प्रधानमन्त्री केपी शर्मा ओलीले तीन पटकसम्म संवैधानिक परिषद् बैठक सारेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएका छन्।
देउवाको अनुपस्थितिपछि बुधबार बस्ने भनिएको संवैधानिक परिषद् बैठक बिहिबारसम्मका लागि सरेको छ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले मंगलबार मात्र प्रधानमन्त्री ओलीले तीन पटक बैठक सारेको सेतोपाटीलाई बताए।
‘मंगलबार साढे एघार बजेका लागि पत्र आएको थियो। प्रधानमन्त्रीले फोन गरेर व्यस्तता देखाउँदै साँझ ५ बजेका लागि सार्नुभयो’, भानुले भने, ‘साँझ पाँचको बैठक पनि उहाँले समय अभावको कारण देखाएँदै सार्नुभयो।’
साँझ नेता देउवा र प्रधानमन्त्री ओलीबीच टेलिफोन संवाद भएको उनले बताए।
‘हाम्रो महासमिति बैठक छ। मंसिर २८ देखि पुस ३ सम्म चल्छ, त्यसपछि बैठक गरौं भनेर सभापतिले भन्नुभयो’, भानुले भने, ‘प्रधानमन्त्रीले हुन्छ भन्नुभयो।’
तर बेलुका पुन: प्रधानमन्त्री ओलीले फोन गरेर बुधबार बिहानका लागि बैठक राखेको जानकारी दिएको भानुले बताए।
जवाफमा देउवाले ‘महासमिति तयारीका लागि पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको उल्लेख गर्दै सहभागी हुन नसक्ने’ बताएका थिए।
देउवा अनुपस्थित भएपछि संवैधानिक परिषद्को बैठक बिहिबार बिहासम्मका लागि स्थगित भएको छ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस तथा वित्त आयोगलगायत अन्य आयोगमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद् बैठक डाकिएको हो।