मंसिर १० गते राजधानीका बिजुलीका पोल पोलमा टाँसियो, प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहितको पोस्टर। जसमा लेखिएको थियो- नयाँ युगको सुरूवात।
अर्कोदिन काठमाडौंबाट प्रकाशित हुने राष्ट्रिय दैनिकमा सोही पोस्टर ज्याकेट एड बनेर छापियो। भित्रपट्टी श्रममन्त्री गोकर्ण बिष्टको तस्बिरसँगै सामाजिक सुरक्षा कार्यक्रमबारे लेखिएको थियो।
सामाजिक सञ्जालमा व्यर्थैमा लाखौं रूपैयाँ खर्च गरेको भन्दै आलोचना भयो।
मंगलबार सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आलोचकलाई जवाफ दिए- सरकार देखेनौं, सुनेनौं, कहाँ छ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो। आउने कार्यक्रमहरू सरकारले नौमती बजाएर शुभारम्भ गर्छ।
त्यहीँ साँझ सामाजिक सञ्जालमा एउटा अर्को पोस्टर सार्वजनिक भयो, जसमा लेखिएको थियो- सरकार भेटियो, न्याय भेटिएन। दण्डहिनता ह्यासट्याग भएको उक्त पोस्टरमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको फोटो थियो।
बलात्कारपछि निर्मलाको हत्या गर्नेलाई पक्राउ गर्नु पर्ने माग राख्दै विभिन्न कार्यक्रम गरिरहेका ‘निर्मलाका निम्ति न्याय’का अभियन्ताले शुक्रबार यही पोस्टर राजधानीका पोल र भित्तामा टाँस्न खोजे।
‘सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पोस्टरको विरोध भयो र निर्मलाको पोस्टर पनि शक्तिशाली विम्व बन्यो,’ अभियन्ता हिमा बिष्टले भनिन्,‘हामीले पोस्टर बनायौं। साथीहरूले टाँस्न थाल्नुभयो। तर प्रहरीले पोस्टर टाँस्नेलाई पक्रियो। टाँसेका पनि च्यातिदियो।’
काठमाडौंमा मात्र होइन प्रहरीले शनिबार पोखरामा टाँसिएका पोस्टर पनि च्यातेर फाल्यो। पोस्टर नटाँस्न उर्दी जारी गर्यो।
‘प्रधानमन्त्रीको पोस्टर पनि कसैले न कसैले त पोलमा टाँसेको हो, प्रधानमन्त्रीको पोस्टर टाँस्न मिल्ने, निर्मलाको पोस्टर टाँस्न किन नमिल्ने?,’ बिष्टले भनिन्।
सरकारसँग पौंठेजोरी खोज्ने ताकत अभियन्ता हुने भएन। त्यही भएर उनीहरूले पोस्टर टाँस्ने नयाँ उपाय सोचेका छन्।
‘यो अभियानमा निर्मलाको पोस्टर सबैभन्दा शक्तिशाली विम्व बनिसकेको छ, तर सरकारले टाँस्न नदिने भएपछि हामीले अलिकति क्रियटिभ भएर सोच्यौं, गाडी, ल्यापटप र झोलामा टाँस्न मिल्ने स्टिकर बनाउने,’ बिष्टले भनिन्, ‘साथीहरूले पैसा उठाएर पोस्टर र स्टिकर छाप्दै छौं, सोमबार बिहानसम्म सबैलाई बाँड्छौं।’
उनले उपत्यका बाहिरबाट पनि पोस्टरको डिजाइन माग भइरहेकाले बाहिरकाले आफैंले छापेर बाँड्ने बताइन्।