सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार जना नेताहरुले सचिवालय बैठक बहिष्कार गरेका छन्।
शनिबार दिउँसो ३ बजेका लागि बैठक डाकिए पनि अध्यक्षहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव बिष्णु पौडेल समयमै उपस्थित नभएपछि आफूहरु हिडेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई बताए।
पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बैठकका लागि वालुवाटार पुगेका थिए। ‘अध्यक्ष, महासचिव बैठकमा आउनुभएन, २० मिनेटसम्म कुरेर फर्कियौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘बैठक बस्न केही ढिला हुनेबारे पनि नेतृत्वले केही खबर पनि गर्नुभएन।’
प्रवक्ता श्रेष्ठका अनुसार निर्धारित समयमा बैठक बस्ने पार्टीले यसअघि निर्णय नै गरेको थियो। ‘निर्धारित समयभन्दा १५ मिनेटपछि सम्म पनि बैठकका लागि कुर्ने। त्यसबेलासम्म बैठक हुने/नहुने जानकारी नेतृत्वले दिने भन्ने निर्णय थियो,’ श्रेष्ठले भने, ‘बैठक बस्ने/नबस्ने खबर पनि भएन हामी हिड्यौं।’
समयमै कार्यक्रम गर्नुपर्छ भन्ने सिष्टम पार्टीमा बसाल्नका लागि पनि आफूहरु बालुवाटारबाट हिडेको श्रेष्ठले बताए। ‘नेतृत्वलाई पूर्व निर्णय स्मरण गराउनका निम्ति र पार्टीमा सिष्टम स्थापित गर्नका निम्ति हामी हिडेका हौं,’ प्रवक्ता श्रेष्ठले सेतोपाटीसँग भने।
नेताहरु ३:२० बजेसम्म बालुवाटारमा बसेर फर्किएका हुन्। नेकपाको सचिवालय नौ सदस्यीय छ।