नेपाली कांग्रेसले महासमिति बैठक काठमाडौंको रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा गर्ने भएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकका लागि यलम्बर पार्टी प्यालेस बुकिङ गरिसकिएको छ।
बैठकका लागि केन्द्रीय कार्यालयका प्रतिनिधिसहित काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेसका पदाधिकारीसहित बुधबार तयारी बैठक बसेको शर्माले बताए। महासमिति बैठकको व्यवस्थापनको जिम्मेवारी यी तीन जिल्ला कार्यसमितिले पाएका थिए।
‘उद्घाटन र बन्दसत्र यलम्बर पार्टी प्यालेसमै हुन्छ.’ शर्माले सेतोपाटीसँग भने। मंसिर २३ गतेदेखि विधिवत रूपमा पार्टी प्यालेसमै बैठकका लागि सचिवालय रहने उनले बताए। बैठक व्यवस्थापनका लागि पार्टी केन्द्रीय कार्यालयमा मंगलबार पहिलो बैठक बसेको थियो।
१३ औं महाधिवेशनपछि कांग्रेसको पहिलो महासमिति बैठक मंसिर अन्तिम साता हुन लागेको हो। कांग्रेस विधानमा महाधिवेशन भएको वर्षबाहेक अरु वर्ष वर्षेनी महासमिति बैठक आयोजना हुनुपर्छ।
महासमिति बैठकका लागि देशका २४० निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले एक हजार दुई सय सदस्य, ८५ जना केन्द्रीय सदस्य र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधि गरी कूल एक हजार तीन सय हाराहारीमा सदस्य सहभागी हुँदैछन्।
महासमिति बैठकमा पेश गरिने आर्थिक र राजनीतिक दस्तावेज तयार भइसकेका छन्। उपसभापति विमलेन्द्र निधि नेतृत्वको राजनीतिक दस्तावेज समिति र सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको आर्थिक दस्तावेज समितिले तयार पारेका प्रतिवेदन केन्द्रीय समितिमा पेश हुँदैछन्।
महासमिति बैठकमा महामन्त्रीको संगठनात्मक र कोषाध्यक्षको आर्थिक विवरणसहितको प्रतिवेदन पनि पेश गर्नुपर्छ। त्यसका लागि महासमिति बैठक सुरू हुनुपूर्व नै केन्द्रीय समितिबाट पारित हुनुपर्छ।
‘बुधबार आर्थिक प्रतिवेदन केन्द्रीय समितिमा पेश हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘केन्द्रीय सदस्यहरूले धारणा राख्नुहुन्छ। राजनीतिक प्रतिवेदन पनि पेश गर्छौं।’
विगत छ दिनदेखि कांग्रेस केन्द्रीय सदस्यहरू पार्टीको संशोधित विधानको मस्यौदामा छलफल गरिराखेका छन्। पदाधिकारी वृद्धि गर्नुपर्ने, ७० वर्षे उमेरहद तोक्नुपर्ने, केन्द्रीय सदस्य संख्या बढाउनुपर्ने, क्रियाशील सदस्यता हटाउनुपर्ने जस्ता धारणा केन्द्रीय सदस्यहरूले राखेका छन्।