सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले नौ महिनासम्म सरकार सञ्चालनबाट ‘समस्याको पहिचान भएको’ बताएका छन्।
नेकपाको स्थायी समितिमा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा प्रस्तुत गरेको प्रतिवेदनमा सरकारको समीक्षा गरिएको हो।
प्रतिवेदनमा जनताको अपेक्षा र उपलब्ध साधन स्रोतको बीचमा ठूलो अन्तर रहेको उल्लेख गर्दै सरकारको बचाउ गरिएको छ। ‘राज्यका कतिपय संरचना र संयन्त्रहरुको सोच, प्राथमिकता, कार्यशैली र क्षमता एवम् जनताका आकांक्षाबीचमा ठूलो विरोधाभाष छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसबीच, समस्याहरु कहाँ छन् भन्ने सच्चाइ पहिचान भएको छ।’
सरकारको समीक्षा गर्दै प्रतिवेदनमा पूर्ववर्ती सरकारले छाडेको नकारात्मक विरासतका कारण बजेटमा घोषणा पत्रका कतिपय विषय समेट्न नसकेको उल्लेख छ। प्रतिवेदनमा सरकार गठन हुँदा राजनीतिक र आर्थिक अवस्था अस्तव्यस्त रहेको उललेख छ। ‘कांग्रेसले छाडेको विरासतका बाबजुद बृहत्तर राजनीतिक सहमति निर्माण, मुलुकको बाह्य सम्बन्धमा सुधार, अर्थतन्त्रको सुदृढीकरण, सार्वजनिक प्रशासनको उचित व्यवस्थापन, तिनै तहको सरकार सञ्चालन, कानुन निर्माण र संविधान कार्यान्वयन तथा विसङ्गगति नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएका छन्,’ प्रतिवेदनमा भनिएको छ।
संघीय समाजवादी फोरम सरकारमा सहभागी हुनुलाई नेकपाले बृहत्तर सहमति निर्माणको रुपमा अर्थ्याएको छ। त्यस्तै, कांग्रेसलाई विरोधका निम्ति विरोधको परम्परागत भूमिकाभन्दा माथि उठेर राष्ट्रियता, लोकतन्त्र, सुशासन र समृद्धिका विषयमा सहमति साथ अगाडि बढ्न आग्रह गरिएको नेकपाले प्रतिवेदनमा उल्लेख गरेको छ।
यस्तै, संघीयता कार्यान्वयन अगाडि बढाइएकाले राजनीतिक उपलब्धिलाई नै समाप्त पार्ने दुरासय बोकेका तत्व निराश भएको उल्लेख छ। यस्तै, प्रधानमन्त्री र प्रचण्डको भारत-चीन भ्रमण, बिमस्टेक सम्मेलन, मलेसियासँग श्रम समझदारीलाई अनुकुल बाह्य सम्बन्धका रुपमा अर्थ्याइएको छ।
त्यस्तै, मौलिक हक कार्यान्वयनका लागि १६ वटा कानुन निर्माणलाई पनि सरकारको सफलताको रुपमा अर्थ्याइएको छ। सरकारले मंसिर ११ गतेबाट लागू भएको सामाजिक सुरक्षा कार्यक्रमले राज्यको चरित्र समाजवाद उन्मुख र लोककल्याणकारी बनाउन भूमिका खेलेको दावी नेकपाले गरेको छ।
सिण्डिकेट, तस्करी र अन्य विकृतिमाथि हस्तक्षेपलाई नेकपाको सरकारले सफलता मानेको छ। सुन तस्करी, यातायात सिण्डिकेट लगायत अन्त्यका लागि अझै जोड लगाउनुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ। नेकपाले विद्यार्थी भर्ना अभियान, स्वास्थ्य बीमा, राष्ट्रिय परिचय पत्र, पुनर्निर्माणमा प्रगति भएको दावी गरिएको छ।
नेकपाले शान्ति सुरक्षा सुदृढ भए पनि महिलाविरुद्धको हिंसा र खास गरी बालिका बलात्कारजस्ता आपराधिक घटनाहरु नियन्त्रण गर्न अझ प्रभावकारी कदम चाल्न जरुरी रहेको उल्लेख गरेको छ। ‘विगतमा यस्ता घटनालाई ढाकछोप गरिने, मेलमिलापमा लगेर टुङ्ग्याउने र खुलेर यस्ता आपराधिक घटनाहरुका बारेमा बोल्न र बाहिर ल्याउन नसक्ने अवस्था विद्यमान थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘तर बढ्दो सामाजिक चेतनाका कारण अचेल यस्ता घटनाहरु सार्वजनिक हुने गरेका छन्।’