कोरियन चर्चको प्रचारात्मक कार्यक्रम 'एसिया प्यासिफिक समिट' मा सह-आयोजक बनेको सरकारका मन्त्रीहरू यसको प्रतिरक्षामा खुलेर लागेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार सिंहदरबारस्थित आफ्नै मन्त्रालयको पत्रकार भेटघाटमा उक्त कार्यक्रमको बचाउ गर्दै ओशो रजनीशको कथा नै सुनाए। सँगसँगै, प्रश्न खडा गर्ने मिडियाको ‘कक्षा’ पनि लिए।
मन्त्री ज्ञवालीले सुनाएको कथा यस्तो छ:
दुई जना बाल ब्रह्मचारी रहेछन्। एकदिन गुरूले शिक्षा दिँदै उनीहरूलाई भनेछन्, ‘हेर बाबु हो, ब्रह्मचारी जीवन गाह्रो कुरा हो। महिलातिर कर्के आँखाले पनि नहेर्नू। बोल्दा पनि नबोल्नू। उनीहरूको स्वर सुन्दा पनि नसुन्नू। कठोर ब्रह्मचर्यमा रह्यौ भने मात्र जीवन सार्थक हुन्छ।'
शिक्षा पाएका शिष्यहरू एकदिन खोला किनार हिँडिरहेका रहेछन्। त्यही बेला वारि एक महिला कंकला स्वरमा चिच्याइन्।
‘लौ न, मलाई कसैले पारि तारिदिनुहोस्। मेरो ६ महिनाको बच्चा छ। दूधेबच्चा छाडेर आएको थिएँ, नदीमा बाढी बढ्यो। मैले तर्न सक्ने अवस्था भएन। बचाइदिनुहोस्,’ ती महिलाले बिन्ती गरिन्।
गुरुबाट ब्रह्मचर्यको शिक्षा पाएका दुवै शिष्यले आपतमा परेकी ती महिलालाई फर्केरधरि हेरेनन्। खुरुखुरु अगाडि बढे।
ती महिला झन् कहालीलाग्दो स्वरमा बिलौना गर्न थालिन्। दुईमध्ये एक शिष्यलाई अचानक लाग्यो, धर्म भनेको मानवसेवा हो। यो अवस्थामा महिलालाई अलपत्र छाडेर जान धर्मले दिँदैन।
अलिक पर पुगिसकेका ती शिष्य फर्केर आए। महिलालाई जुरुक्क बोकेर नदी तारिदिए।
उनीहरूसँगै अर्का शिष्य पनि पारि तरेछन्। र, उनले महिलालाई बोकेर नदी तार्ने शिष्यलाई भनेछन्, ‘तँ आज ब्रह्मचर्यबाट च्यूत भइस्। गुरुले सिकाएको सारा कुरा खत्तम पारिस्।’
ती शिष्यले जवाफ दिएछन्, ‘ती महिला त्यस्तो कंकला स्वरमा कहालीलाग्दो गरी रोइरहेकी थिइन्। भर्खरकी सुत्केरी आमा रहिछन्। म कसरी हेरेको हेर्यै गर्न सक्छु र?’
एकछिनपछि अर्को शिष्यले फेरि त्यही कुरा उठाएछन्, ‘तँ बिग्रिस्। त्यो महिलाको तिघ्रा भिजेको थियो। छाती देखिन्थ्यो। तेरो ध्यान त्यहीँ गएको होला।’
‘बाबा, छाड्दे न, मैले रोइरहेकी आमाबाहेक केही पनि देखिनँ,’ शिष्यले जवाफ दिएछन्।
अलिक पर गएपछि फेरि त्यही प्रश्न सोधेर हैरान पारेछन्। महिलालाई नदी तार्ने शिष्यले भनेछन्, ‘मैले ती रोइरहेकी महिला देखेँ, नदी तारिदिएँ। सकियो। मैले बिर्सिसकेँ। विकृति त तेरो दिमागमा रहेछ। तैंले ती सुत्केरी महिलालाई ६ महिने शिशुकी आमा होइन, यौवनमा रहेकी महिला देखिस्। तेरो ध्यान त तिघ्रामा रहेछ। वक्षस्थलमा रहेछ।’
अगाडि पुगेपछि उनीहरू अलग-अलग बाटो लागेछन्।
ओशो रजनीशको यो कथा सुनाएपछि मन्त्री ज्ञवालीले एसिया प्यासिफिक समिट क्रममा मिडियाको कभरेजसँग जोडेर व्याख्या गरे।
‘एसिया प्यासिफिक समिट एउटा समिट मात्र हो,’ उनले महिलालाई नदी तार्ने शिष्यले घटना बिर्सिएजस्तै सरकारले पनि बिर्सन लागेको अर्थ्याउन खोजे र भने, ‘यस्ता धेरै कार्यक्रम हुने गर्छन्।’
समिट आयोजना गर्ने प्रस्ताव स्वीकार्नुको कारण खुलाउँदै ज्ञवालीले भने, ‘प्रस्ताव आएपछि हामीले स्वीकार्यौं। पहिलो त, यसले नेपाल चिनाउँछ, नेपालको कुरा राख्ने प्लेटफर्म पाइन्छ भन्ने भयो। दोस्रो, जलवायु परिवर्तनले सबैभन्दा बढी असर गरेको हाम्रोजस्तो हिमाली र टापु देशहरूलाई हो। समिटमा टापु देशका मान्छे आउँदा यसबारे हाम्रो सरोकारको कुरा गर्न पाइन्छ भन्ने भयो। यही विश्वासका साथ हामीले कार्यक्रम गर्न स्वीकृति दियौं। सरकारले सुरक्षा दियो।’
समिट आयोजकका सम्बन्धमा मिडियाले गलत समाचार दिँदै आएको उल्लेख गर्दै उनले यसका तीन आयोजक रहेको बताए– एसियाली राजनीतिक दलहरूको संगठन (एइक्याप), इन्टरनेसनल एसोसिएसन अफ पार्लिमेन्टेरियन फर पिस र युनिभर्सल पिस फेडरेसन।
'मिडियाले अन्य दुई आयोजकको नामै लिएनन्,' उनले भने, 'एइक्यापमा एसियाका सबै पार्टी सामेल छन्। चिनियाँ कम्युनिष्ट पार्टी पनि त्यहाँ छ। भारतीय जनता पार्टी र कांग्रेस आई समेत छन्। नेकपा छ। फोरम छ, कांग्रेस छ। आयोजना त्यसको हो।’
कार्यक्रमकै कारण अन्तर्राष्ट्रिय जमघट भएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘मलाई अलिकति दु:ख के लाग्यो भने, व्यक्ति मन नपरोस् तर प्रधानमन्त्रीले त्यस दिन दिनुभएको मन्तव्य एकचोटि हेर्नुस्। राम्ररी हेर्नुभयो भने धेरै मान्यता तपाईं आफैं पुनर्विचार गर्नुहुन्छ।’
समिटले जारी गरेको काठमाडौं घोषणापत्रको चौथो बुँदामा नेपालको शान्ति प्रक्रिया सिक्न आएको भन्ने उल्लेख रहेको उनले बताए। ‘के यसले नोक्सान भएको छ?’ ज्ञवालीले भने, ‘यसबाट त नेपाल चिनियो।’
उनले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन र पर्यटक बढाउन समिटले सहयोग पुग्ने दाबी गरे।
‘पर्यटक ल्याउने तरिका यस्तै हो। मान्छेले थाहा पाए- नेपाल एउटा न्युट्रल र सेक्युलर ठाउँ रहेछ। सबै खालका मान्छेलाई हस्पिट्यालिटी दिइने रहेछ। ठमेल बजार रहेछ। अधिकांश पाहुना ठमेल गए। साना टापुका राष्ट्राध्यक्ष र सरकार प्रमुख चन्द्रागिरी गए। केबुलकार चढे। रमाइलो देश रहेछ भने, तब न पर्यटक आउँछन्,’ उनले भने।
यी सबै कुरा पन्छाएर मिडियाले 'होली वाइन' मा मात्र ध्यान केन्द्रित गरेको उनले आरोप लगाए। अनि रजनीशको कथा जोड्दै भने, ‘हाम्रो ध्यान कतै त्यही कथामा जस्तो महिलाको तिघ्रातिर मात्र गएको त होइन? यस्तो सोच बदलौं।’
‘म यो समिटको भयंकर बचाउ गर्न चाहन्न। सरकारले कहीँ कतै मर्यादारेखा नाघेको हो भने खुल्ला छलफल गर्न सकिन्छ,’ ज्ञवालीले भने, ‘यो अलिक मिलेन नि भन्नुभयो भने हो यो नमिलेको हो, आउने दिनमा ध्यान दिनेछौं भन्न सक्छौं। तर, एसिया प्यासिफिक समिट गर्दा ईश्वरको निन्दा र पापाचार गरेजस्तो गरियो।’
समिटले नेपालको सामर्थ्य बढेको र दायरा फराकिलो पार्न सहयोग गरेको उनले बताए।
‘हाम्रो मिलिट्री स्ट्रेन्थ होइन। न हाम्रो बढाउने योजना छ, न हामी बढाउनै सक्छौं,’ ज्ञवालीले भने, ‘आर्थिक परिवर्तन पनि हासिल भैहाल्ने होइन। साथीहरूको दायरा बढाउँदा नोक्सान के हुन्छ?’
उनले भारतीय पूर्वप्रधानमन्त्री एचडी देवेगौडा समिटमा सहभागी भए पनि बिहान पशुपतिनाथ दर्शन गर्न गएको उल्लेख गरे।
‘उहाँ कुनै क्रिश्चियानीकरणका लागि आउनुभएको त होइन होला,’ ज्ञवालीले भने, ‘पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी पनि आउनुभएको थियो।’
मिडियाले सही ढंगले समिटको विश्लेषण नगरेको बताउँदै उनले सरकारका हरेक कुरामा मिडियाले ‘अब्जेक्सन’ जनाएको टिप्पणी गरे। एसिया प्यासिफिक समिटजस्ता कार्यक्रम भैरहनुपर्ने उनको भनाइ थियो। ‘यस्तो कार्यक्रमले नेपाल चिनाउँछ,’ उनले भने।
ज्ञवालीले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड गएको घटनामा समेत मिडियाको दृष्टिकोणप्रति आपत्ति जनाए।
‘हाम्रा केही प्रधानसम्पादकहरूले जलवायु परिवर्तनलाई ठिमीसँग तुलना गर्नुभयो,’ ज्ञवालीले भने, ‘कमसेकम हाम्रा मेनस्ट्रिम मिडियाहरूले त्यो कार्यक्रमको अवमूल्यन नगरिदिनुहोस्।’
‘व्यक्ति मन नपर्ला। सरकार मन नपर्ला। पार्टी मन नपर्ला। नीति मन नपर्ला। तर, जलवायु परिवर्तन नेपालको मात्र मुद्दा होइन। यसका लागि उच्चस्तरीय संलग्नता जरुरी हुन्छ,‘ उनले भने।