प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले औद्योगिकरण र लगानीमैत्री वातावरण बनाउन जमिन व्यवस्थापन मुख्य चुनौती रहेको बताएका छन्।
नाकाबन्दीको समयदेखि रूपन्देही लगानीका हिसाबले सुरक्षित भएको सकारात्मक सन्देश गएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले यहाँ औद्योगिक क्षेत्र स्थापनाका लागि धेरैको चासो बढे पनि सामुहिक भावनाको कमीले समस्या बढेको विचार व्यक्त गरे।
उनले त्यसको स्थायी समाधानका लागि जमिनलाई मुद्दतीका हिसाबले नराख्न समेत आग्रह गरेका हुन्। रुपन्देही उद्योग संघको ४१ औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले उद्योगमा भन्दा व्यापारमा बढी लगानी गरेका कारण गुणस्तरीय उत्पादनमा कमी आएको बताए ।
जमिनमा बढेको अस्वाभाविक मूल्यवृद्धिले नयाँ उद्योगी स्थापित हुन अप्ठेरो भएको बताउँदै उनले प्रदेश सरकार उद्योगीका सबै समस्या समाधान गर्ने गरी उद्योगमैत्री कानुन निर्माणमा लागेको बताए ।
उद्योग, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले उद्योगीहरुलाई करको दायरामा आएर सरकारलाई सहयोग गर्न आग्रह गर्र्दै उद्योगमैत्री नीति निर्माण भइरहेकाले छलफलमा आउन अनुरोध गरेका थिए। उनले उद्योगीले संचालन गर्ने प्रदर्हनीमा विदेशी उत्पादनलाई निरुत्साहित गर्न आग्रह गर्दै त्यसप्रकारका उद्योगमा लगानी बढाउन उद्योगीहरुलाई आग्रह गरे ।
नेपाल उद्योग परिसंघका प्रदेश ५ संयोजक एजाज आलमले उद्योगी व्यवसायी फाइल बोकेर अहिले पनि संघीय राजधानी धाउनुपरेको बताउदै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता सचिव जीवकान्त काफ्लेको संचालनमा भएको कार्यक्रममा ३५ हजार ५ सय राशीको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार तेजेन्द्र केसीलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी गतसाल संघले आयोजना गरेको मेलामा टिकट बिक्रीबाट भएको आम्दानीबाट गौतम बुद्ध सामुदायिक मुटु अस्पताललाई ७ लाख, बुटवल उपमहानगरपालिकालाई ५ लाख, ज्ञानज्योति पुस्तकालयलाई २५ हजार, लक्ष्मी माविलाई २ सेट कम्प्युटर प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधाका १२ उत्कृष्ट उद्योगीहरु, दुई उद्योगमा कार्यरत कर्मचारीका छोराछोरीमध्येबाट २ जनालाई छात्रवृत्ति सहित सम्मान गरिएको थियो ।