नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाको लागि नयाँ जनवादी क्रान्ति गर्ने बताएका छन्।
देशको साँचो अझै पनि सामन्ती, दलाल तथा पुँजीवादी नोकरशाहको हातमा रहेको उल्लेख गर्दै उनले नेपाली गरिब जनताको मुक्ति र राष्ट्रियता, जनजीविकाको रक्षाको लागि फेरि पनि क्रान्ति आवश्यक रहेको बताए।
मंसिर १२ गतेदेखि १७ गतेसम्म बुटवलमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै नेता वैद्यले जनआन्दोलनको जग र सहिदको रगतमा टेकेर सत्तामा गएकाहरूले सत्तामा पुगेपछि जनआन्दोलनको उद्देश्य नै बिर्सिएको बताए।
उनले जनआन्दोलनका घाइते, मृतक, लडेका लडाकुहरूको व्यवस्थापन नगरी, क्षतिपूर्ति नदिइ शान्ति प्रकृया पूरा नहुने बताए ।
नेता वैद्यले देशको रक्षाको लागि नयाँ जनवादी क्रान्तिका लागि विप्लव नेतृत्वको नेकपा माओवादीसँग पार्टी एकता गर्न जटिलता रहे पनि सैद्धान्तिक राजनीतिलाई आधार बनाएर एकता गर्न सकिने बताए।
हतारमा गरिएको एकता दिगो नहुने भन्दै उनले सैद्धान्तिक राजनीतिक रूपमा अझै पहल गर्नुपर्ने बताए ।
सच्चा क्रान्तिकारी कम्युनिस्टहरूसँग एकता हुनसक्ने भन्दै नेता वैद्यले नेकपासँग एकता गर्ने विषय भने टुंगिएको बताए।
‘राजनीतिमा असम्भव भन्ने त केही हुँदैन तर अहिलेको लागि प्रचण्डहरूसँगको एकताको विषय समाप्त भएको छ,’ उनले भने ।
अहिलेको सरकार न वामपन्थी न कम्युनिस्ट कसैको नभएको भन्दै उनले सरकारले कम्युनिस्टको धज्जी उडाएको बताए। दुईतिहाइको दम्भ प्रदर्शन गर्दै राष्ट्रवादको दुहाई दिएर सरकारमा पुगे पनि नेपाली सीमा मिचिदा बोल्न नसक्ने सरकार आफैंले आफ्नो धज्जी उडाएको आरोप लगाए ।
व्यापार घाटा बढाएर र विकास बजेट ठप्प पारेर नारा राख्दैमा विकास नहुने भन्दै नेता वैद्यले सरकारसँग विकासको नारा बाहेक कुनै भिजन नभएको दाबी गरे।
‘निर्यातजन्य उत्पादन नबढाउँदा अहिले १४ खर्ब बढी व्यापार घाटा छ, प्राकृतिक स्रोत साधन, नदीनाला, जटिबुटी सबै क्षेत्र विदेशीलाई सुम्पिएर समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउँदैमा विकास हुन्छ ?’ उनले प्रश्न गरे ।