धार्मिक आस्थामा आधारित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको दक्षिण एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नताको औपचारिक रुपमै भर्त्सना गरेको छ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले आइतबार सम्मेलनमा सरकारको संलग्नताबारे विज्ञप्ति जनाएर औपचारिक रुपमै बिरोध गरेको हो।
बैठक जारी रहँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै भने, ‘धर्मनिरपेक्ष राज्य भएको मुलुकमा कुनै निश्चित धर्मको कार्यक्रममा सरकार सहभागी हुनु, कुनै धर्मको प्रचार भइरहेको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक छ।’
सम्मेलनमा सरकार आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावनाविपरीत रहेको कांग्रेसले ठहर गरेको छ। ‘नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधन–स्रोतको दुरुपयोगको भर्त्सना गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।
धर्मनिरपेक्ष मुलुकमा अल्पसंख्यक वा बहुसंख्यक धार्मिक आस्था राख्ने सबै समुदायको भावनालाई सम्मान गर्नुपर्ने कांग्रेसले जनाएको छ।
बैठकपछि सेतोपाटीसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले सरकारले गैरसरकारी संस्थाले अायोजना गरेको कुनै धर्मविशेष कार्यक्रममा सहभागिता जनाएर विवादित काम गरेको बताए।
यस्तै, बैठकले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४’लाई आलोचनात्मक समर्थन टिप्पणी गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०७४ साल साउन ९ गते उक्त ऐन संसदबाट पारित भएको थियो।
सरकारले मंसिर ११ गते उक्त ऐन कार्यान्वयनमा ल्याएको घोषणा गरेको थियो। उक्त घोषणालाई सकारात्मक रुपमा लिइए पनि कार्यक्रममा अपनाइएको भड्किलो प्रचार शैलीको समर्थन गर्न नसकिएको प्रवक्ता शर्माले बताए।
‘सामाजिक सुरक्षा ऐनको सफलता भड्किलो प्रचार शैली र झुटो प्रचारले हैन, परिवक्व तथा जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुनेमा नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
सरकार, रोजगारदाता र श्रमिक तीन वटै पक्षको उत्साहबर्द्धक भूमिकाबाट मात्र यस ऐनको सफल कार्यान्वयन हुने कांग्रेसको भनाइ छ। ‘चोक–चोक, गल्ली गल्लीमा प्रधानमन्त्रीको फोटो टाँसेर, आफ्नै पार्टीको कार्यक्रमजस्तो प्रचार गरिनुले नारायणगोपालको गीत कसैले कपी गरेर आफ्नै हो भनेजस्तै देखियो,’ प्रवक्ता शर्माले भने।
‘नयाँ युग सुरू’ भनेर कांग्रेसका पालामा संसदबाट पारित ऐन बोकेर भड्किलो तामझाम गर्ने तर कांग्रेसको त्यही सरकारले स्पाइनल इन्जुरी भएर ह्वीलचेयरमा बसेका, मिर्गौला, क्यान्सर र मुटु रोगका अशक्त बिरामीलाई मासिक पाँच हजार रुपैयाँ जीविकोपार्जन भत्ता दिने निर्णय सरकारले खारेज गरेकोमा बैठकले आपत्ति जनाएको छ।
श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नुपर्दा श्रमिकको तस्बिर चाहिँ कतै प्रयोगमा नल्याइएको कांग्रेसले जनाएको छ। उसले पार्टीगत चुनावी प्रचारमा जस्तै प्रधानमन्त्रीको फोटोलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा सर्वत्र टाँस्नुले ‘नयाँयुग हैन, पुरानो युगको सम्झना गरायो’ भनेको छ।
‘हामी सोध्न चाहन्छौं, यो कस्तो नयाँयुगहो जहाँ प्रधानमन्त्रीको तस्बिर टोल–टोलमा, बिजुलीका पोल–पोलमा सजाउन हुने तर एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्बिरसहितको पोस्टर टासिँदा च्यातिदिनुपर्ने र नागरिक गिरफ्तारी हुनुपर्ने?,’ प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा भने।
बैठकमा चार जना केही केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेको प्रवक्ता शर्माले बताए। नेपाली कांग्रेसको महासमिति बैठक मंसिर २८ गतेदेखि बस्दैछ। पार्टीले तयार पारेको विधान मस्यौदामाथि छलफल गर्न बैठक बसिरहेको हो। बैठक केही दिन जारी रहने कांग्रेसले जनाएको छ।