नयाँ शक्ति पार्टी नेपाल प्रदेश पाँच कमिटीले ‘पाँच महिना, पाँच काम र पाँच परिणाम’ भन्ने अभियानका साथ संगठन विस्तारको कामलाई अगाडि बढाएको जनाएको छ।
बुटवलमा पत्रकारहरूसँग बिहिबार आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै पार्टीका प्रदेश संयोजक कमल खनालले राजनीतिक दलहरूको बीचमा पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने योजनाका साथ अभियान सञ्चालन गर्ने जानकारी दिए। ‘प्रदेश पाँचमा पाँच महिना, पाँच काम र पाँच परिणाम भन्ने अभियानका साथ हामी संगठन विस्तारमा सक्रिय छौं,’ उनले भने ।
संगठन सुदृढिकरण, सामाजिक आन्दोलन र राजनीतिक दलहरूका बीचको ध्रुविकरणलाई प्रमुख अभियानको रूपमा लिएको उनले बताए। तर राजनीतिक ध्रुविकरण भने ठूला दलहरूसँग नभई साना दलहरू रहेको उनले स्पष्ट पारे। ‘राजनीतिक ध्रुविकरण अहिलेका ठूला राजनीतिक दलहरूसँग नभई साना दलहरूसँग र हामीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न चाहने समूहसँग हुन्छ,’ उनले भने।
अहिलेको राजनीतिक जमातसँग भन्दा आफूहरूको अभियान भविष्यका नयाँ मतदाताहरू लक्षित रहेको नयाँ शक्तिले जनाएको छ।
‘हामी अहिलेको लागि राजनीति गर्दैनौं हाम्रो अभियान ५ वर्षपछि तयार हुँदै गरेको नयाँ मतदाता पंक्ति लक्षित छ,’ संयोजक खनालले भने।
खनालले सत्तासिन र विपक्षी कुनै पनि दलहरूले जनताको पक्षमा आवाज नउठाएको भन्दै पार्टीले मिडिया र सामाजनिक सजालमा उठाइएका मुद्दाहरूलाई छोपेर अभियानलाई केन्द्रित गरेको बताए ।
कार्यक्रममा नयाँ शक्ति पार्टीका प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले राजनीतिक व्यवस्था फेरिए पनि जनताको जीवनस्तरमा कुनै पनि परिवर्तन नआएको बताए। ‘देशमा राजनीतिक व्यवस्था त फेरियो तर देशको अवस्था पुरानै ढङ्गले सञ्चालन हुँदा जनतामा खासै परिवर्तन आउन सकेन,’ उनले भने ।
संविधान जारी भएसँगै राजनीतिक परिवर्तनको एउटा चरण पूरा भएकाले अब नयाँ राजनीतिक गन्तव्यका रूपमा राजनीतिक व्यवस्था परिवर्तन हुनुपर्ने उनले बताए ।