प्रदेश नम्बर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारदेखि सुरू हुँदैछ।
बुधबार दिउँसो १ बजे सुरू हुने अधिवेशनको तयारी प्रदेश सभा सचिवालयले तीव्र पारेको छ।
तेस्रो अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने भएकोले सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ र ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ।
प्रदेश सभा सचिवालयले सम्भावित कार्यसूची मंगलबार नै प्रकाशित गरेको छ। सम्भावित कार्यसूचीअनुसार १ बजे बैठक सुरू भएलगत्तै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभाको अधिवेशन आह्वान भएको पत्र सभामुख पूर्णबहादुर घर्तीले सुनाउने छन्। त्यसपश्चात सभामुख घर्तीले दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्रहरू पढेर सुनाउने छन्।
प्रदेश सभाको बैठकमा राजनीतिक दलहरूको तर्फबाट पनि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने कार्यसूची छ। बुधबार नै प्रदेश सभामा दुइटा विधेयक पेश हुनेछन्। प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ संघसंस्थाहरूको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश हुने प्रदेशसभा सचिवालयले जनाएको छ।
बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको संयोजक चयन गरेकोबारे सभामुख घर्तीले सभालाई जानकारी गराउने छन्। त्यस्तै, प्रदेश नम्बर ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको जानकारी समेत सभामुख घर्तीले प्रदेससभालाई जानकारी गराउने छन्।
पाँच महिनापछि बस्न थालेको तेस्रो अधिवेशनको पहिलो बैठक भएकोले पनि सचिवालयले विशेष तयारी गरेको छ।