नेपाली कांग्रेस महासमिति बैठकको उद्घाटन सत्र समापन गर्दै गत शनिबार साँझ सभापति शेरबहादुर देउवाले आधा घण्टापछि बन्द सत्र सुरू हुने बताए।
महासमिति सदस्यलाई पीर रात परेकोमा मात्र थिएन, साँझको खानाको पनि जोहो गर्नु थियो। बैठक सुरू हुनुअघि नै पार्टीले साँझको खाना र बासको व्यवस्था आफैं गर्नु भनेको थियो। झमक्क अँध्यारो भइसकेपछि पनि फेरि बन्द सत्र हुने कुराले कार्यक्रमस्थलमा होहल्ला भयो।
होहल्लाकै बीच कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले मञ्चबाट भने- साथीहरू, महासमिति सदस्यज्यूहरुको सम्मानमा सभापतिज्यूले आज रात्री भोज आयोजना गर्नुभएको छ।
पौडेलको सूचना सुनेपछि होहल्ला मत्थर भयो। महासमिति सदस्यले देउवाको रात्रीभोजमै खाना खाए।
भोजले आइतबार बेलुकी पनि निरन्तरता पायो। अर्को दिन भोज दिने पालो थियो- बरिष्ठ नेता रामचन्द्र पौडेलको। त्यो दिन पनि महासमिति सदस्यले साँझको खानाको जोहो गर्नु परेन।
सोमबार साँझ महामन्त्री शशांक कोइरालाले रात्रीभोज आयोजना गरेका छन्।
महासमिति सदस्य, पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, भातृ/शुभेच्छुक संस्थाका प्रमुख, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद गरी एक हजार सात सय जना बैठकमा सहभागी छन्।
बैठक सुरू हुनुपूर्व कांग्रेसले हरेक बिहान चिया खुवाउँछ।
दिउँसो १ बजेदेखि २ बजेसम्म खानाका लागि छुट्टी हुन्छ। बैठकस्थल सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेस नै खानाको प्रबन्ध मिलाइएको छ।
पार्टीले शनिबार बैठक उद्घाटनकै दिन झोलासँगै खानाका लागि कुपन दिएको थियो। एक चौथाइ सदस्यहरुलाई कुपनको वास्ता छैन, उनीहरू खाना खान घर, डेरा वा होटल पुग्छन्। होटलमा खाना खानेको संख्या पनि धेरै छ।
महासमिति सदस्यसमेत रहेका धादिङ कांग्रेस सभापति रमेश धमलाले बैठकस्थलमै पार्टीले खानाको व्यवस्था मिलाइदिएको बताए।
‘साथीहरुसँगै बसेर पार्टीको मेसमा मीठोमसिनो खाने हो। दात, भात, तरकारी खाइएको छ?’, धमलाले सेतोपाटीसँग भने।
बैठकस्थल यगम्बर पार्टी प्यालेसमै भोज हुन्छ।
‘भोजमा मदिराको प्रयोग गरिएको छैन,’ एक महासमिति सदस्यले भने, ‘नेताहरूले खानाको व्यवस्थापन गर्नु राम्रो हो नि!, सबैसँग होटलमा खाना खाने पैसा हुँदैन।’
बिहानको खानाजस्तै बेलुकाको भोजमा पनि दात, भात, तरकारी, माछा, मासु हुन्छ।
नेताहरूले भोजमात्रै गरेका छैनन्, भोजको मौकामा आफ्नो राजनीतिक फाइदाका लागि कानेखुसी छलफल पनि गरेका छन्।
बैठकमा सहभागी एक हजार सात सयमध्ये एक हजार पाँच सय जनाले भोज खाए भने एक छाकमा प्रतिव्यक्ति ५ सय रुपैंयाका दरले पनि साढे सात लाख खर्च उठ्छ।
यो बिल कसकोमा जान्छ? नेताले खुवाएको भोजको बिल पनि पार्टीले नै तिर्ने हो? भन्ने प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले ज-जसले बेलुकीको भोजको आयोजना गरेको छ उही नेताकहाँ बिल जाने बताए।
‘सभापतिज्यूले खाना खुवाउनुभएको दिनको सभापतिलाई नै बिल जान्छ, बरिष्ठ नेता वा महामन्त्री जसले खाना खुवाएको हो उहाँहरुकै नाममा बिल जान्छ,’ शर्माले सेतोपाटीसँग भने, ‘भोज खुवाएको भन्ने होइन। खाना खुवाएका हौं। बिहानको खानाको बिल केन्द्रीय कार्यसमितिले तिर्छ।’
विगतमा महासमिति बैठक वा महाधिवेशन हुँदा पार्टीले दुबै छाक खाना खुवाउँदा नेताहरूले पनि खानाको प्रबन्ध गर्दा समय जुध्ने र खेर जाने भएकोले यसपालि एक छाक मात्रै खाना खुवाउने निर्णय गरिएको शर्माले बताए।
महासमिति बैठकमा अनुमानित एक करोड रुपैंया खर्च हुने कांग्रेसले जनाएको छ।
बैठकले खास गरी उपसभापति विमलेन्द्र निधिले पेश गरेको राजनीतिक, महामन्त्री कोइरालाले पेश गरेको सांगाठानिक, कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आयब्यय र सहमहामन्त्री प्रकाशशरण महतले पेश गरेको आर्थिक दस्तावेज पारित गरिसकेको छ। मंगलबारसम्म पार्टीको संघीय विधान पारित गर्दै महासमिति बैठक सकिनेछ।
मंगलबार महासमिति सदस्यलाई विदाइ भोज भने उपसभापति विजयकुमार गच्छदारले दिनेछन्।