नेपाली कांग्रेसले पार्टीको संघीय विधान संसोधन गर्ने मस्यौदा विना नै महासमिति बैठकको बन्द सत्र सुरु गरेको छ।
सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच पदाधिकारीको संख्या,पदाधिकारी मनोनित गर्ने सभापतिको अधिकार, क्रियाशील सदस्यता लगायत केही बिषयमा मतभेद छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सबैको सहमतिबाटै आइतबार बेलुकीसम्म विधान मस्यौदा बन्दसत्रमा पेश हुने जानकारी दिए।
विधान संशोधन समितिका संयोजकसमेत रहेका महामन्त्री खड्काले भने, ‘सर्वसहमतिमै विधानको मस्यौदा केन्द्रीय समितिले तयार गरेपछि महासमिति बैठकमा छलफलका लागि भोलि बेलुकीसम्म पेश गरिन्छ।’
उद्घाटन सत्र सकिएपछि अहिले बन्द सत्रमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री शशांक कोइरालाले सांगठनिक, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आयव्यय र सहमहामन्त्री प्रकाशशरण महतले आर्थिक दस्तावेज प्रस्तुत गर्दैछन्।
बरिष्ठ नेता पौडेलका अनुसार पार्टीको विधानमा अधिकांश बुँदामा सहमति भइसकेको छ। ‘राम्रो विधान बन्दै छ। पदाधिकारी थप्ने कि नथप्ने र चुनावबाट कि मनोनित गर्ने भन्नेमा केही छलफल गर्न बाँकी छ,’ पौडेलले भने। विधान बनेपछि गाउँदेखि सहरसम्म सदस्यता वितरणको अभियान सुरुवात गर्ने पौडेलले बताए।
पार्टीभित्र रहेको गुट अन्त्य गर्न प्रयास गरेपनि देउताका पालादेखि गुट रहेकोले नसकेको पौडेलको भनाइ छ। ‘देउताकै पालादेखि गुटबन्दी छ नि!,’ पौडेलले व्यङ्ग गर्दै भने, ‘विपी-सुवर्ण, किसुनजी-गणेशमान, किसुनजी-गिरिजा गुट पनि थियो।’
दुईतिहाइ समर्थनप्राप्त ओली सरकारलाई जबर्जस्त धक्का दिने गरी संगठन विस्तार गर्नुपर्ने पौडेलको भनाइ छ। 'होली वाइन' खाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मार्क्सवा ल्याउन नसक्ने पौडेलले बताए।
पार्टीभित्रको कमीकमजोरी हटाउने सर्तमा आफू सभापति देउवासँग साथसाथै हिँड्न तयार रहेको पौडेलले बताए। ‘यहाँबाट जिल्ला फर्कंदा गुट, उपगुट लिएर जानुहुन्छ कि यहिँ छाडेर जानुहुन्छ?,’ महासमिति सदस्यलाई प्रश्न गर्दै पौडेलले भने, ‘एक हुनुपर्छ, गुट छोड्नुपर्छ भन्नुहुन्छ अनि तपाईंहरु आफैं सक्नुहुन्न।’
महासमिति बैठकको उद्घाटन सत्रमा बोलेका अधिकांश नेताहरुले बरिष्ठ नेता र सभापति मिलेर गए कांग्रेस थप बलियो हुने धारणा राखेका छन्। उपसभापति विमलेन्द्र निधिले आफू र पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाहना सभापति र बरिष्ठ नेता साँच्चै मिलेको हेर्ने रहेको बताए।
‘रुन्चे भएर एक अर्काले घोचपेच गरेर केही फाइदा छैन,’ निधिले भने, ‘सबैको चाहना चुनाव जित्ने हो भने अब साँच्चिकै मिल्नुको विकल्प छैन। एक हुनुपर्छ।’
अर्का उपसभापति विजयकुमार गच्छदारले महासमिति बैठकबाट गुटको अन्त्य गरि एकताको सन्देश दिन बरिष्ठ नेता र सभापतिलाई हात समाउन आग्रह गरे। गच्छदारले तेस्रोपटक गरेको आग्रहपछि पौडेल र देउवाले मञ्चबाट हात उठाएर एकताको सन्देश दिए।
सरकारप्रति आक्रमक रुपमा प्रस्तुत भएका उपसभापति गच्छदारले भने, ‘म मञ्चमा आउँदा नेताहरुमा आतंक हुन्छ। विजयले पोल खोल्दिन्छ भनेर आत्तिनुहुन्छ। म कम्युनिष्टको धज्जी उडाइदिन सक्छु, आउन् को-को आउँछ।’
करिब आधा घण्टा भाषण गरेका उपसभापति गच्छदारले पटक-पटक कार्यकर्ताको ताली खाए। कांग्रेस छाडेको ११ बर्षपछि कांग्रेससँगै जय नेपाल भन्न पाएकोमा गर्व लागेको उनले सुनाए। आफ्नो पार्टी कांग्रेसमा समाहित गर्नुको कारण पनि उनले खोले। तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले 'कांग्रेसलाई भित्तामा राख्ने साइनबोर्डमा झुण्डाइदिन्छु’ भनेको सुनेर आफूलाई चित्त दुखेपछि कांग्रेसमा पार्टी समाहित गरेको उनको भनाइ छ।
महामन्त्री शशांक कोइरालाले कांग्रेस गृष्मकालीन रुखजस्तै भएको चर्चा गरे। ‘गृष्ममा रुखबाट पात झरेका हुन्छन् तर रुख जीवित नै हुन्छ,’ उनले भने, ‘कांग्रेस रुख हो, यो जीवित छ। पात झरेका हुन सक्छन्, वसन्तमा पलाउँछ।’ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बृहत्तर हितका लागि काम गर्न उनले कार्यकर्तालाई आग्रह गरे।
कोषाध्यक्ष सीतादेवी यादवको चिन्ता भने कांग्रेसको आर्थिक संस्कार बारे थियो। पार्टीबाट टिकट पाएर निर्वाचित भएका सांसद तथा प्रमुख, उपप्रमुखले समयमै लेवी नतिरेको बताइन्।
सहमहामन्त्री प्रकाशशरण महतले भने सभापति देउवाको प्रशंसा गरे। बोल्ने गुणले मात्रै पार्टी र देश नचल्ने भन्दै उनले सभापति देउवामा देश कता जाँदै छ भन्ने रणनीतिक दृष्टिकोण रहेको बताए। कांग्रेसले एकले अर्कालाई शत्रु देख्ने संस्कार बन्द गर्नुपर्नेमा उनले जोड दिए।
‘कम्युनिष्टले हामी कांग्रेसलाई प्रधान शत्रु घोषणा गरेका छन्,’ उनले भने, ‘कांग्रेसले कम्युनिष्टलाई प्रतिस्पर्धी भनेको छ। कांग्रेसको शत्रु आखिर कांग्रेस नै हो त? एकले अर्कोलाई सत्रु देख्ने संस्कार बन्द भएको दिन कांग्रेस एक्लै सिंहदरबार जान सक्छ, कसैले छेक्दैन।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि एक भएर अघि बढ्न सके मात्रै पार्टी र देशको हित हुने बताए। कांग्रेसका नेता पार्टीमा मात्र होइन देशकै नेतृत्व लिन सक्षम रहेको उनको भनाइ छ।
पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सातै प्रदेशमा अब आउने निर्वाचनमा महिला उमेद्वारलाई उठाउने गरी पार्टीले रणनीतिक हिसाबले चुनावको तयार गर्नुपर्ने तर्क गरिन्।
पूर्वमहामन्त्री तारानाथ रानाभाटको गुनासो पनि नेताले गुटउपगुट चलाएकामा थियो। ‘आजैको पत्रिकाले नेताको गुटबारे भएका झगडा लेखेको छ,’ उनले भने, ‘जग हँसाउने कुरा नगर्नुस्, एक भएर पार्टीलाई गति दिनुहोस्।’
पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले नेताको परिक्रमाबाट होइन परिश्रम र पराक्रमबाट अघि बढ्नुपर्ने बताए। महाधिवेशनबाट नै पदाधिकारीहरु चुनिएर आउनुपर्ने बताएका सिंहले व्यक्तिभन्दा विचार, शक्तिभन्दा सत्य ठूलो हुनेमा जोड दिए।
आइतबार विहान ८ बजेदेखि सातै प्रदेशका छुट्टाछुट्टै समूह बनाएर प्रतिवेदनहरुमाथि बन्दसत्रमा छलफल गर्ने कांग्रेसको तयारी छ। महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ।