एसिया प्यासिफिक समिटको उद्घाटन सत्रदेखि समापनसम्म नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल कतै देखिएनन्।
दाहाल मात्र होइन, पूर्व माओवादीका अधिकांश नेता तथा कार्यकर्ताले सरकार सह-आयोजक रहेको उक्त कार्यक्रममा भाग लिएनन्। जबकि, नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले समिटको अध्यक्षता गरे। प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उद्घाटनमा मात्र गएनन्, बालुवाटार छाडेर तीन दिन सोल्टी होटलमै बसे। उनले तक्मासहित एक लाख डलरको पुरस्कार पनि थापे।
आयोजकले पूर्व प्रधानमन्त्री दाहाललाई पनि अतिथिका रूपमा सम्बोधन गर्न निम्ता गरेको थियो। उनले निम्ता बेवास्ता गरिदिए। निजी सचिवालयले उनी दाँत जचाइरहेको तस्बिर सार्वजनिक गर्यो।
दाहालले विवादित संस्था युनिभर्सल पिस फेडरेसन आयोजक रहेकाले कार्यक्रम बहिष्कार गरेको स्रोतले बताएको छ।
स्रोतका अनुसार दाहाललाई कार्यक्रमबारे तीन महिनाअघि नै जानकारी थियो। यसबारे नेकपाको सचिवालय बैठकमा छलफलसमेत भएको थियो।
सचिवालयका एक सदस्यका अनुसार कार्यक्रम आयोजनाबारे छलफल गर्न एसियाली राजनीतिक दलको संगठन 'आइक्याप' का अध्यक्ष र फेडरेसन अध्यक्ष तीन महिनाअघि नै नेपाल आएका थिए।
सचिवालय बैठकपछि वरिष्ठ नेता नेपालले आइक्याप अध्यक्षलाई भेट्ने भन्दै प्रधानमन्त्री ओली, दाहाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई र्याडिसन होटल पुर्याएका थिए। त्यति बेला आइक्याप पदाधिकारीसँगै एकनाथ ढकाल र फेडरेसनका पदाधिकारी देखेपछि दाहाल र नारायणकाजी झस्किएका थिए।
पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उक्त भेटघाट बहिष्कार गरेको स्रोत बताउँछ।
‘नारायणकाजी श्रेष्ठले 'काम न काजको मान्छे लिएर आएका रहेछन्, यो कार्यक्रम नेपालमा गर्नु ठिक होइन' भनेर झलनाथ खनाललाई भन्नुभयो,’ भेटको तारतम्य मिलाउन जुटेका एक नेताले सेतोपाटीसँग भने, ‘उहाँ ‘प्रधानमन्त्रीज्यू मेरो काम छ’ भनेर त्यहाँबाट बाहिरिनुभयो।’
दाहाल भने केहीबेर बसेका थिए।
स्रोतका अनुसार नारायणकाजी उक्त कार्यक्रम नेपालमा गर्न नहुने पक्षमा थिए। उनले नेकपाको सचिवालय बैठकमा समेत ‘चर्चको पछि किन लागेको’ भन्दै विरोध गरेका थिए। उनी ढकालको कार्यक्रमबारे पहिल्यैदेखि जानकार रहेको स्रोत बताउँछ।
बाबुराम भट्टराई सरकारमा श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री भएका बेला एकनाथ ढकाल मन्त्री थिए। त्यतिबेला पनि ढकालले नेपाल सरकारलाई सह-आयोजक बसेर कार्यक्रम गर्न प्रस्ताव लगेका थिए। प्रधानमन्त्री भट्टराईले सहमति जनाएर परराष्ट्रलाई पत्र लेखेपछि श्रेष्ठले प्रतिवाद गरेका थिए।
श्रेष्ठले त्यतिबेला मन्त्रिपरिषद् बैठकमै ढकालको प्रतिरोध गरेका थिए। उनले ‘मन्त्री भएर आइएनजिओ चलाउने अनि उल्टो सरकारलाई संलग्न हुन भनेर भन्न मिल्छ’ भन्दै हकारेका थिए।
नेकपाका अर्का सचिवालय सदस्यले पनि नारायणकाजीले केही दिनअघिको सचिवालय बैठकमा समेत कार्यक्रमको विरोध जनाएको बताएका छन्।
प्रधानमन्त्री ओली सहभागी उक्त बैठकमा पूर्व माओवादी मात्र हैन, नेकपाकै स्थायी समिति सदस्यहरूले पनि कार्यक्रमको विरोध गरेका थिए। स्रोतका अनुसार प्रधानमन्त्री ओली पार्टीभित्रको विरोधका बाबजुद धर्म प्रचारक गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी भएका हुन्।
‘उहाँलाई के बाध्यता आइलाग्यो थाहा छैन,’ ती सचिवालय सदस्यले भने, ‘संस्था विवादास्पद छ भन्ने जानकारी उहाँलाई पनि थियो।’
नेकपा नेता घनश्याम भुषाल र भीम रावलले ओली उक्त कार्यक्रममा सहभागी भएकोमा सार्वजनिक रूपमै आलोचना गरेका छन्। पूर्व माओवादी नेताहरू भने एकता प्रक्रियामा प्रश्न उठ्ने संशयमा चुप लागेका छन्।
‘न राष्ट्रसंघको संगठन हो, न कुनै क्षेत्रीय संगठ। न पार्टी सहभागी, न सरकार नै आयोजक,’ ती नेताले भने, ‘विशुद्ध धर्म प्रचारको कार्यक्रममा उहाँ सहभागी हुनु हुन्थेन।’
नेकपा नेता रावलले सामाजिक सञ्जालमा ओलीतिर औंला सोझ्याउँदै ट्विटरमा लेखेका छन्- 'कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन। राष्ट्रिय हित तथा कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नुपर्यो। शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नुपर्छ। नभने सरकारले खोजेर भन्नुपर्छ?'
नेकपाकै नेता भुषालले रावलको ट्विट रिट्विट मात्र गरेका छैनन्, उनले थप लेखेका छन्- 'विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो, त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछl’