त्रिवि शिक्षण अस्पतालको गेटमा जुत्ता–चप्पल सिउने नथुनी रामलाई केही दिनअघि डा. गोविन्द केसीले सोधेका थिए, 'तिम्रो घर कहाँ हो बाबु?'
‘सखुवानन्कारकट्टी, सिरहा हो सर,’ १४औं सत्याग्रह तोड्दा केसीलाई जुस पिलाएका नथुनीले जवाफ दिए।
डा. केसीले उनको गाउँको अवस्थाबारे सोधीखोजी गरे। मोबाइल नम्बर पनि लिए।
सखुवानन्कारट्टीमा दलित, मुसहर र डुमको बाहुल्य छ। गरिबीले जेलिएको यो बस्ती स्वास्थ्योपचारले पिछडिएको क्षेत्र हो।
नथुनीलाई भेटेको केही दिनपछि आइतबार साँझ डा. केसी लहानको एउटा फार्मेसीमा देखिए। उनी फ्लेक्जोन र पारासिटामोल किन्दै थिए।
ठिक त्यही बेला डा. राज झाले केसीलाई भेटे। उनी छात्रवृत्ति करार सेवाअन्तर्गत उर्लाबारीको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष पूरा गरी घरै बसिरहेका थिए।
आफ्ना पुराना विद्यार्थी झालाई भेट्नेबित्तिकै केसीले सोधे, ‘बाबु, तिमी अहिले यतै छौ?’
‘म यतै छु नि सर,’ झाले भने।
‘म यहाँ केही काम गर्न आएको,’ केसीले भने, ‘सहयोग गर है।’
‘हुन्छ सर,’ झाले भने।
केसी लहानको होटलमा बसेका थिए। सोमबार उज्यालो हुनेबित्तिकै नथुनीलाई फोन गरे, ‘लहानबाट तिम्रो गाउँ कता हो? कसरी जाने?’
नथुनीले बाटो देखाइदिए। डा. केसी कम्बल र औषधिको झोला बोकेर टेम्पो चढे। झा उनको पछि लागे।
सिरहा सदरमुकाम लहानबाट १४ किलोमिटर दक्षिण देहातको उक्त बस्तीमा त्यस दिन बिहानै डा. केसीले १ सय २५ वटा कम्बल बाँडेको झा बताउँछन्।
गर्मीमा तातो हावा, जाडोमा चिसो- देहातका गरिबसँग दुवै मौसम सहने उपाय छैन। त्यसमाथि रोगको प्रकोप उस्तै। त्यस दिन डा. केसीले ज–जसलाई कम्बल बाँडे, स्वास्थ्य चौकीमा शिविर चल्ने सूचना पनि दिए। र, नाम लेखाउन अनुरोध गरे।
उनी दिउँसो अढाइ बजेसम्म कम्बल बाँडेर स्वास्थ्य चौकी पुग्दा नाम टिपाउनेको ताँती लागेको थियो।
उनले साँझसम्म ४० जनाको स्वास्थ्य परीक्षण गरे। औषधि बाँडे।
भोलिपल्ट मंगलबार पुनः स्वास्थ्य चौकी गए। बिहान ७ देखि बेलुकी साढे ६ बजेसम्म थप २ सय ६० जनाको स्वास्थ्य जाँच गरेर औषधि बाँडे।
साँझसम्म पनि बिरामीहरूको परीक्षण सकिएन। २५ जना बाँकी रहे। बुधबार बिहानै काठमाडौं फर्किने सोच बनाएका थिए केसीले। बिरामी नसकिएपछि उनी फर्केनन्।
‘शिविरमा आएकाहरू सबैको उपचार नसकिएपछि सर बुधबार बिहान फेरि स्वास्थ्य चौकी जानुभयो,’ झाले भने, ‘सबैको परीक्षण सकेर बुधबार साँझ फर्किने सोच बनाउनु भयो।’
झाका अनुसार केसीले आफ्नो व्यक्तिगत खर्चमा कम्बल र औषधि काठमाडौंबाटै लगेका थिए। उनीसँग ६ कार्टुन औषधि थियो। नपुग लहानमा किने।
‘यति धेरै औषधि बोकेर कोही डाक्टर गाउँमा आएको देखेको थिइनँ,’ झाले भने, ‘उहाँले कम्बल र औषधि बाँड्दा गाउँलेले भगवान नै आएको भन्दै हर्षका आँशु खसाले।’
हाडजोर्नी विशेषज्ञ डा. केसीले हाडजोर्नीसम्बन्धी औषधि छुटाएका थिएनन्। जाडो मौसम भएकाले स्वासप्रश्वास र दमबाट पीडित बिरामीका लागि पनि औषधि लगेका थिए। सिटामोलका साथै पेट र नसासम्बन्धी औषधि पनि बाँडे।
शिविर सकेर काठमाडौं फर्किन लागेका केसीले आफ्नो वार्षिक तालिकाअनुसार सिरहाको विपन्न समुदायमा गएर शिविर सञ्चालन गरेको बताए। ‘मैले जे–जति कम्बल र औषधि वितरण गरेँ, त्यो मेरो निजी स्रोतबाट हो,’ उनले भने।
लामो समयदेखि सत्याग्रहमार्फत् चिकित्सा शिक्षा सुधार अभियानमा लागेका डा. केसी २०६४ सालदेखि कम्बल र औषधि बाँड्दै हिउँदमा तराईका जिल्ला पुग्न थालेका हुन्। गत वर्ष हिउँदमा रौतहट गएका थिए। बर्खायाममा बाढी–पहिरो पीडितलाई उपचार गर्न पनि पुग्छन्।
केसी–सरकार वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहका अनुसार १५औं सत्याग्रह क्रममा सरकारसँगको सहमति कार्यान्वयन नभएपछि केसी १६औं अनसनको तयारी गर्दैछन्। यसैको पूर्वसन्ध्यामा उनी सिरहा गएका हुन्।
‘तराईमा अहिले त्यति धेरै शितलहर छैन, तर केसी सर सत्याग्रहको तयारीमा रहेकाले त्यसपछि कम्बल वितरण र शिविर चलाउन कठिन हुन्छ भनेर अगाडि नै जानुभएको हो,’ सिंहले भने।
गत साउनमा १५औं सत्याग्रह तोड्दा सरकार–केसीबीच ९ बुँदे सहमति भएको थियो। सहमति कार्यान्वयनका लागि केसी र प्रधानमन्त्री केपी ओलीबीच बालुवाटारमा लामो छलफल भएको थियो। सिंहका अनुसार त्यो संवादपछि सहमति कार्यान्वयन हुनेमा विश्वास जागेको थियो। तर, हालसम्म ९ बुँदे माग कार्यान्वयन नभएको सिंहले बताए।
केही समयअघि प्रधानमन्त्री ओली बिरामी भएका बेला केसी शिक्षण अस्पताल भेट्न पुगेका थिए। त्यसबेला ओलीले निको हुनेबित्तिकै सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका थिए।
‘मसँग भएको कुनै पनि सहमति कार्यान्वयन भएको छैन, काठमाडौं फर्केपछि म १६औं सत्याग्रह थाल्छु,’ केसीले सेतोपाटीसँग भने।
पन्ध्रौं सत्याग्रह तोड्दा केसीले राखेका अधिकांश माग पूरा भएको ठानिएको थियो। संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको थियो। संघीय संसदको बर्खे अधिवेशन सकिएसँगै चिकित्सा विधेयकमा छलफल हुन पाएको छैन। संसदको हिउँदे अधिवेशन आह्वान भइसकेको छैन।
वार्ता टोली संयोजक सिंहका अनुसार कात्तिक २७ गते संसदको शिक्षा तथा स्वास्थ्य समितिले केसीको मागबारे एकपटक छलफलमा बोलाएको थियो। समिति सभापति जयपुरी घर्तीले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुराकानी गर्ने बताएकी थिइन्।
‘समितिमा भएको अन्तिम पटकको छलफल त्यही थियो,’ सिंहले भने, ‘त्यसयता सरकार, समिति र हामीबीच कुराकानी भएको छैन।’
समितिले अन्तिमपटकको छलफलमा ९ बुँदे मागसँगै जोडिएको चिकित्सा विधेयकसँगै शिक्षा मन्त्रालयले सिटिइभिटी मातहतका कार्यक्रमलाई आफ्नो मातहत राख्ने निर्णयबारे राय लिएको थियो। राष्ट्रिय चिकित्सा विधेयक–२०७५ लाई नेपाल चिकित्सा विधेयक राख्नुपर्ने सांसदहरूको प्रस्तावबारे सुनाएको थियो।
मनमोहन मेडिकल कलेजलाई वीर अस्पताल मातहत राख्ने भनी सरकारले नवौं सत्याग्रहमै केसीसँग सहमति गरिसकेको थियो। तर, मनमोहन मेडिकल कलेजलाई निजी स्वामित्वमै राख्न सत्तारुढ दलको दबाब छ। यी तीनै विषयमा केसीले असहमति जनाएका छन्।