प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई सुरूदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताएका छन्।
उनले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिँदा पछि समस्या नपर्ने बताए।
बुधबार महालेखापरीक्षक कार्यालयको टोलीसँग भएको छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री पोखरेलले चासो राखेर ठीक समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ पुग्ने बताए।
‘पछि रिपोर्टमा कैफियत निकाल्नुभन्दा पहिले सजग गराएर समस्या समाधान गरौं,’महालेखापरीक्षकको टोलीसँग मुख्यमन्त्रीले भने।
कार्यालय व्यवस्थापन भए सुशासन कायम गर्न सहज हुने भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार कार्यालय व्यवस्थापनको समस्यामा परेको दोहोर्याए।
महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक प्रणाली तथा खर्च प्रणालीलाई चुस्त बनाउनुपर्ने र त्यसका लागि समन्वय आवश्यक भएको बताए।
‘सुरूदेखि नै समन्वय होस् भनेर छलफलमा आएका हौं,’ उनले भने ।
प्रदेश सरकारका प्रमुख सचिव डा. तीर्थराज ढकालले प्रदेश कार्यपालिका र कार्यसम्पादनबारे जानकारी गराएका थिए।
महालेखापरीक्षक कार्यालयको टोलीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले प्रदेशको अर्थ व्यवस्था र योजना सञ्चालन अवस्थाबारे जानकारी गराएका थिए ।