललाई प्रभाव पार्ने काम भएको बताउँदै धर्मको नाममा देश खतरामा रहेको बताए।